
काठमाडौँ – प्रि–मनसुनको समय भएकाले पानीजन्य सुरुवा रोगको जोखिम अहिले बढ्दै गएको डाक्टरले बताएका छन् ।
विशेष गरी झाडापखाला, टाइफाइट र जण्डिस जस्ता संक्रामक रोगको जोखिम अहिले बढी रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।
अहिले टेकुमा रहेको सरुवा रोग अस्पतलामा झाडापखालासहितका रोगका बिरामीको संख्या बढ्न थालेको छ । यस्तै टाइफाइट र जण्डिससहितका रोगका बिरामीको संख्या पनि बढ्न थालेको छ ।
पानीजन्य रोगको संक्रमण फैलनबाट जोगिनका लागि विशेष गरी आफ्नो दैनिकी र रहनसहनलाई ख्याल गर्नु पर्ने र खानपानमा विशेष सावधानी अपनाउनु पर्ने डा. पुनले बताएका छन् । उनका अनुसार अहिले पानीको शुद्धतामा निकै समस्या देखिएकाले त्यसमै विशेष ख्याल गर्नु पर्ने देखिएको छ ।
उनले भने, ‘यो समयमा पानीजन्य रोगको जोखिम बढी हुन्छ । विशेष गरी दूषित पानीकै कारण झाडापखाला, टाइफाइट, जण्डिससहितका रोगको प्रकोप फैलिन सक्छ । यसले गर्दा पानीको शुद्धतामा विशेष ख्याल गर्नु पर्छ र खाने कुरामा पनि सावधानी अपनाउनु पर्ने हुन्छ ।’
पानीको शुद्धताको कुरा गर्दा घर बाहिर निस्कँदा मात्रै नभएर घर भित्र पनि विशेष सावधानी अपनाउनु पर्ने उनले बताए ।
‘प्रायः गरी हामी घर बाहिर निस्कँदा मात्रै पानीको शुद्धतामा चनाखो भएका हुन्छौँ । तर घरभित्र हामीले प्रयोग गर्ने पानीको शुद्धतामा त्यति ध्यान पुगेको जस्तो लाग्दैन’, डा. पुनले भने, ‘घरमा प्रयोग गर्ने पानी जारकै भए पनि शुद्ध नहुन सक्छ, त्यसैले विशेष ध्यान दिनु आवश्यक छ । घरभित्रको पानी त हो नि भनेर विश्वास गर्दा समस्या आउन सक्छ ।’
मौसमी रोगको संक्रम धेरै हदसम्म हाम्रै रहनसहनका कारण निर्धारित हुने भएकाले आफूले अलिकति ध्यान दिएमा धेरै रोगको जोखिमबाट बच्न सकिने उनको सुझाव छ ।