दाङ-झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीले उपचार थालेको छ। यहाँको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडा पखालाबाट एक हजारभन्दा बढी मानिस बिरामी परेपछि चिकित्सक सहितको टोली गाउँ पसेको हो।
नेपाली सेना, सरकारी अस्पतालका चिकित्सक प्रभावित क्षेत्रमा औषधि र खानेपानी बोकेर पुगेका हुन्। शनिबार बाट फैलिएको पखाला नियन्त्रण हुन सकेको छैन। गाउँपालिकाका दुई वडामा फैलिएको पखला नियन्त्रणको प्रयास भइरहेको छ।
हालसम्म एक हजार एक सय बिरामी स्वास्थ्य संस्थामा उपचारका लागि आएका छन्। शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र ४ का विभिन्न बस्तीहरुमा फैलिएको पखलाका कारण एक हजार एक सय प्रभावित भएका छन्।
पखलाका बिरामीहरुको शान्तिनगरको चिराघाट स्वास्थ्य चौकी, तुलसीपुरमा रहेका राप्ती अञ्चल अस्पताल, राप्ती लाइफ केयर, सिटी हस्पिटलमा उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए। ‘बिरामीहरुको उपचार भैरहेको छ’, उनले भने– ‘पानी उमालेर मात्रै खान भनेका छौं।’
पानीमा रहेको दुषित पदार्थका कारण पखला फैलिइएको जनाइएको छ। पखलाका तीन जना गम्भीर बिरामीहरुको नेपालगञ्ज उपचारका लागि रिफर गरिएको छ। चिराघाटमा राप्ती अञ्चल अस्पताल र नेपाली सेनाका गरी ६ जना डाक्टर खटिएका छन् भने त्यत्तिकै मात्रामा स्वास्थ्यकर्मी खटिएका छन्।
बिरामीहरुको निःशुल्क उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन्। यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय दाङले पखलाको प्रकोप फैलिएको शान्तिनगरलाई मध्यनजर गर्दै थप औषधीको व्यवस्थापन गरिएको जनाएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोखरेलले औषधिको अभाव हुन नदिन क्षेत्र र केन्द्रबाट औषधीको ब्यबस्थापन गरिएको जानकारी दिए।
बिरामीको निःशुल्क उपचारः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिनगरमा फैलिएको पखला नियन्त्रणका लागि मातहतका निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन दिएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको प्रतिनिधि एवं राष्ट्रियसभाको संयुक्त सदनमा जवाफ दिँदै पखाला नियन्त्रण तथा विरामीको उपचारका लागि ब्यबस्थापन गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले निःशुल्क रुपमा उपचार गर्न पनि निर्देशन दिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































