
भक्तपुर – उनले माटोलाई आकार दिन थालेको झण्डै ६ दशक अर्थात ६० वर्ष हुन लाग्यो । भक्तपुरका ७० वर्षे ललित प्रजापतिले माटोलाई गिलो बनाएर फेरि त्यसलाई विभिन्न भाँडा र अरु सामानको आकार दिन थालेको यति लामो समय हुँदा पनि थकाइ लागेको छैन ।
१२/१३ वर्षको हुँदादेखि उनले माटोलाई भाँडाको रुप दिन थालेका हुन् । ७० वर्ष लाग्दा पनि उनले त्यसबाट बिदा लिएका छैनन् ।
माटो र भाँडा बनाउने प्रक्रिया उनको जीवन चक्र बनेको छ । काम गर्दा थकाइ त लाग्छ तर थाके जस्तो कत्ति देखिँदैनन् ललित । उनले बनाएका भाँडाहरुले कति जुनी फेरे होलान् । माटोबाट बनेका कति भाँडा माटोमै मिले पनि । तर उनले माटोसँगको लगाव घटेको छैन ।
उनका ३ छोरा र एक छोरीले पनि यही माटोको भाँडा बनाउने पेशा सिके ।
त्यसैमा लागिरहेका छन् । तर ललित र उनका सन्तानले बनाउने माटोको भाडामा केही फरक भने छ । ललितले अहिले पनि हातैले माटोको भाँडा बनाउँछन् । तर उनका सन्तनले भने मेसिनले माटाका भाडा बनाउँछन् । काम अनुसारकै दाम मिल्ने गरेको उनी बताउँछन् ।
आयबाट खुशी देखिने ललित भन्छन्, ‘जति मैले काम गर्ने सक्छु, कमाइ त्यहि अनुसार राम्रो हुने हो ।’ यसरी नै माटोको भाँडा बनाएर परिवारको खर्च वर्षौँदेखि धानिँदै आएको उनी बताउँछन् ।
माटोको भाडा बनाएर उनले मात्र होइन उनका सन्तानले पनि आफ्नो खर्च धानेका छन् । ललितले जब भाँडा बनाउन सुरु गर्छन् त्यो गल्लीमा हिँड्ने नेपालीदेखि विदेशी पर्यटक पनि एक छिन उनलाई र उनको कामलाई हेर्ने गर्छन् ।
काठमाडौँ, पाटन, भक्तपुर लगायतको ठाउँमा आफूले माटाको भाँडा बेन्चे गरेको उनले बताए । विदेशमा भने आफूले नपठाएको तर आफूबाट किन्ने पसलेले के गर्छन् उनलाई थाहा छैन । उनले माटाको कलश, खुत्रिके लगायतका साम्रागी बनाउने गरेका छन् ।
जानेदेखि माटोसँग रमाएकाले माटोमा मिल्ने बेलासम्म पनि यसैमा रमाउने मन छ भक्तपुरका ललितलाई ।