लाग्यो नयाँ वर्ष २०७५

लाग्यो नयाँ वर्ष २०७५
+
-

काठमाडौं – विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन शनिबार नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

इतिहासकार प्रा. डा. दीनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको बताउँछन् ।

नेपालमा विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उनले दिए । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ ।

विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले सुनाउनुभयो । विक्रम संवत्लाई पहिले ‘कृत’, ‘मालव’, ‘मालव गर’ आदि नामले पनि चिनिन्थ्यो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको बताउँछन् ।

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन् । यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

यस वर्षको संवत्सरको नाम ‘बिरोधकृत’ हो । संवत्सरको फल अनुसार यो वर्ष मध्यम रहेको समितिले जनाएको छ । यस वर्ष वर्षा समेत कम हुने समितिले स्वीकृत गरेका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ ।

यस वर्ष जेठ महिनामा मल मास परेको छ । मलमासमा नित्य रुपमा गरिने पूजा पाठ गर्नुहुन्छ । नैमित्तिक अर्थात् अकस्मात् परी आउने बालक जन्मदा नामकरण, मानिस मर्दा क्रिया कर्म आदि गर्न शास्त्रीय रुपमा अवरोध नहुने मान्यता छ । कुनै कामनाले गरिने काम्य कर्म भने मलमासमा गर्नुहुँदैन ।

विश्व ब्रह्माण्ड सञ्चालन गर्ने ग्रह परिषद् अनुसार यस वर्ष राजा सूर्य, प्रधानमन्त्री शनि र सेनापति मंगल रहेका छन् । राजा र प्रधानमन्त्रीको पदमा रहेका ग्रहबिच वैमनस्यता रहेकाले यसको प्रभाव राज्यमा पनि पर्छ । राजा सूर्य भएकाले ताप बढ्ने एवम् कम पानी पर्ने पात्रोमा उल्लेख गरिएको छ ।

विशाखा नक्षत्रमा पूर्णिमा भएको महिनालाई वैशाख, ज्येष्ठा नक्षत्रमा पूर्णिमा परेको महिनालाई जेठ, पूर्वाषाढामा पूर्णिमा भएको महिनालाई असार, श्रवण नक्षत्रमा पूर्णिमा भएको महिनालाई साउन, पूर्वभाद्रपदा नक्षत्रमा पूर्णिमा भएको महिनालाई भदौ, अश्विनी नक्षत्रमा पूर्णिमा भएको महिनालाई असोज, कृतिका नक्षत्रमा पूर्णिमा भएको महिनालाई कात्तिक, मृगशिरा नक्षत्रमा पूर्णिमा भएको महिनालाई मङ्सिर, तिष्य नक्षत्रमा पूर्णिमा भएको महिनालाई पुस नामकरण गरिएको समिति अध्यक्ष गौतमले उल्लेख गरे।

यसैगरी मघा नक्षत्रमा पूर्णिमा भएको महिनालाई माघ, पूर्व फाल्गुनी नक्षत्रमा पूर्णिमा भएको महिनालाई फागुन र चित्रा नक्षत्रमा पूर्णिमा भएको महिनालाई चैत नामकरण गरिएको हो ।

नयाँ वर्षका अवसरमा काठमाडौंको उत्तरी भेगस्थित बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार (बागमती नदीको उद्गमस्थल) मा विशेष स्नान मेला लाग्छ । यसैगरी टोखा चण्डेश्वरीको सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा पनि मेला लाग्ने गरेको छ ।
काठमाडौंको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठ रोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जन विश्वास छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ । बिस्केट जात्रा देशका अन्य भागमा पनि मनाउने चलन छ । उपत्यकामा साँखु र टोखामा समेत बिस्केट जात्रा मनाइन्छ । यस बाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ ।

पछिल्ला केही वर्षदेखि नव वर्ष सुरु हुने दिन अर्थात् वैशाख १ गते पशुपतिनाथ मन्दिरमा भीड लाग्न थालेपछि दर्शन एवम् पूजा आजा गर्नेका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सफल रुपमा सम्पन्न भएको बताइन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले २०७४ साल ऐतिहासिक निर्वाचन वर्षको रुपमा बिदाई भएको भन्दै नयाँ वर्ष २०७५ शुभारम्भको सुखद अवसरमा देश विदेशमा रहेका समस्त नेपालीलाई सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?