डा. सन्जुबाबु श्रेष्ठ –
सुन्दर हुन कसलाई मन हुँदैन र ? बढ्दै जाने उमेर, घामका किरणसँगको प्रत्यक्ष सम्पर्क, धुलोधुवाँ, दुर्घटनामा लागेको घाउ, शरीरमा हर्मोनको गडबडीको कारणले अनुहार या शरीरको विभिन्न ठाउँमा दागहरु देखिन्छन् ।
छालामा आउने दागमा चाया र पोतो साझा समस्या हो । यो सँगै शरीरमा आउने अनावाश्यक रौँ पनि एक हो ।
कुनै दाग शरीरमा देखिएको केही समयमा आफै जान्छन् तर केही दाग भने जीवनभर रहिरहने हुन्छ । छालाको आवरणमा आउने यो दाग खासै समस्या नभए पनि सुन्दरता आत्मविश्वाससँग जोडिएको विषय हो ।
अहिले प्रविधिको विकाससँगै धेरै कुराको सुविधा भएको छ । छालामा आएका यस्ता दागलाई अस्थायी र स्थायी रुपमा हटाउने प्रविधि छन्, जसमध्येको एक लेजर हो ।
लेजर के हो ?
लेजर विकिरणको माध्यमले उपचार गर्ने पद्वति हो । यसमा इलोक्ट्रोम्याग्नेटिक रेडियसनको प्रयोग हुन्छ । विद्युतीय माध्यमबाट पराबैजनी किरण निकाली अनुहारमा वा छालामा आएका चाया, पोतो, जन्मजात कोठी, ट्याटु हटाउन सकिन्छ ।
छालमा आउने दाग मात्र हैन, शरीरमा भएका अनावश्यक रौँलाई हटाउन पनि यो प्रविधिको प्रयोग गरिन्छ । आँखी भौँ, काँखीमुनिको रौँ, यौनांगमा हुने रौँ, कपाललाई सामान्य मान्न सकिन्छ तर महिलाको दारी जुंगा पलाउनु, पुरुषको छातीमा अत्याधिक रौँ आउनु, आँखी भौँ जोडिनेगरी रौँ आउनुलाई अनावश्यक रौँ आउनु भनिन्छ ।
यस्ता अनावश्यक रौँलाई शरीरमा कुनै चोट नपुर्याइकन सेलेक्टिभ टस्यु थर्मोलाइसिस प्रकियाबाट निकाल्नु नै हेयर रिमुबल लेजर थेरापी हो । लेजर प्रविधि सन् १९६० बाट सुरु भए पनि नेपालमा २००४ तिरमात्र प्रयोगमा आएको हो ।
लेजरका प्रकार
१) एब्लेटिभ लेजर
२) नन् एब्लेटिभ लेजर
एब्लेटिभ भन्नाले शरीरमा घाउ बनाएर गरिने लेजर हो भने नन् एब्लेटिभ भनेको कहिँ कतै कुनै चोट नपुयाई लाइट पास गरी गरिने प्रकिया हो ।
लेजरको विभिन्न क्षेत्रमा प्रयोग गर्न सकिन्छ । मेडिकल क्षेत्रमा विभिन्न शलक्रिया, विभिन्न रोगको उपचार गर्न तथा शारीरिक सुन्दरताको लागि लेजर गर्न थालिएको छ ।
पहिले औषधि खाएर या लगाएर पूर्ण रुपमा निको पर्ने नसक्ने दाग लेजरको माध्यमले सजिलोसँग नदुख्ने गरी निकाल्न सकिन्छ ।
लेजर गर्दा थाहा पाउनुपर्ने कुराहरु
शरीरमा मुसा, कोठी, चाया, पोतो, दाग, डन्डीफोर, जन्मदाग, ट्याटु, दुर्घटनाबाट लागेका चोटपटकका घाउहरुले मानिसमा आत्मविश्वासको कमी गराएको हुन्छ । यसबाट मुक्ति पाउनको लागि विभिन्न उपायको खोजी गरिरहेका हुन्छ ।
यसका लागि बजारमा थुप्रै लेजर मेसिन उपलब्ध छन् इन्डियन, चाइनिज, कोरियन जस्ता अन्य लेजर बजारमा आएका बेला उपभोक्ताले गुणस्तरीय लेजरको खोजी गर्नुपर्ने देखिन्छ ।
यसैले जहिले पनि लेजर गर्ने बारे सोच्दा कहाँ गर्ने, लेजर गर्ने ठाँउमा कस्ता चिकित्सक छन् ? लेजरको विषयमा राम्रो ज्ञान छ या छैन् भन्ने जानकारी प्राप्त गरेर मात्रै लेजर गर्नुपर्छ ।
लेजर गर्नाले छाला बिर्गिने हो कि, क्यान्सर जन्य रोग लाग्ने हो कि भन्ने चिन्ता हुन्छ । गुणस्तरीय लेजर गर्ने ठाउँ नभएको र चिकित्सकमा लेजर सम्बन्धी राम्रो ज्ञान नरहेको खण्डमा छालामा समस्या देखिन सक्छ । लेजर गर्दा चिकित्सकसँग परामर्श गरेर गर्दा मात्र राम्रो हुन्छ ।
कुन समस्यामा कुन लेजर गरीन्छ ?
लेजर विधी सबैभन्दा कम चोट लगाएर सजिलो तरिकबाट उपचार गर्ने विधि हो । यसमा मिनिमल इन्भेजिभ सर्जरी गरिन्छ । बिरामीलाई बेहोस नबनाईकन जुन ठाउँमा समस्या भएको हो, त्यहि ठाउँको छालालाई मारेर टिस्यु निकालिन्छ ।
लेजर गर्दा कति शक्तिको कुन लेजर कुन टिस्यु फाल्न प्रयोग गर्दैछु भन्ने जानकारी हुनुपर्छ । शरीरमा रहेको अनावश्यक रौँ निकाल्दा, कुनै दाग, कोठी, खत हटाउन विभिन्न प्रकारका लेजरको प्रयोग गरिन्छ ।
जस्तै कार्बनहाईअक्स¬ड (सिओ टु) एनडी याग, डायोड, रुवी, पल्सड डाइ, एलेज्यान्ड्राइड जस्ता लेजर विभिन्न प्रयोजनको लागि गरिन्छ ।
कालो कोठी, शरीरमा पलाएको मुसा फाल्नका लागि कार्बनडाइअक्साइड लेजरको प्रयोग गरिन्छ । भने छालामा भएको ट्यााटु हटाउन एनडी याग लेजरको प्रयोग गरिन्छ ।
त्यस्तै विभिन्न ठाँउको समस्याका लागि विभिन्न प्रकारको लेजरको प्रयोग गरिन्छ । लेजर एक पटक मात्रै गरेर दाग हट्दैन तसर्थ दागको प्रकृति हरेर ४ देखि ६ पटकसम्म गर्नुपर्ने हुन्छ ।
थोरै दाग भएकाले कम र धेरै दाग हुनेले धेरै पटक गर्नुपर्ने हुन्छ । तर प्रत्येक पटक लेजर गर्दा सकारात्मक परिर्वतन देखिनु आवश्यक छ ।
लेजर गरिसकेपछि के के कुरामा ध्यान दिनुपर्छ ?
एक त लेजर गर्दा उपयुक्त ठाउँको र चिकित्सकको खोजी गर्न अत्यन्तै महत्वपूर्ण छ । अर्को लेजर गरिसकेपछि हुन सक्ने जोखिमको बारेमा सचेत हुन आवश्यक छ ।
- लेजर गर्दा कहिलेकाहिँ घाउ हुनसक्छ यसलाई घामबाट जोगाउनु आवश्यक छ ।
- लेजर गरेको तीन दिनसम्मा पानी पार्नुहुँदैन ।
- दिनमा ४ पल्ट सनस्क्रिम लगाउनुपर्छ ।
- लेजर गर्दा बसेको पाप्रा कोट्याउनुहुँदैन ।
- कहिले काहिँ संक्रमण हुन सक्ने भएकोले एन्टीबायोटिकको प्रयोग गर्नुपर्छ ।

भर्खरै
लोकप्रिय






































































































































































































