काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले सरकारले नयाँभन्दा पनि पुराना आयोजनालाई प्राथमिकता दिँदै बजेट ल्याएको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले भने, ‘अहिले निर्माणमा क्रममा रहेका आयोजना समयमै सम्पन्न गर्ने चुनौती छ, नयाँनयाँ आयोजना मात्र बनाउनुभन्दा निर्माणका क्रममा रहेका आयोजना समयमै सम्पन्न गर्ने हाम्रो उद्देश्य हो।’
‘निर्माणाधीन रहेका पुलमा धेरै दायित्व छ, खानेपानीमा पहुँच पुर्याउनु छ, धेरै सडक आयोजना निर्माणका क्रममा छन्। सरकारले सम्पूर्ण आयोजना समयमै सम्पन्न गर्छ,’ खतिवडाले भने।
सरकार निजी क्षेत्र मैत्री रहेको बताउँदै निजी क्षेत्र बलियो भएको र उनीहरुले काम गरिरहेको क्षेत्रमा सरकारले लगानी नगर्ने बताए। खतिवडाले भने, ‘हामीलाई समाज र वातावरणलाई सहयोग गर्ने निजी क्षेत्र चाहिएको छ।’
स्थायी प्रकृतिको बजार र वित्तीय स्थायीत्वको पक्षमा सरकार रहेको भन्दै वित्तीय अनुशासन कायम राख्न प्रतिबद्ध रहेको उनले बताए।
घोषणापत्रमा लेखिएको ५ हजार रुपैयाँ भत्ताको विषय स्मरण रहेको भन्दै घोषणापत्र ५ वर्षका लागि बनाइएको बताए। उनले भने, ‘५ वर्षमा दोब्बर गर्ने भनेका थियौं। र गर्छौं।’ हाल आवास योजना र स्वास्थ्य बिमा ल्याएका छौं। सामाजिक सुरक्षा भत्ता दिएर मात्रै हुँदैन भन्दै आएका थियौं र हामी योगदानमा आधारित समाजिक सुरक्षा लागू गर्नेछौं।
कृषि क्षेत्रमा हुने आर्थिक वृद्धिले ८ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फितिको लक्ष्य पुरा हुने खतिवडाको भनाइ थियो। कृषि उत्पादनमा हुने बृद्धिले मूल्य वृद्धि नियन्त्रण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा पत्रकारले टेक्नोक्र्याटले ल्याएको बजेट भनी टिप्पणी गर्दा खतिवडाले प्रतिकार गर्दै आफू अहिले नेकपाको केन्द्रीय सदस्य रहेकाले पूर्ण रुपमा राजनीतिज्ञ भएको र राजनीतिज्ञकै रुपमा बजेट ल्याएको बताए।
प्रतिस्पर्धा गर्दै ठूला आयोजना बनाउने भन्दै पश्चिम सेती आफैं बनाउने बताएका खतिवडाले बुढी गण्डकीका बिषयमा स्पष्ट जवाफ दिएनन्।
वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने बताएका खतिवडाले निर्यातमूलक उद्योग स्थापनाका कोही लगानीकर्ता आए रेड कार्पेटले स्वागत गर्ने उनले बताए।
युवालाई प्रमाणपत्र धितो राख्दै दिइने कर्जा बजारबाटै दिइने र त्यसका लागि ऋण दिनेको सुरक्षण बिमा गरिने खतिवडाले जानकारी दिए । ‘कर्जा सुरक्षण कोष छ, बिमा कम्पनी छन् त्यसलाई उपयोग गर्नु पर्छ। आयकर भन्दा मुल्य अभिवृद्धि करमा जोड दियौं तर मुल्य अभिवृद्धि कर छली गर्न सजिलो भयो,’ खतिवडाले भने, ‘अब कर प्रशासनलाई चुस्त बनाउने र प्रविधिको प्रयोग गर्दै नियमन गर्छौं।’

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































