
दिनको एउटा अण्डा खाएमा हृदय रोग (कार्डिओभास्कुलर डिजिज) जोखिम कम हुने देखिएको छ ।
चीनमा चार लाख भन्दा बढी मानिसमा गरिएको अनुसन्धानबाट दिनको एउटा अण्डा खाने व्यक्तिमा हृदय रोगको जोखिम १८ प्रतिशत कम देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
दिनको एउटा अण्डा खाने भन्दा नखाने व्यक्तिमा कार्डिओभास्कुलर डिजिजका कारण ज्यान जान सक्ने जोखिम १८ प्रतिशत बढी देखिएको हो ।
यस्ता रोगमा विशेष गरी हृदयघात, स्ट्रोक बढी रहेका छन् । वयस्क व्यक्तिमा गरिएको अनुसन्धानको प्रतिवेदन बिएमजे हार्ट जर्नलमा प्रकाशित भएको छ ।
यसअघि डाक्टरले हृदय रोगको जोखिमबाट जोगिनका लागि धेरै अण्डा खान नहुने बताउने गरेका थिए । अण्डामा उच्च गुणस्तरको प्रोटिन तथा अरु पोषक तत्व हुने भए पनि त्यसमा क्लेस्ट्रोलको मात्रा पनि बढी हुन्छ, जुन हृदय रोगको जोखिम भएकालाई उपयुक्त मानिदैन ।
तर दिनको एउटा अण्डा खानु चाहिँ हृदय रोगको जोखिम कम गर्नका लागि उपयुक्त देखिएको चीनको बेइजिङ्गमा रहेको पेकिङेग विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताले बताएका छन् ।