बर्लिन- युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल पहिलो लेगमा बुधबार राती साविक विजेता रियल म्याड्रिडले जर्मन क्लब वायर्न म्युनिखको सामना गर्दै छ।
घरेलु मैदानमा हुने खेलमा वायर्न गत संस्करणको हार बिर्साउने प्रयाशमा हुने छ। गत सिजन रियलले क्वाटरफाइनलमा वायर्नलाई समग्रमा ६-३ गोलले पराजित गरी अन्तत उपाधि नै जितेको थियो।
युरोपियन प्रतियोगितामा यी दुई टोली समग्रमा २५ पटक र सेमिफाइनलमा ७ पटक भिडि सकेका छन्। युरोपियन च्याम्पियन्स लिगका पछिल्ला चार संस्करणमा वायर्न स्पेनिस क्लबसँग पराजित भएर बाहिरिएको छ। त्यसमा पनि रियलसँग भएका पछिल्ला पाँच भिडन्तमा सबैमा पराजित भएको छ।
वायर्नले घरेलु मैदानमा यो सिजन हार ब्यहोरेको छैन। रियल फेरी पनि आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमा निर्भर रहने छ। रोनाल्डोले प्रतियोगिताको यो सिजन १० खेलमा १५ गोल गरिसकेका छन्। च्याम्पियन्स लिगमा उनको कुल गोल संख्या एक सय खेलमा एक सय २० छ।
वायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले यो सिजन घरेलु लिगमा २८ गोल र च्याम्पियन्स लिगमा पाँच गोल गरेका छन्। बुधबारको खेलमा महत्वपुर्ण खेलाडी अर्तुलो भिदाल र डेभिड अलाबा चोटका कारण खेल्न नसक्ने भएपछि वायर्न दबाबमा हुने छ। गोलरक्षक मानुयल नुयर समेत वायर्नका लागि उपलब्ध हुने सम्भावना कम छ। उनी पनि घाइते छन्। यसअघि मंगलबार राती भएको अर्को सेमिफाइनल पहिलो लेगमा लिभरपुलले एएस रोमालाई ५-२ गोलले हराएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































