
काठमाडौँ- तपाईँले पतञ्जलीका कुन-कुन सामान प्रयोग गर्नुहुन्छ ? साबुन, तेल, मञ्जन,पिठो आदि आदि। तर अब त्यति मात्र होइन, भारतीय योग गुरु बाबा रामदेवले टेलिकम क्षेत्रमा हात हालेर आफ्नै ब्राण्डको सीम कार्ड सेवा आरम्भ गरेका छन्।
सार्वजनिक क्षेत्रको टेलिकम कम्पनी भारतीय सञ्चार लिमिटेड (बीएसएनएल)सँग सहकार्य गरेर पतञ्जलीले पतञ्जली सीमकार्ड सार्वजनिक गरेका हुन्। उक्त सिमकार्डलाई ‘स्वदेशी समृद्धिको सीमकार्ड’ नाम दिएका छन्।
सीमकार्ड लिनेलाई मेडिकल र जीवन बीमा
पतञ्जलीको उक्त सीमकार्ड लिने ग्राहकलाई प्रत्येक दिन दुई जीबी डाटाका साथसाथै जीवन बीमा तथा इन्स्योरेन्स समेत गरिदिने कम्पनीले जनाएको छ। यस्तै सीम कार्ड प्रयोग गर्ने सबैलाई २ लाख ५० हजार बराबरको मेडिकल बीमा तथा ५ लाख बराबरको जीवन बीमा उपलब्ध गराइने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। तर उक्त बीमाको रकम भने सडक दुर्घटनामा मात्रै पाउन सकिने प्रावधान पतञ्जली टेलिकम कम्पनीले जनाएको छ।
पहिला कर्मचारीलाई अनि मात्र सर्वसाधारणलाई
बीएसएनएलसँग मिलेर ल्याएको पतञ्जलीको उक्त सीमकार्ड पहिला पतञ्जलीमा कार्यरत कर्मचारीहरुलाई वितरण गरिनेछ भने पछि मात्रै सर्वसाधारणका लागि खुल्ला गरिनेछ।
यसका साथै सीम कार्ड खरिद गर्ने सबैलाई पतञ्जलीको सबै उत्पादनमा १० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ।
कपडा पनि बेच्ने, पाँच हजार करोडको लक्ष्य
यता, बाबा रामदेवको प्रवक्ता एस के तिजारावालाका अनुसार स्वदेशी कपडा समेत पतञ्जलीले बेच्ने योजना बनाइरहेको छ। उक्त कपडाको पसलमा बालबालिका, महिला तथा पुरुषको लागि सबै सामान उपलब्ध हुनेछ।
कम्पनीले पहिलो वर्षमा बिक्रीको लागि पाँच हजार करोडको लक्ष्य राखेको छ। तिजारावालाले भनेका छन्, ‘कम्पनीले सबैभन्दा पहिला हातले बनाएको साबुन ल्याउनेछ, त्यसपछि मेसिनले बुनेको कपडा ल्याउनेछ जसमा डेनिमबाट बनेको कपडा समेत समावेश गर्नेछौ।’
परिधान हुनेछ नयाँ स्टोरको नाम
त्यस्तै प्रवक्ता तिजारावालाका अनुसार पतञ्जलीको कपडा स्टोरको नाम ‘परिधान’ राखिने छ। सुरुवाती चरणमा करीब २५० स्टोर खोलिनेछ भने यसपछि विस्तारै अरु शाखाहरु विस्तार गरिनेछ। पतञ्जलीको कपडा विग मार्केटसहित अन्य देशमा समेत रिटेल आउटलेटका साथ पठाइनेछ।
विरामीलाई ध्यानमा राखेर कपडा बनाइने
बाबा रामदेवका अनुसार विदेशी कम्पनीलाई भारतले विस्थापित गरेर हटाउने अभियान अन्तर्गत यो सब काम गर्नु परेको छ। पतंजलीको उत्पादन सबैलाई बनाउनु परेको भन्दै यसलाई प्रत्येक भारतीयले आफ्नो बनाउन सक्नु पर्ने बताए।
फेसबुक, गूगलसँग पनि करार
पतंजलीको उत्पादनलाई विश्वभरमा प्रचारप्रसार गर्नको लागि कम्पनीले फेसबुक, गूगलसँग पनि करार सम्झौता गरेको छ। जसबाट मानिसले अनलाइन मार्फत पनि विश्वभर अर्डर गरेर पतंजलीका सामग्रीहरु सहजै रुपमा किन्न सक्नेछन्।