धनगढी- कैलाली जिल्लामा सरकारी निकायबाट हुने भुक्तानीमा विद्युतीय भुक्तानी प्रणाली अर्थात ई–विलिङ लागू गरिएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले व्यवसाय विकाश तथा परामर्श प्रा.लि धनगढी र पुरुवार ईन्टरप्राईजेज धनगढीलाई दिनुपर्ने भुक्तानी बैक खातामा ट्रान्सफर गरि आईतवारदेखि विद्युतीय भुक्तानी प्रणाली सुरु गरेको हो।
यससगै कैलाली विद्युतीय भुक्तानी प्रणाली लागु गर्ने ७ नम्बर प्रदेशको पहिलो जिल्ला बनेको छ भने देशकै २६ औ जिल्ला बन्न सफल भएको छ।
जसका कारण जसका कारण भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको अन्त्य भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सुचना अधिकारी तथा कोष नियन्त्रक मदनराज पाण्डले बताए।
कोष तथा लेखा नियन्त्रण कार्यालयले अब कुनै पनि संस्थालाई भुक्तानी गर्दा चेक काट्ने छैन। पहिला एउटा चेक साट्न छिटोमा ५ दिन र १ महिनाबढी समय लाग्ने गरेपछि यसलाई सहजता ल्याउन भुक्तानी गर्नुपर्ने संस्थाको खातामा सिधै रकम हस्तान्तरण (ट्रान्सफर) हुने व्यवस्था गरिएको पाण्डले बताए।
उनका अनुसार विद्युतीय भूक्तानीबाट एकैदिन खातामा रकम ट्रान्सफर हुने छ। सरकारी कार्यालयले अब सम्बन्धित संस्थाको खाता नम्बरसहित विवरण पठाएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले सिधै खाताबाट संस्थाको खातामा रकम ट्रान्सफर गर्ने छ।
यसबाट छिटो भुक्तानी हुने, सरकारी कारोबार गर्ने बैंकको लागत घट्ने, चेक हराउने, च्यातिने र समयमा भुक्तानी नहुने समस्याको अन्त्य र सिधै खातामा जाने भएकाले भुक्तानी दुरुपयोगको नहुने कोष तथा खेला नियनत्रक कार्यालयले जनाएको छ।