
स्कुले जीवन, प्रेम र फिल्म:
स्कुले स्तरमा पढ्दै गर्दा एउटा युवा विद्यार्थीलाई सँगै पढने युवतीसँग प्रेम हुन्छ। दुवै जना विकसित देशका नागरिक थिए। फैसला भयो, युवकले जब जागिर पाउँछ, त्यसबेला मात्र उनीहरुले बिहे गर्छन्।
त्यो युवा पनि विचित्रकै थियो। बाल्यकालमा प्रायः सोच्ने गर्थ्यौँ, म ठूलो भएर के बनौं? उसको मस्तिष्कमा दुइटामात्र विकल्प आउने गर्थे, ‘जोकर’ कि ‘साइन्टिस्ट।’
आफ्नो सोचको मुताविक युवकले विज्ञानलाई आफ्नो ‘क्यारियर’ बनायो। ऊ शोध कार्यमा व्यस्त भयो।
यही बेला उसको प्रेमिकालाई त्यस बेलाको निको नहुने रोग टीबी लाग्यो। डाक्टरहरुले केटी केही वर्ष मात्रै जीवित रहने घोषणा गरे।
त्यो युवाले प्रेमको मूल्य चुकायो। टीबीले ग्रस्त प्रेमिकासँग बिहे गर्यो। त्यो युवालाई राम्ररी थाहा थियो। उसको प्रेम र बिहेको आधार भौतिक सम्बन्धमा केन्द्रित नभई अध्यात्मिक स्तरमा मात्र रहनेछ। टीबी सरुवारोग भएकाले प्रेमिकालाई ‘किस’ गर्न पनि सम्भव थिएन।
१९४० को दशकको यस वास्तविक प्रेमकथामा १९९६ मा आएर फिल्म पनि बन्यो, ‘इनफिनिटी।’
निश्चय पनि धेरै जना प्रबुद्ध पाठकले थाहा पाइ सक्नुभयो, आज यो कलमबाज व्यक्ति विषयी चर्चा गर्न गइरहेको छ। यो व्यक्ति पनि आफ्नो बाल्यकालमा ‘आइन्स्टिन सिन्ड्रोम’ले ग्रस्त थियो। अद्वितिय वैज्ञानिक आइन्स्टिन बाल्यकालमा ढिलो बोलेका थिए। उनको सम्मानमा बाल्यकालमा ढिलो गरी वाक्य फुट्ने बच्चाहरुको लक्षणलाई ‘आइन्स्टिन सिंड्रोम’ नाम प्रदान गरियो।
यहुदी माता पिताको यो सन्तान जीवनभरि पक्का नास्तिक भएर बाँच्यो। बालक नास्तिक हुनुमा पिता मेलविले आर्थरको ठूलो भूमिका रह्यो। पिताले पुत्रलाई हरहमेशा प्रश्न गर्न हौसला दिइरहन्थे।
एकपटक रुखमाथि बसेको चरालाई देखाउँदै पिताले भने, ‘यो चरालाई तिम्रो भाषामा एउटा नामले बोलाइन्छ। संसारभरिका भाषामा यसलाई फरकफरक नामले बोलाइन्छ होला। तिमीले ती सबै नाम जान्नुको कुनै औचित्य छैन। महत्वपूर्ण यो हो तिमी यो जान्ने प्रयास गर, यो चराले के गर्छ, कसरी गर्छ, यसको चरित्र के हो?
सैद्धान्तिक भौतिकविद्:
प्रायः आम मानिसले ती वैज्ञानिकको नाम सुनेको/पढेको हुन्छ जसले केही उपयोगी वस्तु बनाएका हुन्छन्। मारकोनी, थामस अल्बा एडिसन जोन बेयर्ड, ग्राह्म बेल, गैलिलियो आदिको नाम सबैलाई थाहा हुन्छ।
तर सैद्धान्तिक भौतिकविदबारे आम मानिसहले प्रायः थोरै मात्र सुनेका हुन्छन्। अल्बर्ट आइन्स्टिन, न्यूटन अपवाद हुन्। नभए निल्स बोर, मैक्स प्लांक, डेविड बोहम, जेम्स चैडविक डाल्टन, माइकल फैराडे, ओटो हान लगायत हजारौंहजारौं सैैद्धान्तिक वैज्ञानिक आधुनिक विज्ञानको जग खन्ने सूत्रधार हुन्।
भर्खरैको कुरा हो। एकजना मित्रसँग कफी चर्चा गर्दै थिए। प्रसंगवश उल्लेख भयो, मंगल ग्रहमा पठाइएको टेस्ला कारबारे। स्पेस एक्सका एलोन मस्कले आफ्नो कार नै मंगल ग्रहको यात्रामा पठाइ दिए। टेस्लाको बयान हुँदै गर्दा निकोला टेस्लालाई सम्झियौँ हामीले। मेरो मुखबाट हठात निस्कियो। निकोला टेस्ला नभएको भए हामीले यो रुपको बिजुली पाउने थिएनौँ।
अर्को टेबलमा बसेका एक जना युवाले ‘बिजुली त एडिसनको देन हो, यो टेस्ला को हो ?’ मैले उनलाई अरु केही नभनी एकपटक गुगलमा निकोला टेस्ला टाइप गरी हेर्ने सुझाव दिए। युवा इमान्दार रहेछन्, गुगल गरेपश्चात फोन गरी ‘सरी’ भने।
११ मई सन् १९१८ मा जन्मेका यी वैज्ञानिक पनि सैद्धान्तिक भौतिक शास्त्री थिए। बीसौ शताब्दीको प्रारम्भिक चरणका सबै भन्दा चर्चित वैज्ञानिक निसन्देह आइन्स्टिन नै हुन्। यसै गरी यदि यस शताब्दीको अन्तिम चरणको चर्चित वैज्ञानिकको नाम लिनु पर्यो भने यिनको नाम अग्रपंक्तिमा आउँछ।
महत्वपूर्ण काम:
‘पाथ इन्टिग्रल फरमुलेसन अफ क्वाण्टम मेकेनिक्स’, सुपरफ्लुडिटी अफ सुपरकुल्ड लिक्विड हिलियम’, ‘थ्योरी अफ क्वाण्टम इलेक्ट्रोड्यनामिक्स’, ‘पारटन मोडल अफ पार्टिकल फिजिक्स’,‘एकोस्टिक वेभ इक्युजिसन’,परमाणु बम विखण्डन सम्बन्धी ‘बेथे– फाइनमेन फर्मुला’, ‘फाइमेन चेकरबोर्ड मोडल,’ ‘सब एटामिक पार्टिकल्स’को अध्ययन सम्बन्धी ‘फाइनमेन डायाग्राम’, ‘फाइनमेन गेज,’ ‘फाइनमेन–काक फर्मुला’, ‘फाइनमेन पैरामेट्रिजेसन’, ‘फाइनमेन प्वाइट,’ ‘फाइनमेन प्रोपागेटर,’ ‘फाइनमेन स्लैस नोटेसन,’ ‘फाइनमेन इनभर्स स्प्रिन्कलर’, ‘हेलमैन– फाइनमेन थ्योरम’, ‘फाइनमेन– स्मोलुचोअस्की रैटचेट’, ‘वन इलेक्ट्रान युनिभर्स’ आदि आदि सैद्धान्तिक भौतिकीयका लागि रिचर्ड फिलिप्स फाइनमेन सम्माननीय र सुपरिचित नाम हो।
२१ औं शताब्दी ‘न्यानोटेक्नोलोजी’ यो युग हो। हाम्रो व्यवहारिक जीवनमा ‘लेन्थ’ नाप्न हामी ‘मिटर स्केल’ को प्रयोग गर्छौं। १ मिटरको १/१०० भाग १ सेन्टिमिटर, १ मीटरको १/१००० भाग १ मिलिमिटर, १ मिलिमिटरको १/१००० भाग (१ मिटरको दश लाख भाग) १ माइक्रोमिटर, र एक माइक्रोमिटरको १/१००० भाग (१ मिटरको एक अर्ब भाग) १ न्यानोमिटर हुन्छ।
‘न्यानोटेक्नोलोजी’ यही ‘न्यानोमिटर स्केल’ मा प्रारम्भ हुन्छ। भर्खरै वैज्ञानिकहरुले कम्प्युटरमा ‘गेट वे’ को काम गर्ने ट्रांजिस्टर १ न्यानोमिटर बनाउने सफलता पाएका छन्।
न्यानोटेक्नालोजीको विकासमा अनेको वैज्ञानिकको योगदान छ। सन् १९८१ मा ‘स्कैनिग टनलिंग माइक्रोस्कोप’ को आविष्कार पश्चात् ‘न्यानोटेक्नोलोेजी’को श्रीगणेश भएको मान्न सकिन्छ। सन् १९८६ मा किम इरिक ड्रेक्सलरको पुस्तक ‘इंजिन अफ क्रिएशनः द कमिंग इरा अफ न्यानोटेक्नोलोजी’ ले विज्ञानको यस नयाँ शाखाको सैद्धान्तिक परिकल्पनाको श्रेय फाइनमेनलाई दिन कजुंसी गरेन। २९ दिसेम्बर १९५९ मा ‘क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी, (कालटेक)मा रिचर्ड फाइनमेनले विद्यार्थी माझ दिएको एउटा लेक्चर ‘देयर आर प्लेनटी रुम एट द वट्म’ नैनोटेक्नोलोजीको आधारशिला बन्यो।
कालटेक:
‘कालटेक’ को कुरा हुँदा एउटा अर्को प्रसंङ्ग। उनी त्यहाँ रहँदा कालटेकको गणना विश्वको सर्वश्रेष्ठ यूनिभर्सिटीमा हुन्थ्यो। भनिन्छ, उनी विश्वको सर्वश्रेष्ठ युनिभर्सिटीमा प्रोफेसर होइन, उनीजस्तो प्रोफेसर भएर ‘क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी’ विश्वको सर्वश्रेष्ठ युनिभर्सिटी बनेको थियो। उनले युनिभर्सिटीमा भौतिक विज्ञान पढाउने शैली, तौरतरिका नै बदलेका थिए।
कालटेकमा दिइएका उनको लेक्चर संग्रह गरी पुस्तकाकारमा प्रकाशित भए। ‘फाइनमेन ‘लेक्चर अन फिजिक्स’ सिरिजका पुस्तकको अनेकौँ भाषामा अनुवाद भएर लाखौँ प्रति बिक्री भए। अहिले यो पुस्तक सिरिज अनलाइनमा निःशुल्क उपलब्ध छ।
‘कालटेक’ मै रहँदा १९६५ मा उनले नोबेल पुरस्कार पाए। उनले नोबेल पुरस्कार ‘क्वान्टम इलेक्ट्रोडयानामिक्स थ्योरी’ का लागि पाएका थिए।
‘सब एटामिक पार्टिकल’ले प्रकाशसँग कसरी ‘इन्ट्रैक्ट’ गर्छ, उनको नोबेल पाउने विषयवस्तु बन्यो।
११ मई सन् २०१८ मा उनको सयौँ जन्मजयन्तीको अवसरमा ‘कालटेक’ले उनको स्मृतिमा दुइ दिने कार्यक्रम गर्ने घोषणा गरेको छ। यस कार्यक्रममा अनेकौं वैज्ञानिक, प्रोफेसरले सहभागिता गर्दैछन्। यस कार्यक्रममा एकजना नेपाली मूलका ‘एस्ट्रोफिजिसिस्ट’ रण अधिकारीले पनि सम्बोधन गर्न कार्यक्रम छ । अधिकारी ‘ग्रैभिटेसनल वेभ’ पत्ता लाउने टिम ‘लीगो’ का सदस्य थिए।
लास एलमासदेखि च्यालेन्जर सम्म:
फाइनमेनले आफ्नो क्यारियरको प्रारम्भ ‘लास एलमास ल्याबोरेटरी’बाट गरेको थिए। दोस्रो विश्वयुद्ध प्रारम्भ भइसकेको थियो। जर्मनी परमाणु बम बनाउन भरमग्दुर चेष्टा गरिरहेको थियो। अमेरिकाले जर्मनीभन्दा पहिला बम बनाएर हिटलरलाई हराउनु थियो। लास एलमास ल्याबोरेटरी’ मा विश्वभरिका सर्वश्रेष्ठ वैज्ञानिक बम बनाउन जुटेका थिए। फाइनमेनले यहीँबाट आफ्नो वैज्ञानिक जीवनको शुरुवात गरे।
जीवनभरि अनेक ठाउँमा आफ्नो प्रतिभा प्रदर्शित गर्दै ६८ वर्षको हुँदा सन् १९८६ मा उनी ‘च्यालेन्जर स्पेससिप’ दुर्घटनाको जाँच कमिशनमा सहभागी भए। उनले प्रत्यक्ष प्रसारणमा ‘नासाले च्यालेन्जर स्पेसशिप बनाउँदा घटिया किसिमको सामाग्री उपयोग गरेको’ तथ्य खोलिदिए। नासाका अधिकारी यस तथ्यलाई लुकाउन चाहन्थे।

ज्ञान मित्र
पुस्तक र पुस्तकमा:
फाइनमेनले आफ्नो जीवनकालमा थुप्रै पुस्तक लेखे। उनका पुस्तक भौतिक विज्ञानका विद्यार्थीहरुमा अत्यन्त लोकप्रिय बने। ‘सिक्स इजी पीसेसः इशेन्शियल अफ फिजिक्स एक्सप्लेण्ड बाय मोस्ट ब्रिलियन्ट टिचर’, ‘क्लासिक फाइनमेन: अल द एडभेन्चर अफ अ क्यूरिअस क्यारेक्टर’, ‘व्हाट डु यु केयर व्हाट अदर पीपुल थिंक’, ‘द प्लेजर अफ फाइन्डिग थिंग्स आउट’, ‘क्वेड: द स्ट्रेन्ज थ्योरी अफ लाइट एण्ड मैटर’, ‘सिक्स नट सो इजी पिसेसः आइन्स्टिन रिलेटिभिटी सिमेट्री एण्ड स्पेश टाइम’, ‘द मिनिङ अफ इट अल’, ‘द क्यारेक्टर अफ फिजिकल ल’, ‘परफेक्टली रिजनेबल डेभिनेशन फ्रम द वीटेन ट्रैक’, ‘लेक्चर अन फिजिक्स १,२,३’, ‘फाइनमेन लास्ट लेक्चर: द मोशन अफ प्लानेट्स एराउण्ड द सन’, ‘सिक्स इजी पीसेस सिक्स नट सो इजी पीसेस’, ‘स्योर्ली यू आर जोकिङ मि. फाइनमेन: व्हाट डु यू केयर व्हाट अदर पीपुल थिंक’ आदि आदि पुस्तक उनले लेखे।
रिचर्ड फाइनमेनबारे अन्य लेखकले पनि थुप्रै पुस्तक लेखेका छन्। ‘द वीट अफ द डिफरेन्ट ड्रम–जगदीश मेहरा’, ‘जीनियसः रिचर्ड फाइनमेन एण्ड मार्डन फिजिक्स–जेम्स ग्लिक’, ‘मोष्ट अफ द गुड स्टफ– लौरी ब्राउन र जोन रिग्देन,’ ‘नो आर्डिनरी जीनियस–क्रिस्टोफर साइकेस’, ‘तुभा अर बस्ट–रल्फ लिघटन’, ‘रिचर्ड फाइनमेनः अ लाइफ अफ साइन्स –जोन ग्रिबिन र मैरी ग्रिबिन’ आदि चर्चित पुस्तक छन्।

रिचर्ड फाइनमेन।
अन्तमा:
सन् १९९९मा ब्रिटिश जर्नल फिजिक्स वर्ल्डले संसारभरिका १३० सर्वश्रेष्ठ भौतिक शास्त्रीसँग एउटा सर्भे गरायो। उनीहरुका अनुसार अहिलेसम्म भएका दश सर्वोत्कृष्ट भौतिक शास्त्रीहरुमा रिचर्ड फाइनमेन ‘टप टेन’ भित्र पर्छन्।
१. अल्बर्ट आइन्स्टिन
२. सर आइजक न्यूटन
३. जेम्स क्लर्क मैक्स वेल
४. नील्स बोर
५. वर्नर हाइजनवर्ग
६. गैलिलियो गैलिली
७. रिचर्ड फाइनमेन
८. पौल डिरेक
९. इरविन श्रोडिन्गर
१०. अर्नेस्ट रदरफोर्ड