
काठमाडौं- इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व शुक्रबारदेखि सुरु भएको छ। पहिलो दिन मुस्लिम समुदायले काठमाडौंको कास्मिरी मस्जिदमा प्रार्थना गरेका छन्।
इस्लामी पात्रो हिजरी संवत्अनुसार इस्लाम धर्मालम्बीहरूको नवौं महिनालाई ‘रमजान’ भनिन्छ। यो महिनाभर उनीहरू दिनभर केही पनि नखाइ निराहार रोजा (व्रत) बस्ने गर्छन्। इस्लाम धर्मावलम्बीहरूको आठौं महिना अर्थात् ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरू हुन्छ।
रमजान सुरू भएको दिनदेखि बिहान व्रत सुरू हुनुपूर्व र साँझ व्रत तोडिनुअघि हरेक दिन नियमितरूपमा मन्त्र पढ्ने चलन रहेको पाइन्छ।
व्रत समयावधिभर होहल्ला नगरी एकदमै अनुशासित तरिकाले बस्नुपर्ने भएकाले एकदमै संयमित भएर व्रत बस्ने चलन रहेको इस्लाम धर्मावलम्बीहरू बताउँछन्। यो महिनाभर व्रत बस्नाले आँटेको पूरा हुने विश्वास गरिन्छ।
रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुपूर्व अर्थात बिहान चार बजेभन्दा अघिदेखि सूर्यास्त नहुन्जेलसम्म अर्थात साँझ सात बज्नुभन्दा अघिसम्म कुनै पनि खानेकुरा खाँदैनन्। रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलतालगायतका आचरणमा विकास आउने विश्वास छ।
रमजानको पहिलो दशदिन रहमनावाला (दया/कृपा) दोस्रो दश दिन वर्कतवाला र तेस्रो दश दिन मग्फिरत (छुटकारा) हुने दिनको रूपमा लिइन्छ। रमजानको २०औँ दिनदेखि भने रोजा बस्ने व्यक्तिले राति नमाज पढ्ने, कुरान पढ्ने आदि गरेर इत्तकाफ बस्नुपर्ने चलन रहेको छ।
रमजान सकिने दिन अर्थात् ३० दिनको रोजा सकिएको भोलिपल्ट कष्टकर व्रतबाट छुटकारा पाएको भन्दै धुमधाम तरिकाले खुसीयालीका साथ ‘इदउल फित्र’ पर्व मनाउने चलन छ। मुसलमान समुदायको लागि यो खुसियालीको पर्व हो।
तस्बिरहरु-सुलभ श्रेष्ठ/देश सञ्चार