काठमाडौँ- ‘डन्डिबियो’ खेल लगभग लोप भइसकेको छ। मोबाइलमा खेल खेल्ने समयमा लोप भएको ‘डन्डिबियो’ खेलको बिषयबस्तुमा फिल्म बनाउनु आफैँमा जोखिम थियो। तर, कलाकार खगेन्द्र लामिछाने र निर्देशक चेतन गुरुङले ‘डन्डिबियो’ पुनर्स्थापनाका बिषयमा फिल्म बनाउने जोखिम उठाए।
स्नातकोत्तर पास गरेर डमरु (खगेन्द्र लामिछाने) डन्डिबियो खेल ब्युँताउने लक्ष्य लिएर गाउँ जान्छन् तर खेलमा करियर नभएको भन्दै डमरुका बुवा योगेन्द्र (अनुप बराल) ले डन्डिबियो खेल्न दिंदैनन्। बुवाको अवरोधका बावजुद डमरु स्कुलमा पढ्ने बिद्यार्थी जम्मा गर्दै डन्डिबियो खेल्न प्रयास गर्छन्। त्यसमा पनि स्कुलमा हेडसर अर्थात डमरुका बुबा बाधक बन्छन्।
डन्डिबियोका बिषयमा बुवाछोराको नोकझोँकबाट सुरु हुने कथाले पहिलो हाफमा दर्शकलाई डोर्याएर लैजान्छ।
माला (मेनुका प्रधान) र डमरुको प्रेम र द्वन्द, मुखिया (बुद्धि तामाङ) र डमरुको मित्रता र उनीहरु बीच हुने संवादले दर्शकलाई राम्रै मनोरञ्जन दिएको छ।
अभिनयमा खासै खोट लगाउने ठाउँ नभए पनि डन्डिबियो खेल्दा वास्तबिक खेलाडीले खेलेजस्तो देखिएको छैन।
फिल्मको दोस्रो हाफ डन्डिबियो खेलकै वरिपरि घुमेको छ। पहिलो हाफको तुलनामा दोस्रो हाफमा धेरै कमजोरी देखिए पनि दर्शकलाई खिन्न भने बनाएको छैन।
डन्डिबियो प्रतियोगिता हुँदा बजाइएको पूरा राष्ट्रिय गान, डन्डिबियो खेल्दा देखाइएका धेरै दृश्यले फिल्म तन्काउन खोजेजस्तो देखिन्छ।
धेरै कलाकारले डन्डिबियो खेलेको वास्तविक लाग्दैन तर निरस पनि छैन।
निर्देशक गुरुङले कथाको स्तरभन्दा माथिको निर्देशन गरेका छन्। निरन्तर फरक प्रकृतिमा फिल्म लेख्दै आएका खगेन्द्र लामिछानेको डन्डिबियोको कथा अन्यभन्दा फिक्का भने लाग्छ। केही कमजोरीका बाबजुद पनि फिल्मले दर्शकहरुलाई निराश भने बनाउँदैन।
फिल्मको सबैभन्दा सबल पक्ष क्यामेराको काम हो। फिल्ममा राखिएका धेरै दृश्यहरु निकै कलात्मक तरिकाले खिचिएका छन्।
कुनै ठाउँमा सानासाना कुरामा पनि फिल्मले ध्यान दिन सकेको छैन। जस्तो प्रदेश सातको कप्तानको नाम कबि घले राखिएको छ। प्रदेश सातमा घले समुदायको बसोबास छैन।


भर्खरै
लोकप्रिय






































































































































































































