
जनकपुरधाम- प्रदेश २ का आन्तिरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव केन्द्र सरकारले प्रदेश २ को सरकारलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन्।
२५औ अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयद्धारा आयोजित एक समारोहमा मन्त्री यादवले केन्द्रले प्रदेश सरकारलाई बदनाम गर्न खोजेको बताएका छन्।
यादवले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा जानकी मन्दिरमा झण्डाको आकार केन्द्र सरकारले राखेको थियो भने मन्त्रीलाई समेत झण्डालाई निरिक्षण गर्नबाट रोक पनि लगाईएको थियो।’तर झण्डा फरक आकारको राखेको भन्दै पछी केन्द्र सरकारले नै आफुलाई स्पष्टिकरण सोधेको भन्दै उनले आपत्ति समेत जनाए।
जनकपुरको दुधमतीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले मधेश आन्दोलनको समयमा उठाएका मुद्दामा अहिले पनि हामी अडिग र प्रतिवद्ध रहेको बताएका छन्।
‘नागरिक अभिनन्दन कार्यक्रममा मुख्यमन्त्री लाल बाबु राउतले उपस्थित लाखौँ जनता समक्ष अन्तर्राष्ट्रिय मञ्चबाट आफ्नो प्रतिबद्धता र जनतासंग गरेका वाचाहरु राखेका थिए तर, यसलाई नक्कली राष्ट्रवादीहरु गलत तरिकाले प्रस्तुत गरको उनको भनाई थियो।
मन्त्री यादव अहिले पनि प्रहरी प्रशासन केन्द्र सरकारकै ईशारामा चलिरहेकाले जनकपुरमा केन्द्र सरकारको संरक्षणमा भूमाफियाहरुले गुठ्ठिको जग्गा कब्जा गरेर बसेपनि आफुहरुलाई मुठ्ठि बाँधेर चुपचाप बस्नु परेको उल्लेख गरे। उनले भने,‘यहाँ एसपी देखी लिएर सिडियोको सरुवा पनि केन्द्र सरकारले नै गरिरहेको छ, कुन जिल्लामा कसलाई पठाउने निर्णय पनि केन्द्रले नै गर्छ।’
उनले संघीयता कार्यन्यवनका लागि तत्कालीन संघिय सरकारले प्रदेशमा कानूनको ड्राफ्ट नै तैयार गरि पठाउनुपर्ने थियो तर, संघिय सरकारले कानुनको ‘क’ पनि बनाउन नसकेको टिप्पणी गरे।
मन्त्री यादव जैविक विविधताको संरक्षण संवर्दनमा जोड दिदै पर्यटन क्षेत्रमा विकाश गरिए प्रदेशलाई आर्थिक रुपले पनि सबल र बलियो बनाउन सकिने बताए।
अन्तर्राष्ट्रि जैविक विविधता दिवसको अवसरमा जनकपुरको दूधमती नदीको किनारमा वृक्षारोपन पनि गरिएको छ।