काठमाडौं- काठमाडौँनजिकैको जिल्ला काभ्रेमा १५ दिनभित्र आन्तरिक विमानस्थल बन्ने ठाउँको टुंगो लगाउने घोषणा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले गरेका छन्।
आन्तरिक उडानको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक बढेकाले राजधानी नजिकै आन्तरिक विमानस्थल निर्माण गर्नुपरेको मन्त्री अधिकारीले बताए।

धुलिखेल नगपालिकाको ठूलीचौर। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले यो सहित सम्भाव्य विमानस्थलका लागि काभ्रेका तीन स्थानको मंगलबार अवलोकन गरेका थिए। तस्बिर: शरद ओझा
उनले भने, ‘विगतदेखि नै काभ्रेमा आन्तरिक विमानस्थल बनाउने भनेर धेरै छलफल भयो तर काम अगाडि बढ्न सकेको थिएन, अब हामी छिटोभन्दा छिटो राजधानी नजिकै वैकल्पिक विमानस्थल बनाउने छौं।’
वैकल्पिक विमानस्थलले त्रिभुवन विमानस्थलको ट्राफिक घटाउन उल्लेखनीय भूमिका खेल्ने उनको भनाइ थियो।
विज्ञहरुले अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउने गरी तत्कालै काभ्रेमा विमानस्थल बन्न सम्भव नभएको बताएका छन्। नागरिक उड्डयन प्राधिकरणका एक इन्जिनियरले भने, ‘तीब्र गतिमा काम हुँदा पनि विमानस्थल बन्न कम्तीमा ५ वर्ष लाग्नेछ। ६ महिना सम्भाव्यता अध्ययन गर्न र १ वर्ष वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्न लाग्छ। प्रारम्भिक सम्भाव्यता अध्ययन र इआईए प्रतिवेदन बनेपछि बृहत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी विमानस्थल बनाउन साढे तीन वर्ष लाग्नेछ।’

काभ्रेमा बन्ने एयरपोर्टमा साना जहाज चलाउने सरकारको योजना छ। मन्त्री अधिकारीले भने, ‘काठमाडौंबाट पहाडी रुटमा चल्ने साना जहाजलाई मात्र काभेबाट सञ्चालन गर्न सकियो भने त्रिभुवन विमानस्थलमा थप अन्तर्राष्ट्रिय उडान गर्न सकिने छ।’
एभियसन क्षेत्रका जानकारले काभ्रेमा सानो विमानस्थल बनाउनुभन्दा छिटोभन्दा छिटो पोखरा र भैरहवा विमानस्थलमा बनाउनुपर्ने बताएका छन्।
यता नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमले संसारमा प्रत्येक वर्ष १५ प्रतिशतले एयर ट्राफिक बढिरहेको र नेपालमा पनि ७ प्रतिशतभन्दा बढीले एयर ट्राफिक चाप बढिरहेकाले काठमाडौं नजिकै वैकल्पिक विमानस्थल आवश्यक पर्ने दाबी गरे।
काभ्रेपलाञ्चोकका निर्वाचित सांसद तथा सूचना, सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले त्रिभुवन विमानस्थलको चाप घटाउन भन्दा पनि काभ्रेको विकासका लागि एयरपोर्ट बनाउनु पर्ने बताए।
धुलिखेलमा विवाद; नागीडाँडामा सहज
मंगलबार पर्यटन मन्त्री अधिकारी, सञ्चार मन्त्री बास्कोटासहित काभ्रेबाट निर्वाचित प्रतिनिधि र प्रदेश सभाका सांसद, स्थानीय तहमा निर्वाचित प्रतिनिधि, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि र विज्ञसहितको टोलिले विमानस्थल बन्ने सम्भाव्यता भएका तीन ठाउँको अवलोकन गरेको छ।

२०६९ सालमा धुलिखेलको ठूलीचौरमा र गत वर्ष नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने बिषयमा सामान्य अध्ययन भएको थियो। मंगलबार प्रतिनिधिमण्डलले यी दुई स्थानका साथैं नमोबुद्ध नगरपालिकामा रहेको चिसापानी ठूलीचौरमा पनि अबलोकन गरेको थियो।
बनेपा नगरपालिका १२ नागीडाँडा
बनेपा नपुग्दै अरनिको राजमार्गबाट करिब ४ किलोमिटर टाढा रहेको नागीडाँडा समुद्री सतहबाट एक हजार ८ सय मिटरको उचाइमा छ। गत वर्ष गरिएको प्रारम्भिक अध्ययनमा एक हजार २ सय मिटर लम्बाइ भएको रनवे यहाँ बनाउन सकिने निष्कर्ष निकालिएको थियो। नागीडाँडामा ७५ प्रतिशत भन्दा बढी सार्वजनिक जग्गा भएकाले जग्गा अधिग्रहणको समस्या हुने छैन।
स्थानीय जनताले पनि नागीडाँडामा एयरपोर्ट बने सहयोग गर्न तयार रहेको बताएका थिए।
धुलिखेल नगरपालिका १२ ठूलीचौर
सरकारले ६ वर्षअगाडि नै ठूलीचौरमा आन्तरिक विमानस्थल बनाउने विषयमा सामान्य अध्ययन गराएको थियो। तर, अहिले विमानस्थल बनाउने भनिएको क्षेत्रमा नेपाली सेनाको क्याम्प छ। १ हजार १ सय ५० मिटर लम्बाईको रनवे बनाउन सकिने निष्कर्ष निकालिएको ठूलीचौरमा सार्वजनिक जग्गा भने २५ प्रतिशत मात्र छ।

यस्तै केही स्थानीय जनता एयरपोर्ट बनाउने प्रस्तावमा सहमत छैनन्। मंगलबार अवलोकनमा गएको प्रतिनिधिमण्डलको टोलीसँग सरकारले ठूलीचौरमा विमानस्थल बनाउने निर्णय गरे संघर्षमा उत्रिने केहीले चेतावनी दिएका थिए। ठूलीचौरमा एयरपोर्ट बने पर्यावरणमा प्रतिकूल असर पर्ने स्थानीयको दाबी छ।
सञ्चारमन्त्री बास्कोटाले विकासका विषयमा अनावश्यक विवाद नगर्न आग्रह गर्दै प्राविधिक रुपमा अनुकूल हुने ठाउँमा विमानस्थल बन्ने बताएका थिए। ठूलीचौर धुलिखेलबाट करिब ३ किलोमिटरको दुरीमा छ।
नमोबुद्ध नगरपालिका-११ चिसापानी ठूलीचौर
यस्तै मंगलबार अबलोकन गरिएको चिसापानी ठूलीचौरका बिषयमा अहिलेसम्म प्राविधिकले अध्ययन गरेका छैनन्। निजीभन्दा सार्वजनिक जग्गा बढी भएको भन्दै स्थानीयले चिसापानी ठूलीचौरमा विमानस्थल बन्नु पर्ने बताएका थिए। चिसापानी ठूलीचौर धुलिखेलबाट करिब १० किलोमिटरको दुरीमा छ।

भर्खरै
लोकप्रिय






































































































































































































