केन्द्रमा त एकता भयो, जिल्लामा कसरी हुन्छ समायोजन?

केन्द्रमा त एकता भयो, जिल्लामा कसरी हुन्छ समायोजन?
+
-

विराटनगर- गत वर्ष सम्पन्न निर्वाचनकै समय बाम एकतासहितको घोषणा पत्र जारी गरिएको थियो। उक्त घोषणापत्रलाई तार्किक निष्कर्ष दिने क्रममा एमाले र माओवादी केन्द्र एक हुँदै नेपाल कम्युनिष्ट पार्टी भएका छन्। केन्द्रतहमा भएको एकतासँगै प्रदेश तथा जिल्ला तहमा पनि स्थानीय नेताबीच उत्साह देखिएको छ। एमालेका नेताहरुमा उक्त उत्साह देखिएपनि, माओवादी केन्द्रका नेताहरु भने केही अन्यौलमा देखिएका छन्। केन्द्रले प्रदेश र जिल्लातहमा कसरी संगठन निर्माण गर्छ भन्ने कुराले उनीहरु सतर्क छन्। मोरङ जिल्लामा भने कस्ले नेतृत्व लिने भन्ने विषयमा चर्चा सुरु भएको छ।

दुवै पार्टी समायोजनको कार्य सहज नभएको बुझेकी माओवादी केन्द्रकी मोरङ नेतृ नमिता न्यौपानेले पार्टी एकताले उत्साह भरेको बताइन्। तथापि ७ प्रदेश र ७७ जिल्लामा एकता प्रक्रियाको कार्य शीघ्र अघि बढाउनुपर्नेमा जोड दिएकी नेतृ न्यौपाने भन्छिन्, ‘आवश्यक्ताको आधारमा दुवै पक्षलाई समायोजन गरिनु पर्नेछ। केन्द्रले एकपक्षीय ढंगबाट निर्णय गर्नु भन्दापनि, स्थानीय तहमा कार्यकर्तासंग समन्वय र सरसल्लाह गरी मात्र एकताको प्रक्रिया अगाडि बढाउनुपर्छ।’

एमालेका जिल्ला अध्यक्ष विनोद ढकालले केन्द्रले तीनमहिना भित्र एकता प्रक्रियालाई सहज अवतरण गराउनेमा कार्यकर्ताहरु विश्वस्त रहेको बताए। केन्द्रद्धारा एउटा निश्चित मापदण्ड बनाइएपछि मात्र प्रदेश जिल्लामा कार्य अघि बढ्ने बताएका अध्यक्ष ढकालले अब नेतृत्व कस्ले अघि बढाउला भन्ने सन्दर्भमा भने, ‘छलफल नै नभएको विषयमा मैले बोलिहाल्नुपर्ने अवस्था छैन। केन्द्रको निर्णयलाई मान्न तयार छौं।’

माओवादी केन्द्रका नेता गणेश उप्रेती सुशीलले एकतापछि जिल्लामा माओवादी केन्द्रतर्फबाट अध्यक्ष हुनुपर्ने दाबी आफूहरुको रहेको बताएका छन्। उनले भने, ‘केन्द्र जस्तो दुइ अध्यक्षबाट जिल्लातह चल्न गाह्रो छ, त्यसैलेपनि प्रमुख वा उपप्रमुख बनाएरअघि बढ्दा हाम्रो माग स्वभाविक रुपमा अध्यक्ष नै रहनेछ।’ माथिल्लो तहका नेताहरुले तल्लोतहमा देखिने विवादलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका उप्रेती भन्छन्, ‘माथिको भन्दा बढि विवाद तल देखिनेछ। यसलाई उचित सम्बोधन गर्नुपर्ने भूमिका केन्द्रले खेल्नुपर्छ।’

केन्द्रको नेतृत्वमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेपनि उही मोडल प्रदेश जिल्लामा आवश्यक नरहेको दुवै पार्टीका नेताहरुको बुझाइ रहेको छ। एमालेका मोरङ जिल्ला पूर्वअध्यक्ष महेश रेग्मीले सचिवालयले नीति बनाएपछि त्यसअनुरुप आफूहरु अघि बढ्ने बताए। यद्धपि पार्टी एकताको सन्दर्भ अहिले संक्रमणकालीन भएको नेताहरुको बुझाइ छ। अब हुने महाधिवेशनले संक्रमणकालीन अवस्थामा देखिएका विवादलाई पन्छाउने उनीहरुले विश्वास लिएका छन्।

एकतापछि मोरङमा कस्तो र कुन अनुपातमा पदीय भागबण्डा रहला, त्यसबारे स्थानीयतहसँग छलफल गरी केन्द्रले गठन गर्न सक्ने दुवैतर्फका नेताहरुको भनाइ छ।

एमालेतर्फ भीम आचार्य संयोजक रहेको प्रदेश नम्बर एकको कमिटीमा १ सय १२ सदस्य रहेको नेता रेग्मीले बताए। त्यसैगरी मोरङ जिल्ला कमिटीमा कुल १ सय १७ सदस्य छन् जसमा आमन्त्रित १५ सहित सचिवालयतर्फ ५६ सदस्य छन्। माओवादी केन्द्रको प्रदेश समितिमा ४ सय ६१ र सचिवालयमा ५६ जना सदस्य छन्। जिल्ला सदस्यमा १ सय २० जना सचिवालयमा ३५ जना छन्। यसअघि २०७३ सालमा भएको एकता भेलाका क्रममा ९ सय ९९ सदस्य रहने भनिएपछि अधिवेशन हुन नसक्दा त्यसले काम गर्न सकेको थिएन।

त्यसैगरि पार्टीको मुख्यालय भने पाञ्चालीस्थित एमालेकोे कार्यालय नै हुने सम्भावना बढी छ। उक्त भवन एमालेको स्वामित्वमा छ। अर्कोतर्फ माओवादी केन्द्रले भने आफ्नो पार्टी कार्यालय घर भाडामा लिएर चलाइरहेको अवस्था छ। माओवादी केन्द्रका नेता उप्रेती भन्छन्, ‘शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले औपचारिक रुपमा पार्टी कार्यँलय भाडामा खोलेको भए पनि अब भने एकतापछि मुख्यालय एमालेको भवनलाई बनाउदा नै उचित हुनेछ।’

पञ्चालीमा रहेको सो दुई तल्लाको भवनमा पुस्तकालय, मिटिङ हल, कार्यक्रम हल र पाँच वटा छन्। २०४७ साल बैशाखमा पार्टीको नामबाट पहिलोपटक खरिद गरिएको यस कार्यालयको क्षेत्रफल ४ कठ्ठा १ धुर छ। २०५८ सालमा निर्माण भएको भवनको उद्घाटन नेता माधवकुमार नेपालले गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?