काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका विज्ञापन एक महिना भित्रमा व्यवस्थित पारिने भएको छ ।
नागरिक उड्डयन प्रधिकरण (क्यान) को सञ्चालक समिति बुधबार बस्ने बैठकले विज्ञापन व्यवस्थापन सम्बन्धि कार्यविधि पारित गर्ने तयारी गरेको छ । यो कार्यविधि पारित भएपछि विमानस्थलमा रहेका विज्ञापन व्यवस्थित गर्ने बाटो खुल्नेछ ।
क्यानका निर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा पर्यटन मन्त्रालयका उप–सचिव प्रकाश शर्मा ढकालसहितको कार्यदलले चैत दोश्रो साता बुझाएको विज्ञापन व्यवस्थापन सम्बन्धि कार्यविधि बुधबार क्यानको बोर्डले पारित गर्ने तयारी छ ।
कार्यविधिमा विमानस्थलमा कस्ता कस्ता विज्ञापन राख्न दिने भन्ने मापदण्ड राखिएका छन् ।
हाल विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा राखिएका विज्ञापनलाई कार्यविधिले तोकेको मापदण्ड अनुरुपको बनाउन एक महिना समय दिईने छ । कार्यविधिमा विमानस्थलमा नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने किसिमका सामग्री राखिनु पर्ने उल्लेख गरिएको बोर्डका एक अधिकारीले बताएका छन् ।
यस्तै कार्यविधिमा विमानस्थलमा राखिने विज्ञापनको साईज, डिजाईन लगायतका विषयमा पनि एकरुपता हुनु पर्ने उल्लेख गरिएको छ ।
अव्यवस्थित तवरले राखिएका विज्ञापनले विमानस्थललाई कुरूप बनाएको भन्दै आलोचना हुने गरेको छ । ठुला ठुला सिमेन्ट कम्पनीका विज्ञापनले विमानस्थललाई कुरूप बनाएको छ ।
करार अवधि समाप्त भएर पनि विमानस्थलबाट विज्ञापन हटाउन अटेरी गर्ने कम्पनीलाई कानुनी बाटो अबलम्बन गर्दै हटाउने क्यानले जनाएको छ ।
श्रोतले भन्यो, विगतमा बिज्ञापन सम्बन्धी कार्यविधि थिएन, अब कार्यविधिको मापदण्ड विपरितका विज्ञापन विमानस्थलमा हुने छैनन् ।

भर्खरै
लोकप्रिय






































































































































































































