यी हँसिला ह्यान्डसमका अनेक रुप: डाक्टर, मोडल र कोरियोग्राफर

+
-

काठमाडौँ– फराकिलो कोठा, भुइँमा चिप्लो खाले कार्पेट बिच्छ्याइएको छ। भित्ताभरि ठूला ठूला ऐना टाँगिएका छन्। एउटाले हात हल्लाउँछ, उसको नक्कल गर्छ अर्को। उनीहरु घरि हिँड्छन् त घरि रोकिन्छन्। घरि मन्द मुस्कान सहित हाँस्छन् त घरि गम्भीर अनुहार लगाउँछन्। बानेश्वरको एउटा घरको कोठामा यस्तो हाउभाउ देखाउने यी युवा दिक्पाल कार्की हुन्, मोडल अनि कोरियोग्राफर। यो मात्र उनको परिचय होइन, शैक्षिक योग्यताले उनलाई चिनाउँदा डा. दिक्पाल कार्की भन्नुपर्छ।

अग्लो कद, गहुँगोरो छाला, सुगठित शरीर। अनुहारको मोडा आरएन र मंगोलियनको बीचबीचमा छ। अनि हाँसो चाहिँ सारै राम्रो, बेलाबेलामा कन्जुस्याइँ नगरी हाँसिदिन्छन् सेता दाँत देखिने गरी, हा.हा.हा..

हामी उनलाई भेट्न बानेश्वर पुग्दा उनी एक युवकलाई केही सिकाउँदै थिए। हामी पुग्नु र उनले सिकाउने समय सक्किनु संयोग थियो। हाँस्दै उनले हेलो भने, हामीले फर्कायौ। भिडियो अन्तर्वार्ताको लागि तयार हुनको लागि १० मिनेटको समय मागे। लगभग त्यतिनै समय पछि उनी क्यामराको फ्रेममा देखा परे,कालो कोट प्यान्टमा।

‘मलाई तयार हुन अलि टाइम नै लाग्छ, नर्मल अरु केटाहरु भन्दा।’’ उनले आफूलाई सिङ्गार गर्न लाग्ने समय बताए। ‘तर जति समय लागेपनि केटीहरुको जति चाहिँ होइन।’ कार्कीलाई कहिलेकाँहि तयार हुन त एक घण्टा नै लाग्छ।

‘डाक्टर साप भनौ है?’

‘डाक्टर साप नै त नभनौ तर मन लाग्छ भने बेला बेला भन्दा हुन्छ।’

दिक्पाललाई दुवै तर्फको परिचय प्यारो छ, ‘मोडल’ र ‘डाक्टर’। दुवै परिचय एकदमै मेहनत गरेर कमाएको हुन् उनल। उनलाई जनावरप्रति धेरै माया छ, उनी भन्छन्, ‘जनावरलाई जति माया दियो, त्यो भन्दा धेरै माया फर्काउछ।’

उनको एक जना दाइ छन्, पेशाले इन्जिनियर। एउटा छोरा इन्जिनियर भएपछि अर्को छोरालाई डाक्टर पढाउने बाबा आमाको सपना थियो, बाबा आमाको यही सपनाले उनको बाटो काठमाडौँतिर मोडियो नेपालगञ्जबाट।

कार्कीले एमबिबिएसको डाक्टरी भन्दा जनावरको डाक्टरी रोजे र साइन्स विषय लिएर पढ्न थाले।

सानैबाट नाँच्ने गाउने रहर थियो, विद्यालयको कार्यक्रममा पनि छुट्दैनथे उनी। शिक्षक बाबा आमाका कान्छा छोरा, उनीभन्दा माथि एक जना दाइ छन्। विद्यालयमा बा आमा शिक्षक शिक्षिका भएकोले, एक्स्ट्रा करिकुलर एक्टिभिटिमा सहभागी हुन उनलाई प्रोत्साहन थियो। जनावर उनलाई मन पर्थ्यो। दुवै क्षेत्रलाई उनले प्रोफेसन नै बनाउँछु भन्ने चाहिँ सोचेका थिएनन्, तर दुवै उनको नामसँगै जोडियो।

‘मलाई मेरो एम्बिसन्स के हो भन्ने थाहा थियो। भेटेरेनरी र मोडलिङ दुवै फरक पेशा भएपनि मैले दुवैलाई मनैबाट प्राप्त गर्न चाहेँ र दुवै पाएँ पनि।’ परिवारको कान्छो सदस्य भएकोले पनि उनलाई अलि बढी माया, अलि बढी केयर र सँगै अलि बढी नियम पनि लाग्थ्यो। उनको परिवारमा मोडलिङ पेशामा कोही नभएकाले यो पेशामा आउने कार्कीको रहरलाई परिवारले सहर्ष स्वीकार्ने त कुरै भएन। शिक्षकको घर भएपनि विद्यालयमा हुने हरेक खालको सांस्कृतिक कार्यक्रमको रिहर्सल उनकै घरमा हुन्थ्यो, कार्की सानैदेखि कार्यक्रमको रिहर्सल हेरेर हुर्किए। ‘घरमा माहोल थियो तर यही क्षेत्रमा रमाउने मेरो इच्छालाई परिवारले ल ठीक छ चाहिँ भनिहाल्नु हुन्थेन।’ उनले भने, ‘काम गरेको मन नै नपराउने त हैन, बा आमालाई त्यै त हो नि पढाइ बिगार्छ भन्ने चिन्ता धेरै हुन्छ।’ अहिले उनलाई एक हिसाबले सजिलो छ।

प्लस टु पढ्दा हरेक शनिबार डान्स क्लास हुन्थ्यो कलेजमा, ‘वेलह्याम्स कलेजका डान्स गुरु तुलसी नारायण प्रजापति’ उनको मोडलिङ जीवनको एक महत्वपूर्ण पात्र हुन्। उनी साइन्स डिपार्टमेन्टबाट एक्लै थिए, डान्स गर्न जाने। इन्टर कलेज कम्पिटिसन, टेलिभिजन प्रशारण हुने प्रतियोगितामा उनी सहभागी भइनै रहन्थे र सबैको गाली खान्थे। ‘साइन्स टिचरले गाली गर्थे पनि।’

राम्ररी नाचेको देखेर सबैले कम्लिमेन्ट दिन्थे, तिमी त मोडल हुनुपर्ने मान्छे भन्थे, मनको कुरा बोलेको जस्तो लाग्थ्यो उनलाई। प्लस टु सक्किने समयमा सञ्जय श्रेष्ठले फोटोसुटको लागि अफर गर्नुभयो, त्यही फोटो हेरेर मलाई एउटा विज्ञापनको अफर पनि आयो।

पहिलो पटक जे काम गर्न पनि गाह्रो हुन्छ। कुनै बेला यस्तो परिस्थिति पनि आउँछ जहाँ दुई अवसर तर अप्सन एक मात्र हुन्छ। पहिलो विज्ञापन सुटको अफर आउँदा हाँस्नु न रुनु भयो, स्नातक तहको पहिलो सेमेस्टरको पहिलो परिक्षाको दिन नै विज्ञापन छायांकन गर्नुपर्ने। कार्कीलाई परीक्षा निल्नु न ओकल्नु भयो, के गर्ने के नगर्ने । धेरै बेर सोचेँर हिम्मत बटुले र निर्णयमा पुगेँ, ‘मैले परीक्षा नै दिइन, घरमा बाबा आमालाई पनि थाहा नै भएन, सुटुक्क अर्कोपटक परीक्षा दिएँ।’ आफ्नो निर्णय कतिको सही या गलत होला भनेर कहिले पनि सोचेनन्, उनले आएको चान्सलाई नगुमाउने निर्णय गरे बस। ‘र त्यो निर्णय गरेर म पछुताएको पनि छैन।’

परीक्षा छोडेर सुरु भएको उनको मोडलिङ, अभिनयको यात्रा अहिले उकालो लाग्ने क्रममा छ, दुईओटा चलचित्र, म्युजिक भिडियोहरुमा उनको अनुहार देख्न सकिन्छ। योसँगै उनले अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टमा सहभागी भएर नेपाललाई चिनाउने काम पनि गरेका छन्।

सन् २०१६ मा थाइल्याण्डमा मिस्टर ग्लोबलमा टप १० मा पुगे र छैटौँ स्थानमा आइपुगे। सन् २०१७ मा टप १५ मा आइपुगे र दुईओटा सव टाइटल पनि।

उनले सधैँ कम्प्लिट पर्सनालिटी बन्ने सोच राखे, उनको शब्दमा कम्प्लिटको अर्थ – एकाडेमी क्वालिफिकेसन, ग्रुमिङ्गको कुरा, मानिसहरुसँग बोल्दामा पनि राम्रो, एउटा राम्रो छवि भएको व्यक्ति।’ यसको लागि उनको प्रयास पहिला पनि रह्यो, अहिले चल्दै छ। सँगै उनी थप्छन् पनि, ‘किनभने सिक्ने र उत्कृष्ट हुने कुरा कहिले टुंगिदैन।’ यो कुरा उनले र्‍याम्पमा हिँड्दा पनि र ६ ओटा राष्ट्रिय ब्युटी प्याजेन्टमा भाग लिइसकेपछि अन्तर्राष्ट्रिय कम्पिटिसनमा जाँदा पनि लागू भइरहेको छ।

मोडलिङको मोह उनले यसको अर्थ राम्ररी नबुझ्दै पलाएको थियो, इमेज टेलिभिजनमा ‘द मुड’ भन्ने कार्यक्रम आउथ्यो। त्यसमा पठाइएको फोटोबाट मोडल छान्ने गरिन्थ्यो र र्‍याम्पमा हिँड्न सिकाउने। उनलाई ठूलो भएर आफू पनि त्यही भाग लिने रहर लागेको थियो। त्यतिबेला उनले थाहा पाए, मोडलको लागि हाइट पनि चाहिन्छ तर जबसम्म उनी ठूला भए कार्यक्रम बन्द भइसकेको थियो।

उनको उचाइ ठ्याक्कै छ फिट छ। ज्यान पातलो हुँदा दिक्क लाग्थ्यो, एसेम्ब्लीको लाइनमा पनि गएनन् किनभने उनलाई लाइनको पछाडि बस्नुपर्थ्यो। तर कहिलेकाहिँ यो पनि नपुगेको जस्तो लाग्छ।

अहिले उनी व्यस्त छन्, ‘यति बिजी कि, पढेको कुरा सुरु गर्न पनि पाएको छैन।’ पहिला प्यासन भएको कुरा अहिले प्रोफेसन भइसक्यो। सुरुमा जस्तो ओहो ‘सुटिङ’, ओहो ‘म्युजिक भिडियो’ जस्तो एक्साइमेन्ट चाँहि हुँदैन तर काममा भने रमाइराखेका छन्।

पहिलो विज्ञापनले उनलाई धेरै सामु चिनायो, यस्तै उनको सन् २०१६ मा भएको मिस्टर ग्लोबलको प्रतियोगिताको समय एकदमै रमाइलो छ। जसलाई उनले सजिलै बिर्सन सक्दैनन् । यहि दुई जीवनका महत्वपूर्ण घटनामा हो उनले आफूलाई धेरै ह्यान्डसम देखेको।

जीवन यात्रामा उकाली चढ्नु र ओरालो झर्नु प्रक्रिया नै हुन्। उनको मोडलिङको करियर उकालो लाग्दै थियो तर सन् २०११ मा एउटा घटना घट्यो, उनलाई साइबर क्राइमको मुद्दामा उनी ९ दिन हिरासतमा बसेँ। निर्दोष सावित पनि भए हुन त र पहिलेको भन्दा केहि कुराहरु परिवर्तन भए। साथीभाई विज्ञापन खेलाउने निर्देशक, निर्माता सबै टाढा भए। राम्रो कुरा फैलन समय लाग्छ तर नराम्रो काम फैलन समय नलाग्ने भएकोले उनको भइरहेको छविमा प्रश्न उठ्यो । काम गरिरहेका सबैले चिन्न छोडे । यसबाट बाहिर निस्कनलाई उनलाई छ महिना समय लाग्यो ।

पछि एउटा एड एजेन्सीको मार्फत रंग बैजनीका निर्देशकले उनको फोटो देखे र चलचित्रमा अभिनय गर्नको लागि अफर गरे। त्यसभन्दा पछाडि उनले फर्केर हेर्नुपरेको छैन।

एक्पोज नेपालमा उनी अहिले कोरियोग्राफर छन्, मिस्टर नेपालको ताज जित्नको लागि आएका प्रतियोगीहरुलाई उनले मोडलिङ गर्न सिकाउछन् । उनलाई सिक्न र सिकाउन दुवै गारो छ । उनको अनुहारले त्यस्तो मचुरिटि देखाउँदैन । स्कृनमा देखिन थालेको १० वर्ष पुग्नै लाग्यो । आफ्नो उमेर यति नै भन्न चाहेनन्, ‘३० नजिकै पुग्न लागे भनेर बुझ्दा राम्रो’

परिवारसँग चाडबाडमा मात्र कुरा हुन्छ। अरु बेला काममा नै व्यस्त। उनी अहिले अरु धेरै अन्तराष्ट्रिय पेजेन्टमा सहभागी हुने योजनामा छन् । उनी भन्छन्, ‘सपना धेरै छन्, हेरौ पूरा कति हुन्छन्।’

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?