
आमोदमणि दीक्षित –
भुईंचालो गएको तीन वर्ष भयो । तीन वर्ष अघिको त्यो कष्टकर अवस्थाको लेखाजोखामा लागिरहेका छौँ । हुन त १९९० र २०४५ सालमा र त्यसअघि पनि धेरै भूकम्प खेपिसकेको थियो नेपालले ।
तीन वर्ष अघि गोरखा भुईंचालोबाट कष्टकर परिस्थिती उत्पन्न भयो । लेखा जोखा गर्नकै लागि त तीन वर्षको अवधि निकै छोटो हो । भुईंचालो र यसको तयारीको कुरा गर्दाखेरी तीन वर्ष हैन की तीस हजार वर्ष पनि कम नै हुन्छ । यो कालखण्डलाई त्यसरी हेर्नुपर्छ ।
तर व्यवहारिक कुरा फरक हो । तीन वर्षलाई फर्केर हेर्दा २०७२ सालभन्दा अगाडि भुईंचालोबाट बच्न जुन किसिमको चेतना र आन्तरिक तयारी हुनु पर्थ्यो त्यो भएको थिएन ।
एकासी भुईंचालो गयो । धेरैका लागि यो अप्रत्यासित थियो । थोरैका लागि मात्रै प्रत्यासित हो । समय थाहा थिएन । कहाँ जान्छ भन्ने थाहा थिएन । कत्रो जान्छ भन्ने पनि थाहा थिएन । तर अब भुईंचालो जान्छ भन्ने अप्रत्यासित थिएन । जसलाई अप्रत्यासित थियो उनीहरुले दुःख पाए । छटपटाए । अतालिएर नचाहिने काम गर्नतिर लागे । जसलाई प्रत्यासित थियो उनीहरु भने आफ्नो काम गरिरहे ।
मान्छे सुखले बसिरहेका थिए । उनीहरुलाई दुःख ल्याइदियो । जो दुःख गरिरहेका थिए उनीहरुलाई पनि दु:ख थपिदियो । नेपाल र नेपालका मित्रहरु पनि दुखगरिरहेकै थिए थप दुख ल्याइदिएको हो भुईंचालोले । जो दुःखजिलो गरेर बसिरहेका थिए सम्पूर्ण मुलुक र जनता यो कस्टबाट कसरी निस्कने भनेर लागे यो तीन वर्षमा ।
हामीले हैन संयोगले बचेको हो
यो भुईंचालो हामीले सोचेको भन्दा सानो हो । भुईंचालोका प्रकार धेरै खालका हुन्छन् । सबैभन्दा ठूलो यो भूकम्प हैन । तर धेरै ठुलो भुकम्प हो । यसले जति क्षति गर्नु पर्ने हो त्यति गरेन । बहुत कम क्षति गर्यो । यो नेपालका लागि भाग्यमानी भुईंचालो हो । यसका कारणहरु छन् ।
एउटा शनिबार आइदियो । कार्यालयहरु सबै बन्द थिए । विद्यालय बन्द भएको बेलामा आयो । समय पनि उस्तै परिदियो । मान्छे घरभित्र नभएको समयमा आइदियो । रातको बेलामा आएको भए त्यो भन्दा बढी क्षति हुन्थ्यो ।
हाम्रो आंकलन अनुसार विद्यालयका भवन भत्किएको हेर्दा २० हजारजतिको त विद्यालयमा नै ज्यान जान्थ्यो । यो त एक किसिमले भाग्यमानी भुईंचालो आयो । नेपालमा क्षति हैन, तर्साएर गयो भने जस्तो मात्रै भयो ।
यसको फ्रिक्वेयन्सी काठमाडौंमा बेग्लै खालको पनि थियो । काठमाडौंमा कम क्षति गर्यो यहाँको अवस्था हेर्दा यो क्षति एकदमै कम हो । हाम्रो तयारी अनुसार क्षति बढी हुनु पर्ने हो तर संयोगले भएन ।
नेपालले यो भुईंचालोको लागि थाहा नपाई तयारी गर्न थालेको हो । २०४५ सालपछि नेपालले भुईंचालोको बारेमा धेरै सिक्यो । तर जति सिक्नु पर्थ्यो त्यति सिकने । भुईंचालो आफैले केही पनि क्षति गर्दैन ।
हाम्रै कारण बढी क्षति हुने हो । घर भत्किएर हुन्छ संरचना भत्किएर हुन्छ क्षति । मानिसले नै निर्माण गरेको संरचनाले मार्ने हो । यसका लागि २०४५ सालमा भवन संहिताको कुरा आएको हो ।
कस्तो घर बनाउने ? हाम्रो आर्थिक अवस्था र सामाजिक अवस्था अनुसार तयार भएको हो । हाम्रो हुतीले भ्याउन सक्ने भवन सहिंता बन्यो तर लागु भएन । यो चुरोटको लत जस्तो हो । चुरोटले स्वास्थ्यमा राम्रो गर्दैन भन्ने थाहा पाएर पनि मान्छेले सेवन गर्न छाड्दैन नि भवन संहिताको कार्यान्वयन पनि यस्तै भयो ।
भुईंचालो एक दिन आएको अतिथि जस्तो मात्रै हैन । नेपालमा ७० प्रतिशत मृत्य प्राकृतिक प्रकोपबाटै हुन्छ । यो दिनदिनै हुने घटनाबाट हो भुईंचालोले हैन । साना तिना उत्पातबाट हो । २० प्रतिशत भुईंचालो दैनिक रुपमा हुने सानातिना कारणबाट भोग्नुपर्छ ।
हामीले यसैलाई ठिक पार्न सकेका छैनौं । त्यसले यत्रो ठूलो भूकम्प व्यहोर्ने कुरा सानो तिनो हैन । हाम्रो औकात अनुसार क्षतिको मुल्याँकन गर्नुपर्छ जस्तो लाग्छ । समुदायको चेतना बढेका कारण पनि कम क्षति भने भएको हो । भुईंचालोले जे गर्न सक्थ्यो त्यसलाई कम गरेको भने तपाईं हामीले पनि हो ।
हामी ढिलो हिड्यौं तर ठिक बाटोमा जाँदैछौं
भुईंचालोमा परेका २४ हजार मान्छेलाई भत्किएका घरबाट निकाल्नु ठूलो कुरा हो । अन्तर्राष्ट्रिय निकायले जम्मा १९ जना निकाले । हाम्रा सुरक्षा निकायले चार हजार निकाले तर २२ हजार जनालाई त हाम्रा समुदायका मान्छेले उद्दार गरेका हुन् । यो त्यहि जनचेतनाको कारणले हो ।
पछि राष्ट्रिय योजना आयोगको अगुवाईमा राम्रो काम भयो । दातृ निकायको सहयोग लिन सक्यौं । नीति नियम तयार गर्दा गर्दै एक वर्ष बित्यो । हामीले काम गरेको भनेको दुई वर्षमा मात्रै हो । अहिले आएर नियम बनाएका छौं राम्रैगरी ।
ढिलो भएको छ तर हामी ठिक बाटोमा हिँडेका छौँ । पाकिस्तानमा मिल्टि शासन भएको ठाउँमा पनि यो रफ्तारमा काम भएको थिएन । हामीले दुई वर्षमा करिव ५० प्रतिशत काम गरिसकेका छौँ । सरकारले घर बनाउने हैन । सघाउने हो । पाकिस्तानमा पनि त्यहि भएको हो । घरधनि आफै बनाउने हो व्यक्तिका घर । कसैको समस्या छ भने अर्को कुरा हो ।
मैले त यो अवस्था आउला, राम्रो गर्न सकिएला भन्ने आंकलन गरेको थिइन । किनकी हाम्रो अगाडी हाइटी थियो । हामी त्यो बाटोमा जाने खतरा थियो अब त्यो टरेको छ । हामी सहि बाटोमा लाग्यौं । नेपाललाई हाइटी हुन बाट सबै निकायले बचाएको हो । धरानले बाटो देखाएको थियो । धेरै ठाउँमा भुईंचालो थेग्ने घर बनाएका छन् ।
नेपालीको सचेतना नै यसलाई बचाउने माध्यम हो । नेपालमा भुइचालो पछि कसैले पनि यसको फाइदा उठाउन पटि लागेनन् । एक अर्कालाई मद्दत गरे । चेतना अभिवृद्धिको काममा लागे ।
सरकारी निकायले संहिता बनायो । आज यो सबै काम दुई वर्षको अवधिमा भएको हो । यो दुई वर्षको अवधिमा भएको धेरै राम्रो काम हो । कहिँ पनि दुई वर्षभित्रमा यतिको काम भएको छैन । जापानमा सुनामी गएको ५ वर्षपछि म जाँदा जम्मा ६० प्रतिशत मात्रै संरचना बनेका थिए ।
यद्यपी यो भन्दा राम्रो गर्न सकिन्थ्यो । दोब्बर अवस्थामा पुग्न सकिन्थ्यो । यदी हामीले हाम्रा श्रोत साधान पूर्णरुपमा परिचालन गरेको भए ।
प्राधिकरण अहिले हामीले बनाएको ऐनको कुरा २० वर्ष पहिले नै उठेको हो । नेपालमा प्राकृतिक प्रकोपलाई कुनै पनि राजनीतिक दलले मुद्दा बनाएनन् । यसलाई गरिबीको मुद्दा बनाएनन् । विकासको मुद्दा बनाएनन् ।
के को मुद्दा बनाए त भन्दाखेरि चाउचाउ र कपडाका थाङ्ना बाँड्ने मुद्दा मात्रै बनाए । जोखिम न्युनिकरणका लागि उनीहरुका मुद्दा भएनन् । योजना भएन । जब दुर्घटना भयो चाउचाउका पोका बोकेर मात्रै कुदे । त्यस कारण पनि गर्नु पर्ने जति गर्न सकेनौं ।
अरु ठाउँ ओझेलमा
अहिले हामी जहाँ भुईंचालो गयो त्यहाँ मात्र केन्द्रीत हुँदैछौं । ठिक छ तत्कालको आवश्यकता त्यहि हो । तर भोलि अन्त पनि भुईंचालो त जाँदैछ नि । त्यो हिसाबले हाम्रो तयारी हुन सकेको छैन ।
हामी अहिले बिपदमा परेकालाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्दै छौँ । सहयोग गर्नु पर्छ यहाँका संरचना बनाउनु छ । यसमा केही छैन । पश्चिम नेपाल भूकम्पको उच्च जोखिममा छ, खै त यता हाम्रो तयारी ।
अहिलेका प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिँदैछौं । बाँकी जिल्लामा भूकम्प प्रतिरोधी घर बनाउनु पर्दैन ? यी क्षेत्रका मान्छेलाई तालिम दिनु पर्दैन ? त्यहाँ बच्ने उपाय बारे सचेतनाका कार्यक्रम गर्नु पर्दैन ? अब भूकम्पमा त उनीहरु पनि जोखिममा त छन् नित । गर्नु पर्छ अहिले नगर्ने हो भने भोलि फेरि ती क्षत्रमा अहिलेकै जस्तो हालत व्यहोर्नुपर्छ । अरु जिल्लामा हाम्रो तयारी कमजोर छ ।
हिजो क्षति भयो, भोलि पनि उस्तै अवस्था आउँछ
हामीले अहिले क्षति भएको ठाउँको पुनर्निर्माणको लागि ५ वर्षको समय तोकेका छौं । विकशित देशकै उदहारण लिँदा पनि ५ वर्षमा सम्पन्न भएका उदाहरण छैनन् । हामीले आशा गरौं ५ वर्षमा सम्पन्न हुनेछ ।
सम्पन्न भैसकेपछि भुईंचालो आयो भने निर्माण संहिताले बनाएको योजना अनुसार सम्पन्न भएपछि अहिले बनेका घरले त ९ मर्कालिससम्मको कम्पनलाई थेग्छन् । ती घरभित्र मान्छेको मृत्यु हुँदैन । हामीले सोचेको त्यहि हो अहिले । तर ती बाहेक २०७२ सालको भुईंचालोमा नभत्किएका घरहरु पनि छन् ।
चर्किएका घरहरु पनि बनाउनु पर्छ । लगतमा नपरेका घर पनि अहिले निर्माण त भैरहेका छन् । के ति घरहरु संहिता अनुसार बनेका छन् त ? मलाई लाग्दैन त्यहि अनुसारका बनेका छन् भन्ने । यता तिर सोच्न आवश्यक छ ।
यो सामाजिक आर्थिक राजनीतिक सबै हिसावले चारित्रिक मुद्दा नबन्दा सम्म प्रकोपबाट पार पाउन सक्दैनौं । जब सम्म हामीले आफ्नो घर भुकम्प प्रतिरोधि बनाउनु पर्छ भन्ने वोध गर्दैनौं । अनि, भवन सहिंता कार्यन्वयन गर्दैनौं । तवसम्म भुकम्पबाट हामी सधैं जोखिममा नै हुन्छौं सरकारले चाहेर पनि हटाउन सक्दैन ।
अब के गर्ने त ?
पहिलो कुरा त, यो तीन वर्षको दौडानमा नेपालले जे जति गर्न सक्यो म व्यक्तिगत रुपमा अत्यन्तै खुशी छु । दोश्रो कुरा, नेपालकै अवस्था हेरेर नेपालले जे जति गर्न सक्थ्यो त्यो गरिदिएको भए आज भन्दा दुई गुणा बढी हुन्थ्यो । त्यसमा म दुःखी छु । नेपालले जे गर्न सक्थ्यो त्योचाहिँ नेपालले गरेन । तर हाइटीको बाटोबाट भने बचाइयो ।
आज पनि शीर्ष नेतादेखि सर्वसाधारणसम्म पनि प्रकोप भनेको घटेपछि गर्ने कार्य हो भन्ने बुझाई छ । पूर्व तयारीको बारेमा पनि गलत बुझाई छ ।
हाम्रो बुझाईमा प्रहरी, सेना, साइरन ठिक पार्ने र अलिकति चाउचाउ र कम्मल ठिक गर्ने भन्ने मानसिकता छ ।
हामीले ऐन नै परिमार्जन गर्यौं । तर त्यसमा पनि कता कता यो मानसिकता झल्किन्छ । जवकि हुनु पर्ने के हो भने हामीले बाटो बनाइरछौं भने त्यो बाटोको पुल भुईंचालोले नभत्काउने हुनु पर्यो ।
हामीले सिंचाइका लागि तयार गर्र्ने संरचना पनि भुकम्पले नभत्काउने हुनु पर्यो । हाम्रो उद्योगहरु व्यापारका क्षेत्रहरु त्यसलाई भुईंचालोले नरोकोस । पर्यटन पनि धरासयी नहोस् । कृषि क्षेत्र प्रभावित नहोस् । भुईंचालोका कारण हाम्रो कुनै पनि क्षेत्र प्रभावित नहोस् भनेर काम गर्नु पर्ने हो । भूकम्प आए पनि कार्यालयमा बसेर ढुक्कका साथ काम गर्ने वातावरण बनोस् ।
प्राकृतिक प्रकोप भनेको विकासको अंग हो । यसलाई चाउचाउका पोका बाँड्ने मात्रै भन्ने बुझ्नु भएन । बुधबार भुईंचालो गएको तीन वर्ष भयो नेपालमा । खै त वैज्ञानिक अनुसन्धान ? कस्तो खालको घर बनाउने भन्ने अनुसन्धान भयो त ? खैत सरकारले यता तिर काम गर्न चासो देखाएको ।
वैज्ञानिकलाई अनुसन्धान गरेर बताउनुस् कसरी बच्न सकिन्छ भनेर सरकारले सोध्यो त ? खैत हाम्रो सरकारले त्यो काम गरेको । भवन कस्तो बनाउने भन्ने कुनै ल्याब्रटीमा थप टेष्ट भएको छैन ।
विज्ञान र प्रविधिमा इन्भेष्ट नगर्ने अनि कसरी हुन्छ पूर्व तयारी । नेपालको भुईंचालोका कारण विश्वले सिक्यो तर नेपालले सिकेन । किन भने नेपालका शासकको यतातिर रुचि नै छैन । अब गर्नुपर्छ । हजारौं वर्षदेखि भोगेको नेपालले किन सिक्दैन यस्ता पाठ ।
हामीले गर्न नसक्ने भन्ने कुरै छैन । ९० सालको भुईंचालो भन्दा गर्न सकिने अवस्थामा छौं हामी । तर गरेनौं । निजी क्षेत्रको संलग्नता भएन पुनर्निर्माणमा । उनीहरुले पनि भूमिका पाएको भए योगदान गर्न सक्थे ।
घरको बिमाको कुरा ओझेलमा छ । सरकारले दिएको राहतमा बिमा पनि अनिवार्य गर्नु पर्थ्यो । नेपाल छुट्टै अवस्थामा पुग्थ्यो । हो हामी यस्ता कुरामा चुकेका छौं । तर बाटै बिराएका भने हैनौं ।
(भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) का संस्थापक तथा महासचिव आमोदमणि दीक्षितसँग उजिर कार्कीले गरेको कुराकानीमा आधारित)