काठमाडौं- चालिस वर्षदेखि रोकिएको ‘बागमती यात्रा’ ब्युँतिएको छ। सात दिनसम्म चल्ने यात्रा सोमबारबाट पशुपति परिसरबाट सुरु भई पशुपति परिसरमै पुगेर समापन हुनेछ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले नदीलाई देवताको रुपमा मान्ने सनातन परम्परा रहिआएकोले त्यसलाई संरक्षण र प्रचारप्रसार गर्ने उदेश्यले ‘बागमती यात्रा’ गर्न सुरु गरिएको बताए।
उनले भने, ‘नदी सभ्यता र नदी प्रतिको सम्मान र श्रद्धा बढाउन पनि कार्यक्रम गर्न लागेका हौँ।’
नदि सदियौंदेखि चलीआएको धार्मिक र सांस्कृतिक आस्था हुनुको साथैं मानव जीवनको सम्पूर्ण संस्कार नदीसँग जोडिएकाले नदीको महत्त्वका बारेमा जागरूप गराउनु यात्राको उदेश्य हुने बताए।
पशुपति सँग जोडिएको पवित्रता नदीसँग पनि जोडिएको उल्लेख गर्दै ढकालले भने, ‘यस्ता कार्यक्रमले काठमाडौं उपत्यकामा भएका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण हुनुको साथैं नदीको महत्त्व बुझ्दै मानिसहरु नदिको संरक्षणमा लाग्नेछन्।’
बागमती यात्रामा सहभागीका अनुसार सरकारी तहबाट यात्रा संरक्षण नहुँदा चालिस वर्ष देखि रोकिएको थियो।
पर्यटनमन्त्री रबिन्द्र अधिकारीले केही दिनअगाडि सार्वजनिक गरेको एक सय दिने कार्यक्रममा ४० वर्ष देखि रोकिएको बागमती यात्रा सुरुवात गर्ने उल्लेख गरिएको थियो।
अहिले यात्रा सम्पन्न गर्ने उपत्यकाका स्थानीय तहहरुले पनि सहयोग गरेको छन्।
कस्तो हुनेछ कार्यक्रम
बिगतमा १७ दिन सम्म हुने बागमती तीर्थाटनको यात्रा यस पटक भने ७ दिनको लागि हुनेछ।
कोषका सदस्य सचिव ढकालले ७ दिनमा सम्पन्न हुने यात्रा पनि १७ दिनकै बिधि अनुसार हुने जानकारी दिए।
पशुपति परिसरमा सुरु हुने यात्रा पहिलो दिन दक्षिणकालीको कटुवाल घाटमा पुग्ने छ। पहिलो दिन कटुवाल घाटमा पुजा पछि शेषनारायण रात्री बिश्राम गर्ने कार्यक्रम छ।
दोस्रो दिन बिहान शेषनारायणबाट सुरु भएको यात्रा शंखमूलघाटमा आएर रात्रि बिश्राम हुनेछ।
तेस्रो दिन शंखमूल घाटबाट सुरु भएको यात्रा पशुपति (आर्य तीर्थ) मा रात्रि बिश्राम हुनेछ।
चौथों दिन पशुपतिबाट सुरु भएको यात्रा सुन्दरीजल रात्री बिश्राम हुनेछ।
पाँचौं दिन सुन्दरीजलबाट सुरु हुने यात्रा नागमति, ग्याल्मति, हुँदै सुन्दरीमाईको दर्शन गरेर बागद्वारमा रात्री बिश्राम हुनेछ।
छैंठो दिन बागद्वार हुँदै बज्रयोगिनीमा बास बस्ने कार्यक्रम रहेको छ।
अन्तिम दिन बज्रयोगिनीबाट पशुपति पुग्दै यात्रा समापन हुनेछ।

भर्खरै
लोकप्रिय






































































































































































































