
बेला मौकामा समाचारपत्रहरुमा यस्ता समाचार देखिने गर्छन्, केही वर्ष भित्रै ‘चन्द्रमामा मानव बस्ती’,अथवा २०३० सम्म मंगल ग्रहमा मानव बस्ती बसाइने आदि।
एकजना मित्रले यस सम्बन्धमा जिज्ञासा राख्दै सोधे, ‘होइन के साँच्चै आउँदो केही वर्षमा मानिस पृथ्वी छाडेर अन्य कुनै ठाउँमा गएर बस्न सक्छ ? जान पाए कति रमाइलो हुन्छ होला ??’
प्रतिउत्तरमा म फिस्स हाँसेको हेर्दा उनले पुनः सोधे, ‘होइन तपाई किन हाँस्नुभएको? अस्ति भर्खरै मैले समाचार पत्रमा पढे, २०३० मा मंगल ग्रहमा वैज्ञानिकहरुले मानव बस्ती बसाउँदैछन्।
म ती मित्रसँग यस विषयमा कुनै गफ गर्न इच्छुक थिइन। किनकी विज्ञान सम्बन्धी उनको जानकारी पत्रपत्रिकामा यदाकदा छापिने यस्तै मनोरञ्जनात्मक समाचारसम्म सीमित थियो र बाँकी उनको सारा जानकारी धर्मग्रन्थमा आधारित या अरुअरुको मुखबाट सुनेको ताइनतुइ पाराको थियो। पछि यस विषयमा स्वयमलाई नै जिज्ञासा लाग्यो र यस सम्बन्धमा अध्ययन थालेँ।
सौर्यमण्डलमा पृथ्वी बाहेक अन्य सात वटा ग्रह छन्। बुध सूर्यको धेरै नजिक ५ करोड ७९ लाख किमी. भएकाले यहाँको तापमान दिउँसोमा ४२७ डिग्री सेल्सियस एवम् रातिमा –१८० डिग्री सेल्सियससम्म हुने गर्छ। यहाँको औसत तापमान १६७ डिग्री सेल्सियस हो। यहाँ जीवन हुने कल्पना नै गर्न सकिन्न।
शुक्र बुधपछि सूर्यको निकटस्थ ग्रह हो। शुक्रबारे पृथ्वीवासीको आकर्षण हजारौ वर्ष देखि रहिआएको छ, पृथ्वीको बैनीकै उपमा पनि पायो यसले। सूर्यबाट १० करोड ८२ लाख किमी. र पृथ्वीबाट २६ करोड कि.मी. स्थित शुक्रको तापक्रम भने ४६२ डिग्री सेल्सियस छ। १९६२ मा यस तर्फ पठाइएको यान ‘मारिनेर–२’ र १९७० मा ‘भेनेरा–७’ पछि यहाँ जीवनको कल्पनामा विराम लाग्यो।

मंगल ग्रह।
सूर्यबाट दूरीमा तेस्रो ग्रह पृथ्वी र चौथो मंगल हो। यसमाथि चर्चा पछि गरौँला। सूर्यबाट पाँचौ ग्रह वृहस्पति हो, सौर्यमण्डलको सबै भन्दा ठूलो ग्रह हो यो। सूर्यबाट ७७ करोड ८५ लाख कि.मी. र पृथ्वीबाट ५४ करोड ४० लाख कि.मी. स्थित, यो ग्रह पूरै ग्यासले बनेको छ, ग्यासका बादलमा तापमान–१४५ डिग्री सेल्सियस छ भने ग्रहको मध्य भागको तापमान सूर्यको सतह भन्दा पनि बढी २४ हजार डिग्री सेल्सियस रहेको छ।
१९७६ मा यसतर्फ पठाइएको यान ‘भायजरले’ पठाएको सूचना पछि यसमा जीवनको सम्भावना हुन सक्ने अवधारणामा बिराम लाग्यो। अहिले वैज्ञानिकहरु यस ग्रहमा रहेको ६४ वटा चन्द्रमाको अनुसन्धानमा आकर्षित भएका छन्।
वृहस्पति पछिका शनि अरुण, वरुण, पछि गैसीय ग्रह हुन त्यहाँ जीवन हुन सक्ने सम्भावना छैन। पृथ्वीबाट सबै भन्दा नजिक रहेको यसको एकमात्र उपग्रह चन्द्रमामा १९६९ देखि १९७२ सम्ममा ६वटा अपोलो अभियान उडानमा १२ जना पृथ्वीवासीले टेकेका छन्। चन्द्रमामा वातावरण, हावा, पानी (भारतीय अभियानले यसको ‘पोल’ मा पानी रहेको पत्ता लगाएको छ) नभएकोले त्यहाँ मानव वस्ती बसाउन सकिने सम्भावना शून्य रहेको छ।
वैज्ञानिकहरु चन्द्रमाको उपयोग ‘स्पेश स्टेशन’ का रुपमा गर्ने योजना बनाई रहेका छन्। चन्द्रमाको भूमिलाई आधार बनाएर अन्य खगोलीय पिन्डहरुमा आफ्ना अन्वेषक यान पठाउने, त्यहाँको गुरुत्वाकर्षण कम भएकोले चन्द्र धरातलबाट माथि जान चाहिने गति पृथ्वीको तुलनामा कम्ती रहेको छ।
कुरा मंगल ग्रहको, पृथ्वी पछी सर्वाधिक मानव निर्मित उपग्रह मंगलकै कक्षामा स्थापित भएका छन्। पृथ्वीबाट ५ करोड ४६ लाख कि.मी. र सूर्यबाट २२ करोड ७९ लाख कि.मी. टाढा स्थित यहाँको औसत तापमान माइनस ६० डिग्री सेल्सियस छ। मंगलको वातावरण पृथ्वी भन्दा सय गुणा पातलो छ। वातावरणमा ९५.३२ प्रतिशत कार्वन डाइ अक्साइड, २.७० प्रतिशत नाइट्रोजन १.६० प्रतिशत आर्गन, ०.१३ प्रतिशत अक्सीजन ०.०८ कार्वन मोनो अक्साइड प्रमुख छन्।
१९६५ सम्म विश्वास गरिन्थ्यो- मंगलको सतहमा तरल पानी विद्यमान छ। तर या त ‘मेरीनर–४’ ले यो विश्वासलाई खण्डित गरिदियो। यसले सूर्यको परिक्रमा ६८७ दिन (पृथ्वीका) मा पूरा गर्छ भने कक्षामा परिक्रमा गर्न पृथ्वी भन्दा ३९ मिनेट ३५.२४४ सेकेण्ड बढी समय लगाउँछ।

चन्द्रमा।
‘वाइकिंग यान’ बाट थाहा भइसकेको छ कि मंगल झण्डै झण्डै ‘भू–वैज्ञानिक’ दृष्टिकोणले मृत ग्रह हो। यस गृहमा मानव निर्मित रोवोटले अवतरण गरिसके पनि अहिले सम्म मानव पाइलाले यहाँ टेकेको छैन। एक अनुमान अनुसार २०३०–२०३५ सम्ममा मंगल ग्रहमा मानव अवतरण हुने विश्वास गरिएको छ। हाम्रो सौर्यमण्डलका सदस्य ग्रहमा मानव बस्ती बस्न सक्ने सम्भावना छैन भन्नुमा अत्युक्ति हुने छैन। ‘मिल्की वे’ आकाश गंगामा पृथ्वी जस्ता ग्रह अरबौंका संख्यामा छन्। भर्खरै नासाले पत्ता लाएको ‘ट्रपिस्ट १’ सौर्यमण्डलका तीनवटा ग्रह ‘गोल्डिलाक’ क्षेत्रमा छन्। तर तिनको पृथ्वीबाट दूरी ४० प्रकाश वर्ष छ। त्यसै गरी सूर्यबाट अर्को नजिकको तारा ‘प्रोक्सिमा सेन्टुरी’ को परिक्रमा गरिरहेको एउटा ग्रह ‘प्रोक्सिमा सेन्टुरी बी’ बैज्ञानिकहरुले पत्ता लगाएका छन्। यो ग्रह भने ‘ट्रेपिस्ट १’ ‘सौर्यमण्डलका ग्रहको तुलनामा कम दूरीमा छ। जम्मा ४.२५ प्रकाश वर्ष।
एक क्षणलाई मानिलिउँ, यो ग्रहमा मानव बस्न सक्ने सबै आधारभूत आवश्यकता उपलब्ध छन्। तर के मानव त्यहाँ गएर बस्न सक्छ? जवाफ हुन्छ सक्दैन। अहिले सम्म मानवले बनाएको यानको अधिकतम गति १७ किमी/सेकेण्ड मात्र छ। यस गतिले ‘प्रोक्सिमा सेन्टुरी’ पुग्न ७० हजार वर्ष लाग्छ। भोलि प्रकाशका गतिले उड्ने यान बन्यो भने त्यहाँ सम्म पुग्न ४.२५ वर्ष लाग्छ। ४.२५ वर्ष सम्म मानिसलाई बाँच्न चाहिने सामाग्री अट्ने यान चाहिन्छ। यसको आकार झण्डै एउटा शहर जस्तो आवश्यक हुन जान्छ। जसको कि निकट भविष्यमा कुनै सम्भावनाको कल्पना पनि गर्न सम्भव छैन र अर्को मूलभूत कुरा प्रकाशको गतिमा पुग्नासाथ पदार्थ नै रहँदैन। पदार्थ उर्जामा रुपान्तरित हुन्छ।
मूल प्रश्न अर्को ग्रहमा जीवन छ कि छैन भन्ने होइन। फेरि जीवन सम्बन्धी हाम्रो अवधारणा मात्रै जीवन होइन। सूर्य पनि त एक किसिमको जीवन हो, समस्त ब्रह्माण्ड नै जीवन रुपी विरुवा हो जुन सतत विकसित भइरहेको छ। एउटा तारा बन्ने संभाव्यता जुट्छ, तारा जन्मिन्छन्, हुर्किन्छन्, त्यसको चारैतिर अनेक प्रकारको जीवन मौलाउँछ। फेरि तारा मृत्युलाई प्राप्त हुन्छ। ब्रह्माण्डका सबै दृश्य अदृश्य पिण्ड जीवन द्योतक हुन्। मानिसको खोजी पृथ्वी जस्तै जीवनमा हुर्किएको आफू जस्तै जीवनको चासोमा केन्द्रित छ। आफूलाई पायक हुने सबै वातावरण उपलब्ध भएको वा आफू जस्तै जीवन सञ्चालित भइरहेको स्थलको खोज छ।
त के पृथ्वीबाहेक कुनै अन्य ठाउँमा जीवन छैन, वा जीवन योग्य सम्भावना बोकेको ठाउँ छैन ? यस प्रश्नको ‘एवस्योल्युट’ जवाफ छैन। पृथ्वीका माफिक जीवन हुनलाई सय, हजार, लाख होइन, अरब खरब पनि होइन। १ अंकका पछाडि २८ वटा शून्य थपेर जुन संख्या संख्या प्राप्त हुन्छ, त्यति संयोग जुट्न आवश्यक छ। यतिका संयोग एक साथ उपस्थित भएकाले तपाईँ यो लेख पढिराख्नु भएको छ। एउटा पनि संयोग श्रृंखलाबाट छुटेको भए यो लेखिने सम्भव थिएन वा तपाईले पढ्न सम्भव थिएन।

स्तम्भकार ज्ञान मित्र
‘विग व्यांग’ पछि बनेका अरबौं आकाश गंगामा रहेका खरबौं पिण्डहरुमा पृथ्वी जस्तो ‘संयोग’ जुट्ने सम्भावना हुर्किएन भन्नु मानवश्लाघा हुनेछ। पृथ्वीभन्दा पनि बढी संयोग जुटेर, हाड, मासु र रगतको मानव शरीर भन्दा प्रकाश निर्मित शरीर भएका प्राणीको सृजन भएको पनि त हुन सक्छ। तपाईँका लागि यो कल्पना नै बकम्फुसे वा तपाईँको मस्तिष्कको क्षमता भन्दा बढी भएको हुन सक्छ। तर, कल्पना र सृजनको मिलन विन्दुमा यो भन्दा धेरै अज्ञात किसिमको (कल्पना भन्दा कल्पनातीत) रचनाधर्मिता हुन सक्छ।
मानिसले चाहे जस्तो सबै कुराले पायक सम्पन्न ग्रहको पत्तो नै विज्ञानले अहिले सम्म पाएको छैन, खोज टुंगिएको छैन नत्र अझै उन्नत वैज्ञानिक प्रविधिले यस दिशामा कार्य भइरहेको छ। फेसबुकका मालिक जुकरवर्ग, रसियन अर्बपति यूरी मिलनेर र स्टीफेन हाकिन्स ‘नैनो स्पेशक्राफ्ट’ परियोजनामा संलग्न भएका छन्। यो स्पेशक्राफ्ट” प्रकाशको गतिको १/५ भागको गतिले उडान भर्ने छ। ‘प्रोक्सिमा सेन्टुरी’ पुग्न यसलाई २१ बर्ष लाग्ने छ। पुगेपछि यानले पठाएका सूचना पृथ्वीस्थित केन्द्रमा आउन ४.२५ बर्ष लाग्नेछ। किनकि रेडियो तरंग प्रकाशकै गतिले यात्रा गर्छ। हुलाक टिकट आकारको यो ‘स्पेसक्रा्फ्ट’ परियोजना सफल भएमा पृथ्वीको विकल्प खोज्ने दिशामा महत्वपूर्ण खुडकिलो उकलिने छ मानव सभ्यताले।