
विराटनगर- नेपाल सरकारले ल्याएको बजेट संघीयताको मर्म विपरित भएको प्रदेश नम्बर एकका आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आरोप लगाएका छन्।
बजेटबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै मन्त्री आङ्बोले भने, ‘यसपटकको बजेट वितरणमुखी मात्र भएको छ।’
प्रदेशलाई संकुचित तरिकाले सानो आयोजनामा सीमित बनाइएको बजेट हाल कनिका छरेझैं रहेको उनको भनाइ छ। यो बजेट परिणाममूखी हुनुपर्नेमा वितरणमुखी भएको मन्त्री आङ्बोको बुझाइ छ।
मन्त्री आङ्बोले भने, ‘बजेटले सकारात्मक गति लिने जस्तो देखिए पनि, सिंहदरबारको अधिकार बालुवाटारमा सार्न खोजिएको जस्तो रहेको छ।
बजेटले स्थानीय तहलाई उपेक्षा गरेको बताएका मन्त्री आङ्बोले बजेटका केही पक्ष कमजोर समेत रहेको उल्लेख गरे।
बजेट परम्परागत ढंगले नै आएको उल्लेख गर्दै उनले भने, ‘समृद्धिको सपनालाई पुरा गर्ने खालको बजेट देखिएन।’
यसले निजी क्षेत्र र सार्वजनिक निजी साझेदारी क्षेत्रलाई समेट्न नसकेको उनले बताए।