
जनकपुरधाम– प्रदेश २ का भौतिक तथा पूर्वाधारमन्त्री जितेन्द्र सोनलले संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपनि प्रदेश सरकारमा कुनै असर नपर्ने दाबी गरेका छन् ।
उनले केन्द्रमा जस्तोसुकै राजनीतिक उथल पुथल भएपनि प्रदेश २ मा जनताले फोरम र राजपालाई सरकार चलाउन म्यान्डेट दिएकाले प्रदेश सरकारमा केही असर नपर्ने बताएका छन् ।
सोनलले भने, ‘केन्द्र सरकारमा जस्तोसुकै उथल पुथल भएपनि प्रदेशमा हामी गठबन्धनलाई पुरै समर्थन र निरन्तरर्ता दिन्छौँ ।’ सोमबार प्रदेश २ को प्रदेशसभा बैठकमा बोल्दै राजपा संसदीय दलका नेता समेत रहेका मन्त्री सोनलले प्रदेश सरकारको कामकाजबाट प्रदेश, देश र भारत समेत गौरवान्वित भएको दावी समेत गरेका छन् ।
उनले प्रदेश सरकार गठन भएदेखी नै विभिन्न चुनौतीहरु सामना गर्दै आएको बताएका छन् । मन्त्री सोनलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा भ्रष्टार भएको विभिन्न सञ्चार माध्यमहरुबाट समाचार प्रकाशित भएपनि त्यसमा कुनै सत्यता नरहेको उल्लेख गरे ।
‘मोदीको जनकपुर भ्रमणको क्रममा व्यवस्थापनमा कुनै भ्रष्टाचार भएको छैन’ पत्रकारहरुलाई चुनौती दिँदै उनले भने, ‘हामी पत्रकारलाई सम्मान गर्छौँ । तर मोदी भ्रमणको क्रममा कुनै भ्रष्टचार भएको छ भने प्रमाणित गर्न चुनौती पनि दिन्छौँ ।’ मन्त्री सोनलले प्रदेश सरकार र मन्त्रीमाथी दाग लाग्न नदिने प्रतिबद्धता समेत जनाएका छन् ।