
काठमाडौं – हरेक दिन नयाँ सुरुवात हो । बिहान आँखा खोल्दा दिनभरिका काम गर्ने छुट्टै जोश हुन्छ, मनमा उमंग पनि । दिन सुरु हुँदाको जस्तो उमंग साँझसम्म रहँदैन । त्यसैले मानिस साँझमा दिनको समीक्षा गरेर भोलिको लागि थुप्रै योजना साँचेर निदाउँछ ।
आफ्नो कामको समीक्षा र नयाँ कामको अठोट गर्ने समय नयाँ वर्ष पनि हो । शनिबार विसं २०७५ सुरु भएको छ । आफ्नो कमी कमजोरीलाई आैँल्याएर सुधार्ने, नयाँ योजना बनाउने र भइरहेका योजनालाई सफल पार्ने संकल्प धेरैले गरेका हुन्छन् ।
उपलब्ध स्रोत साधन र इच्छाशक्तिले पनि योजना सफल हुने नहुने कुरा निर्धारण गर्छ । यसै प्रसंगमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले नयाँ वर्ष २०७५ मा के संकल्प गरेका छन् त ?
दीपक विष्ट (तेक्वान्दो खेलाडी)
तेक्वान्दो खेलाडी दिपक विष्ट एकेडेमी खोल्ने याजनामा छन् । उनलाई आफूले खेलकुदमा सिकेको कुराहरु अरुलाई सिकाउने समय आएको छ जस्तो लाग्छ । २०७४ सालको वर्ष समीक्षा गर्दा धेरै कुरा सिक्ने मौका पाएको बताए ।
अहिले खेल खेल्ने भन्दा धेरै प्रशासनको काममा लागि परेका विष्टलाई प्रशासनिक पाटोमा ज्ञान लिनु आवश्यक लाग्छ । विष्टलाई समय व्यवस्थापनमा केही समस्या छ जस्तो लाग्छ ।
नयाँ वर्ष २०७५ मा समय व्यवस्थापनको गर्ने उनको संकल्प छ । विष्टले २०७३ सालमा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा लगातार ४ स्वर्ण पदक जितेर दक्षिण एसियामा नै नयाँ कीर्तिमान बनाएका थिए ।
बुद्धिसागर (साहित्यकार)
साहित्यकार बुद्धिसागरले २०७५ मा थुप्रै योजना बनाएका छन् । नयाँ उपन्यासको पहिलो ड्राफ्ट सक्ने, वैदेशिक भ्रमण गर्ने, उपन्यास कर्णाली ब्लूज अंग्रेजी र कोरियन भाषामा लेख्ने आदि ।
साहित्यकार बुद्धिसागरलाई यो वर्ष व्यवहारिक कुराहरुमा अझै संवेदनशील बनाउने योजना छ र दसैँ पछाडि घुमफिरका लागि जर्मनी पुग्ने तयारीमा छन् ।
भरत खवास (फुटबल खेलाडी)
नेपाली राष्ट्रिय फुटबल टोलिका स्ट्राइकर भरत खवासले २०७५ मा पनि आफूलाई खेलमा व्यस्त राख्ने योजना बनाएका छन् । नयाँ वर्षको सुरुमा साथीभाइसँग रमाइलो गरेर मनाउनेछन् ।
वैशाख ६ बाट इलाममा प्रतियोगिता भएकोले यसको तयारी गर्नु पर्ने छ । २०७३ मा ७ वटा प्रतियोगिता खेलेका भरत खवास यो वर्ष ८ वटा पुर्याउने लक्ष्यका साथ खेल्नेछन् ।
गएको वर्षभन्दा धेरै गोल गर्ने गरी आफूलाई तयार गर्नेछन् । उनको सानो कुरामा पनि झनक्क रिसाउने बानी छ । खवासको नयाँ वर्षमा नयाँ संकल्प रिसाउने बानी कम गर्ने रहेको छ ।
किशोर भण्डारी (कलकार, डिठ्ठासाब)
किशोर भण्डारी उर्फ डिठ्ठासाब चियाका फ्यान हुन् तर यो वर्ष भण्डारीले दूधको चिया छोड्ने संकल्प गरेका छन् ।
डिठ्ठासाबलाई केही दिन अगाडि दूधको चियाले सञ्चो नगरेकोले यो वर्ष मन परे पनि दूधको चिया छोड्ने संकल्प उनले गरे । भण्डारीको चलचित्र चंगा रिलिजको तयारीमा छ । अहिले चलचित्रको गीत सम्पादनमा व्यस्त भण्डारी यो चलचित्रको प्रचारमा पनि सक्रिय हुनेछन् ।
आँचल शर्मा (नायिका)
नायिका आँचल शर्माको २०७५ साल शारीरिक सुगठन अर्थात फिटनेसमा फोकस हुनेछ । शर्मालाई खानेकुरामा खान नियन्त्रण गर्न सक्दिन जस्तो लाग्छ ।
दाल भात खान असाध्यै मन पर्ने शर्मा यो वर्ष खानेकुरालाई नियन्त्रण गर्ने र आफू शारीरिक रुपमा फिट राख्ने योजना बनाएकि छिन् । उनको नयाँ वर्ष परिवारसँग मनाउने योजना छ ।
बाहिर घुम्न हिड्ने साथीहरु नभएकोले शर्मा परिवारसँगै नयाँ वर्ष मनाउनेछिन् । शर्माको अर्को संकल्प भनेको आफ्ना भावनाहरुलाई अनुहारमा नदेखाउने रहेको छ । शर्माले रिस उठे पनि खुशी भएपनि अनुहारमा पष्ट देखिने स्वाभावलाई परिवर्तन गर्ने अठोट गरेकी छन् ।