काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा लक्ष्य भन्दा १३ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन भएको छ। बैशाख मसान्तसम्म ५ खर्ब ७८ अर्ब रुपैयाँ लक्ष्य राजस्व लक्ष्य रहेकोमा ५ खर्ब ६५ अर्ब रुपैयाँ सङ्कलन मात्रै सङ्कलन भएको छ।
चालु आर्थिक वर्षमा सरकारको ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ। अबको दुईमहिनामा १ सय ६५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्न निकै कठिन हुने अर्थ मन्त्रालयका उच्च अधिकारी बताउँछन्। भन्सार राजस्व लक्ष्य भन्दा निकै कम सङ्कलन हुँदा राजस्व लक्ष्य प्रभावित भएको भईरहेको अर्थ मन्त्रालयका अधिकारीको भनाई रहेको छ।
समग्रमा लक्ष्य भन्दा १३ अर्ब कम राजस्व सङ्कलन हुँदा पनि बैशाख महिनामा भने लक्ष्य भन्दा ४ अर्ब बढी राजस्व सङ्कलन भएको छ। यस अघि पुस महिनामा मात्रै लक्ष्य बमोजिमको राजस्व सङ्कलन हुन सकेको थियो। चालुआर्थिक आर्थिक वर्षमा साउन देखि नै लक्ष्य भन्दा कम राजस्व सङ्कलन भईरहेको थियो।
बैशाखमा ५२ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य भएकोमा ५६ अर्ब रुपैयाँ सङ्कलन भएको छ।
भन्सार विभागले उठायो लक्ष्य भन्दा २१ अर्ब कम राजस्व
बढी कर लाग्ने गाडीको आयातमा गिरावट आउँदा भन्सार राजस्व लक्ष्य भन्दा निकै कम सङ्कलन भएको भन्सार विभागका अधिकारी बाताउँछन्। भन्सार विभाग बैशाख मसान्त २१ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन गरेको छ। विभागलाई बैशाख मसान्तसम्म २ खर्ब ६३ अर्ब रुपैयाँको लक्ष्य दिइएकोमा २ खर्ब ४२ अर्ब रुपैयाँ मात्र सङ्कलन भएको छ। बैशाख महिनामा पनि भन्सार विभागले लक्ष्य भन्दा ४ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन गर्न सक्यो। बैशाखमा २९ अर्ब ३१ करोड रुपैयाँ लक्ष्य भएकोमा २५ अर्ब ९७ करोड रुपैयाँ मात्र सङ्कलन भयो।
आन्तरिक राजस्व बिभाग पनि लक्ष्य भन्दा ३ अर्ब पछाडि
बैशाखमा आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा ३ अर्ब ८३ करोड रुपैयाँ बढी राजस्व सङ्कलन गर्दा पनि बैशाख महिना सम्मको समग्र राजस्व लक्ष्य भने भेट्टाउन सकेन। विभागको बैशाख महिना सम्मको लक्ष्य २ खर्ब ३० अर्ब रुपैयाँ भएकोमा २ खर्ब २७ अर्ब रुपैयाँ मात्र सङ्कलन भएको छ।
बैशाखमा भने १८ अर्ब १ करोड लक्ष्य भएको आन्तरिक राजस्व विभागले २१ अर्ब ८४ करोड रुपैयाँ सङ्कलन गरेको हो।
गैर कर राजस्व लक्ष्य भन्दा ९ अर्ब बढी
बैशाख मसान्तसम्ममा ४८ अर्ब रुपैयाँ गैरकर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ५७ अर्ब रुपैयाँ सङ्कलन भएको छ। बैशाखमा गैर कर १ अर्ब ९१ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा ४ अर्ब ४२ करोड रुपैयाँ सङ्कलन भएको हो।
सवारी साधन दर्ता, घरजग्गा रजिष्ट्रेसन लगायतबाट ३७ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ३९ अर्ब रुपैयाँ सङ्कलन भएको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































