
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमण समाप्त भएको छ। दुईपक्षीय सम्बन्धका विविध आयाममाथि शीर्ष तहको छलफलका साथ त्यसबारे थप र आधिकारिक विवरण अनि त्यसका तात्कालिक प्रभाव आगामी दिनमा देखिने छन्।
नेपाल र भारत शताब्दियौँदेखि अत्यन्त निकट र ढुंगामाटोको सम्बन्ध बोकेका मुलुक हुन् र त्यो सम्बन्ध सधैँ प्रोटोकलबाट निर्देशित हुन सक्तैन। तर, विगत एक दशकजति यता अत्यन्त अविश्वसनीय र अलोकप्रिय बनेको भारत सम्बन्ध र प्रधानमन्त्री केपी ओलीको विगत ५ साता या उनको भारत यात्रापछि र अहिले मोदी यात्राबाट झन् दरोसँग कसिएको लगनगाँठो कति मुलुकका लागि र कति ओलीको व्यक्तिगत फाइदाका लागि हो, त्यो भोलिको दिनमा थाहा हुनेछ।
प्रधानमन्त्रीको रुपमा भन्दा एउटा आस्थावान हिन्दुका रुपमा मोदी नेपाल आउनु अकारण थिएन। नाकाबन्दीपछि बहुसंख्यक नेपालीसँग नजिक देखिने उपाय माता जानकी, मुक्तिनाथ र पशुपतिनाथसमक्ष लम्पसार पर्नु थियो। त्यसपछि जनकपुरमा भएको सरकारी ‘नागरिक अभिनन्दन’ मा नेपालको एउटा प्रान्तको मुख्यमन्त्री पदमा आसिन लालबाबु राउतले प्रदर्शन गरेको हीनभावनासँगै उनले एकपल्ट फेरि नरेन्द्र मोदीलाई नेपालको अभिभावकीय भूमिकामा राख्न खाजेको देखियो।
नागरिक अभिनन्दन समारोहका सञ्चालक तथा प्रदेश मन्त्री र भारतको राष्ट्रिय स्वयम् सेवक संघसँग नजिक मानिने जितेन्द्र सोनलले जनकपुर तपाईंको भयो भन्ने अभिव्यक्ति दिएर संविधानको संरक्षण र पदका लायक उनी नभएको प्रमाण प्रस्तुत गरेका छन्।
उक्त समारोहमा नेपालको झण्डाको विकृत आकार र स्वतन्त्र मधेसको पक्षमा देखा परेको प्लेकार्डसँगै लालबाबु राउत र सोनलका निन्दनीय अभिव्यक्ति तथा आचरण जोडिएका छैनन् भनेर कसरी भन्ने?
केपी ओली राष्ट्रवादी पहिचानका साथ प्रधानमन्त्रीको कुर्सीमा पुगेका छन्। सत्तामा पुगेपछि के संवैधानिक हैसियतमा रहेकाहरुबाट भएका यस्ता आचरणप्रति कसैलाई जिम्मेवार ठहर्याउने साहस र दायित्व प्रदर्शन गर्न सक्लान् उनले?
ओलीजी, के सत्तामा टिक्न नाकाबन्दीप्रति कुनै रुपमा विरोध जनाउने नेपालीको हक खोस्ने अधिकार तपाईसँग छ? हिजोको आफ्नो त्यो राष्ट्रवादी रुप र अभिव्यक्तिका लागि के तपाई दुःखी हुनुहुन्छ अहिले प्रधानमन्त्री पद हासिल गरेपछि? नेपाली जनता समक्ष यी दमन र समर्पणका लागि माफी माग्नु तपाईँको कर्तव्य बन्न पुगेको छ ।
भारत नेपालको छिमेकी मित्र राष्ट्र हो। ऊ सँगको सम्बन्धमा विचलन आउँदा सुधार गर्नुपर्छ। तर नेपाली जनताको दमनबाट त्यो सम्भव हुँदैन। मोदीको स्वागतका लागि जबसम्म दमन आवश्यक पर्छ, तबसम्म दुई मुलुकका जनताबीच आपसी विश्वास र सम्बन्धमा प्रगाढता भएको मानिने छैन। दुर्भाग्य मोदी जुनसुकै अभिप्रायले आएपनि अतिउत्साहमा उनको भ्रमणलाई सकारात्मक र सफल भएको स्थापित गराउन ओली सरकार असफल भएको छ।