
जनकपुरधाम- प्रदेश २ सरकारले गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
आईतवार बसेको मन्त्री परिषदको बैठकले गणतन्त्र दिवसलाई भव्यताका साथ मनाउन मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा २१ सदस्यीय मुल समारोह समिति समेत गठन गरिएको छ।
मुख्यमन्त्री राउतको संयोजकत्वमा गठित समितिमा मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेश प्रमुख सचिव सहितका सचिवहरु, नेपाली सेनाका उपरथी र नेपाल प्रहरीका डिआइजी रहेका छन।
गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते विहान ६:३० बजे जानकी मन्दिरमा सरसफाई गर्ने र त्यसको समायोजन समाजिक विकास मन्त्रालयले गर्ने निर्णय गरेको छ । यस्तै, जेठ १५ गते विहान प्रभात फेरी गर्ने निर्णय समेत गरिएको छ ।
विहान जानकी मन्दिरबाट शुरु हुने प्रभातफेरी रामानन्द चौक, पिडारी चौक हुँदै जचुकाली परिसर हुँदै कवर्ड हलमा सभामा परिणत हुने छ । प्रभातफेरीमा सबै कर्मचारीहरु सहभागी गराउनुका साथै कार्यक्रमको समायोजन गर्ने जिम्मा आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिइएको छ ।
कवर्डहलमा हुने सभामा राष्ट्रगान सहितको कार्यक्रमा राखिएको निमित्त प्रमुख सचिव हरि प्रसाद फुयालले जनाएका छन् ।