काठमाडौँ – विश्व फुटबलको महाकुम्भ मेलाको रुपमा हेरिने विश्वकप फुटबल सुरु हुन अब १७ दिन मात्रै बाँकी छ । विश्वकप फुटबल २०१८ रुसमा हुने भए पनि यसको ‘फिवर’ भने विश्वभर फैलिएको छ ।
नेपालमा पनि विश्वकपको रौनक देखिन थालिसकेको छ । चाहे त्यो सडकमा हिँड्दा होस् वा सामाजिक सञ्जालका भित्ताहरु सबै तिर विश्वकपको उत्साह देखिन्छ । त्यसको प्रमाण हो विभिन्न देशको जर्सीमा सजिएका मान्छे र जर्सीको व्यापार ।
चिया पसलदेखि कलेजसम्म घरदेखि अफिससम्म यतिबेला चर्चा विश्वकपकै छ । कुन टिमले जित्छदेखि कुनले हार्नु पर्छ भनेर बहस चलिरहेको छ । यससँगै खेल हेर्दा लाउनका लागि आफ्नो मन पर्ने टिमको जर्सी किन्नेहरुको चहलपहल पनि काठमाडौंमा बढेको छ ।
भद्रकालीको खेलकुद सामग्री पसलमा डिजाइनर तथा म्यानेजमेटको पाटो समाल्दै आएका गोपाल कार्की भनछन्, ‘अब जर्सी बिक्ने क्रम बढेको छ । खुद्र्रासँगै होलसेल समेत बेच्ने गरेका छौँ ।’ तीन प्रकारका गुणस्तरको जर्सी आफूहरुले बेच्ने गरेको उनी बताउँछन् । अब अर्को हप्तादेखि भिड झन बढ्ने उनको भनाई छ ।
यसरी जर्सी किन्न आउनेहरुमा सबै प्रकारमा ग्राहकहरु रहेका छन् । बच्चा, युवा, अधबैँसेसम्म सबै प्रकारका ग्राहकहरु आउने गरेको न्यूरोडमा ३० वर्ष देखि खेदकुदको सामान बेच्दै आएका व्यवसायी प्रकाश श्रेष्ठले बताए । उनले भने, ‘३० वर्ष अगाडि हामीले जर्सी बेच्दा ग्राहकले रहरले मात्र लग्ने गरेको तर अहिले लोगोदेखि हरेक कुरा जस्तोको त्यस्तै खोज्ने गरेको बताए ।
छोरा, बुहारी र नातिनीका लागि जर्सी खोज्दै पसलमा पुगेकी आशा दहालले तीनैजना विदेशमा रहेकाले जर्सी उपहार लग्दिन लागेको बताइन् । त्यस्तै झापाका शंकर आर्चाय इन्जिनियर पढ्दै गरेका युवा हुन् । उनी ब्राजिलको जर्सी खोज्दै पसलमा पुगेका थिए ।