
काठमाडौँ– दिउँसोको ११ बजेर ४५ मिनेट गएको थियो। हिडन ट्रेजर कुपन्डोलको दोस्रो तलामा युवतीहरुको हाँसोको गुञ्जन प्रस्ट सुनियो, ‘हा हा हा।’ हिडन ट्रेजरको कार्यालय छिर्ने बित्तिकै भित्तैभरी मिस नेपालका तस्विरहरु सजिएका थिए। भित्ताको त्यो पाखा ढाक्नै लागेको प्रस्ट देखिन्थ्यो, सन् १९९४ मा पहिलो मिस नेपाल भएकी रुवी रानादेखि सन् २०१७ की मिस नेपाल निकिता चाण्डकसम्मको हँसिलो तस्बिरले।
पहिलो मिस नेपालको फोटो राखिएको भित्ता अगाडि कोठाको ढोका थियो। ढ्याक्क ढोका खोलेर बाहिर निस्किइन् सन् २०१८ को मिस नेपाल वल्ड श्रृंखला खतिवडा, उनीलाई पच्छ्याउँदै आइन् मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल। ढोकाभित्र मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा र मिस नेपाल इन्टरनेसनल २०१८ रोनाली अमात्य पनि बसिरहेको देखिन्थ्यो। भर्खरै उनीहरु अन्तर्वार्ता सकेर बाहिर देखा परेका थिए।
रिसेप्सनमा अरु तीनजना उनीहरुसँग अन्तर्वार्ता लिन कुरिरहेका थिए, उनीहरुलाई बोल्न पनि भ्याइनभ्याइ। ११ अप्रिलमा द हिडन ट्रेजरले २०१८ को लागि मिस नेपालको चार विधामा चार सुन्दरीलाई विजयी घोषणा गर्यो। विजयीको नाम घोषणा गर्ने वित्तिकै उनीहरु अहिले विभिन्न मिडियामा कुराकानी गर्नैमा व्यस्त छन्।

मिस नेपाल वर्ल्ड २०१८ श्रृखला खतिवडा
यो प्रतियोगिता हुनुभन्दा अगाडि उनीहरु आफ्नै आफ्नै क्षेत्रमा सक्रिय थिए। मिस नेपाल वर्ल्ड २०१८ को ताज पहिरिएकी श्रृंखला खतिवडा पुल्चोकको इन्जिनियरिङ क्याम्पसमा आर्किटेक्चर पढेकी हुन्। उनको स्नातकसम्मको अध्ययन सकिइसकेको छ।

मिस नेपाल युनिभर्स २०१८ मनिता देवकाेटा
मिस नेपाल युनिभर्सकी विजेता मनिता देवकोटा जीवशास्त्रको विद्यार्थी हुन्। उनले संयुक्त राज्य अमेरिकामा पढेकी हुन्।

मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल
मिस नेपाल अर्थको ताज पहिरिएकी प्रिया सिग्देल विकास अध्ययनको विद्यार्थी हुन् र उनी सामाजिक सेवामा पनि सक्रिय छिन्।

मिस नेपाल इन्टरनेशनल २०१८ राेनाली अमात्य
यस्तै रोनाली अमात्य व्यवस्थापनको विद्यार्थी हुन्। उनले यो भन्दाअगाडि मिस इको इन्टरनेशनलमा आफूलाई सहभागी गराइसकेकी छिन्।
हिजोआज उनीहरु एकदमै व्यस्त छन्। दिनभरी विभिन्न मिडियासँग अन्तर्वार्ता, फोटोसुट गर्दैमा भ्याइनभ्याइ छ। कुराकानी सुरु गरौँ है भन्दा हाँस्दै उनीहरुले भने, ‘सबैजसो मिडियासँग एउटै कुराकानी गर्दैछौँ, केही नयाँ कुरा गर्न पाए हुन्थ्यो।’
हुन पनि हिजो आज हरेक मिडियामा उनीहरुकै चर्चा छ, टेलिभिजन, अनलाइन, पत्रपत्रिका, युटुबमा सबैमा आफ्नो आकृति देखिएको छ। भित्तामा केही पत्रिकाहरु पनि टाँसिएका छन्। तिनै पत्रिकामा घोरिएर हेर्दै एक अर्कालाई प्रतिक्रिया दिन्छन् उनीहरु। देशसञ्चारसँगको कुराकानीमा श्रृंखलाले भनिन्, ‘मिडियामा आउँने कन्टेन्ट त ठिक लाग्छ तर हेडलाइन अलि नराम्रा आउँछन्।’
मिस नेपाल २०१८ को विजयीहरुसँग हामीले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौँ।
सबै तस्विर र भिडियाे: सुलभ श्रेष्ठ