
‘हु ह्याज ए बिगनिङ मस्ट ह्याभ एन इन्ड’ सत्य वा असत्यको ‘अब्स्ट्रयाक’ चिन्तन चक्रमा नअल्झी यस वाक्यलाई सोझै मनन गर्ने हो भने शायदै कोही मानिसले यस अभिव्यक्तिमा आपत्ति गर्छ होला।
संसारमा सबै थोक मरणधर्मा छ, ‘ओह नो’ म विज्ञानको भाषाबाट कतै अन्यत्र उक्लिएँ। सुधार गर्छु, संसारमा सबैथोक परिवर्तनशील छ, संसार स्वयं पनि परिवर्तनशील छ। परिवर्तन नै यसको ‘मेट्रिक्स’ हो।
मानिसभित्र कतै गहिरो अन्तर्मनमा अमर हुने चाहना विराजमान छ। यो अमरताको मापदण्ड के हो? कसको सदृश्य, ओहो, ‘अगेन सरी’ कसको सापेक्ष? नेपाल र नेपालीकै बिम्ब छाडेर म अराष्ट्रिय किन बनौं?
रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगत सरी यो, बल्दो यो शान हाम्रो। जबसम्म चन्द्र र सूर्य आकाशमा रहन्छन्, तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो।’
अमरताको मापदण्ड चन्द्र र सूर्यको सापेक्ष हुन पुग्यो। यी दुवै खगोलीय पिण्डको पनि अवसान हुन्छ। चन्द्रको त उत्पत्ति नै सौर्यमण्डल पश्चात झण्डै पाँच करोड वर्षपछि भएको थियो। अहिले पृथ्वीबाट तीन लाख ८४ हजार चार सय किलोमिटर पर रहेर २७.३ दिनमा यसको परिक्रमा गर्छ। शायद हामी पृथ्वीवासीको व्यवहारले होला, शनैः शनैः पृथ्वीबाट टाढा हुँदै गइरहेको छ चन्द्र प्रतिवर्ष ३.८ सेन्टिमिटर।
सूर्य रहेसम्म हाम्रो रगत रहिरहन्छ भन्नु बिल्कुलै अवैज्ञानिक ‘स्टेटमेन्ट’ ‘हो। जम्मा आठ अर्ब वर्षको समयसीमा (पृथ्वीको समय) पाएको सूर्यले आफ्नो आधाभन्दा बढी अवधि बिताइसकेको छ। अब धेरै भए चार अर्ब वर्ष मात्रै यिनको वर्तमान स्वरुप विद्यमान रहने छ। फेरि यो स्वरुपमा आएकै ‘बिग बैंग’ भएको ४०.५ ‘ग्यालेक्टिक’ वर्षपछि मात्रै हो। ‘बिग बैंग’ ६१ ‘ग्यालेक्टिक’ वर्ष पहिला भएको थियो। भनौं, ‘बिग बैंग’ को झण्डै ९ अर्ब वर्षपछि सूर्यको उत्पत्ति भएको थियो। के सूर्यको वर्तमानस्वरुप रहेसम्म हामी लगायत पृथ्वीको अस्तित्व रहिरहने छ?
असम्भव! सूर्यको अन्त हुनुभन्दा धेरै पहिला नै पृथ्वीको जीवन सूर्यकै कारणले समाप्त हुन्छ र पछि पृथ्वीलगायत समस्त सौर्यमण्डल सूर्यको भोजन बन्न पुग्छ।
सूर्य रहेसम्म हाम्रो रगत रातो रहन्न, गीतमा भनिएझैं हाम्रो शान केही अर्ब वर्ष पहिला नै लोप हुनेछ।
सूर्यको सापेक्ष अमरताको ख्याल हद भए एक/डेढ वर्ष मात्रै हो। पृथ्वीलगायत हामीलाई नष्ट गरेर पनि सूर्य अढाइ तीन अर्ब वर्ष रहिरहने छ।
के सूर्यभन्दा पनि बढी समय अमर रहिरहने विचार आयो तपाईँमा?
‘गुड!’ राम्रो विचार हो, आशा नै जीवन हो। तर, यो आशालाई कवितामा भए पनि मूर्त बनाउन कविको कल्पनाले भ्याउन्न। विश्वका समस्त कविसँग मौखिक र लिखित दुवै क्षमायाचना गर्दै वैज्ञानिक कल्पना गरौं।
यहाँनेर बच्चा र कच्चा वैज्ञानिक अवधारणा राखेर रमाइरहेका मनुवाहरुलाई पनि किन बाँकी राख्ने? चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाउने ख्याल पालिरहेका जन हो, त्यहाँ के फेरि लाटो बहिरो भएर बस्ने? सधैँ ‘स्पेशसुट’ भिरेर बाँच्ने? फेरि सौर्य मण्डलका समस्त सदस्य पिण्डहरुको आयु पनि पृथ्वीसँगै समाप्त हुन्छ। यस्तो मूर्खतापूर्ण विकल्पलाई रोज्नु के न्यायसंगत हुन्छ?
दिगो विकल्प खोज्ने हो भने त सुदूर कतै हाम्रै आकाशगंगामा वा यसै आकाशगंगाको ५०–५४ वटा रहेका ‘लोकल ग्रुपका’ आकाशगंगामा अथवा अझै सुदूरको कुनै आकाशगंगामा खोज्नुपर्छ। अरबौं आकाशगंगा छन्, ‘च्वाइस’ गर्न। कुनै आकाशगंगामा भर्खरै स्वरुपमा आएको सूर्यको ‘गोल्डिलक’ अथवा ‘ह्याबीटेबल जोन’ उत्तम विकल्प हुन्छ। मानौं, त्यो सूर्य बनेको एक अर्ब वर्ष भएको छ भने सात अर्ब वर्ष अरु रहन्छ। यसमा अन्तिमका तीन अर्ब वर्ष घटाइदिँदा पनि चार अर्ब वर्ष बाँच्न सकिन्छ।
र, जब हामी खोजीमा नै छौं भने पृथ्वीको सूर्यजस्तो खन्चुवा सूर्य नरोजौं। कम खाने (हाइड्रोजन दहन) खोज्यौँ भने उसको आयु आठ अर्ब वर्षभन्दा पनि बढी हुनसक्छ। अब एक सेकेण्डमै ६ करोड टन ‘हाइड्रोजन’ दहन गरेर ‘हिलियिम’ मा रुपान्तरण गर्ने खुराकी (प्रक्रिया) बढी भएन र?
यो भन्दा कम्ती आहारा (न्युक्लियर फ्युजन) भएको सूर्यको ‘गोल्डिलाक जोन’ मा रहेको कुनै ग्रहमा बसाइ सराइको कार्यक्रम ‘प्लान’ गर्नु उपयुक्त होला कि?
काठमाडौंमा डेरामा बस्ने मान्छेलाई थाहा छ, डेरा सराइ कत्तिको झण्झटिलो काम हो। अब सोच्नोस्, पृथ्वीबाट कुनै निर्जन ग्रहमा बसाइँसराइ गर्नु कति गाह्रो होला।
काठमाडौका घरधनी पाठकले समस्या बुझ्नै सक्दैनन्। त डेरावाल पाठकगण, समस्याको निदान जरैदेखि गरौं। पूरै पृथ्वीलाई ‘आयो टप्प टिप्यो’ भनेझैं (उखेल्नु पर्दैन, टप्प टिपेर) लगेर कुनै यो भन्दा ठूलो ग्रहमा राखिदिउँ। बाटोभरि के खाउँला, कसरी दिन बिताउँला, बिरामी भए के गर्ने आदि कुनै चिन्तै लिनु पर्दैन। अब त्यत्रो ग्रह (पृथ्वी अट्ने) त्यहाँ छैन भने त्यहीँ सूर्यको ‘ह्याबिटेबल जोन’ मा पृथ्वीलाई स्थापित गर्दा पनि हुन्छ।
यस ‘आइडिया’ मा सबै कुरा पृथ्वीका माफिक नै रहने छन्, किनकि हामी त पृथ्वीमै हुने छौं। पृथ्वीको आकाशीय स्थिति मात्रै परिवर्तन हुनेछ। हाम्रो सगरमाथा हामीसँगै रहने छ, तर दुःखको कुरा हाम्रा नेता पनि हामीसँगै रहने छन्।
अब गएर हाम्रा कविको चन्द्र, सूर्य रहेसम्म शान पनि रहिरहन्छ। मैले अहिलेको सूर्यको कुरा गरेका हो, कविको आशय पनि यही नै हो।
नेपाली रगतले ‘ओह नो’ फेरि ‘मिस्टेक’ भयो ‘करेक्सन’ गर्छु, रगत न पृथ्वीभरिकै मानिसको एउटै हो। ‘रावणले सेतो बगाउने चेष्टा गरे पनि सफल हुन सकेन’ भन्ने के चाहेको हो भने नेपाल देश भनिने भूभागभित्र बस्ने मानिसले आफ्नो झण्डामा अंकित चन्द्रसूर्यको अवसान हेर्न पाउनेछन्। झण्डामा चन्द्र सूर्य रहिरहन्छ तर आकाशीय संरचनामा भने रहने छैनन्।
यस उपायले आउँदो ४/६ अर्ब वर्षलाई कन्टिन्युटी’ हुन्छ। त के हामी अमर हुन्छौं? अमरता र अनन्तताका लागि ४/६ अर्ब वर्ष पनि त सीमित घेरा न हो।
आकाशगंगाहरुको निर्माण पनि त ‘बिग बैंग’ को ७ ‘ग्यालेक्टिक’ वर्षपछि भएको हो। ‘बिग बैंग’ ले त आकाश बनायो, त्यो आकाशमा आकाशगंगाहरु हुर्किन डेढदेखि पौने दुई खर्ब वर्षको समय लाग्यो।
आकाशगंगा स्वतन्त्र अस्तित्व भएको जीवन्त संरचना होइन। आकाशमा रहेका खरबौं खरब ताराहरुको अरबौंको झुप्पाले ओगट्ने क्षेत्रले आकाशमा एउटा संरचना बनाउँछ। त्यही संरचना नै आकाशगंगा कहलिन्छ।
यो संरचना पनि गतिशील छ। ब्रहमाण्डको विस्तार भए जसरी यी पनि एक अर्काबाट टाढा गइरहेका छन्। तर, पर्खिनुस्, अन्य आकाशगंगा एकअर्काबाट टाढा गइरहेको भए पनि ‘मिल्की वे’ र ‘एण्ड्रोमेडा’ एक अर्काको नजिक आइरहेका छन्। ‘बाल्टिमोर’ मा रहेको ‘स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युट’ का खगोलशास्त्री भ्यान डेर मरेलले केही पहिला ‘नासा’मा आयोजित ‘प्रेस कन्फरेन्समा भने, ‘हब्बल स्पेस टेलिस्कोपबाट प्राप्त ‘डाटा’ अनुसार अबको चार अर्ब वर्षपछि यी दुवै आकाशगंगा ठोक्किएर एकापसमा संयुक्त हुन्छन्। यसै प्रक्रियामा अनेकौं तारा नष्ट हुन्छन्, अनेकौं नयाँ जन्मिन्छन्। दुवै आकाशगंगा संयुक्त भएर ‘मिल्किमेडा’ बन्न दुई अर्ब वर्ष लाग्ने भ्यान डेरको भनाइ छ।
आकाश ६१ ‘ग्यालेक्टिकल’ वर्ष पहिला ‘बिग बैंग’ हुँदा उत्पत्ति भएको थियो। १३/१४ अर्ब वर्ष पहिला। अहिले यसको ज्ञात विस्तार ९३ प्रकाश वर्ष छ। तपाईँले रुचिपूर्वक पढिराख्नु भएको छ भने तपाईँको मस्तिष्कमा यहाँ एउटा प्रश्न उठ्नु पर्ने हो। उठ्यो, उठेन, तपाईँ नै जान्नोस्। प्रश्न के भने आधुनिक विज्ञानले भन्छ, ‘प्रकाश वर्षभन्दा तीव्र गति केही हुनै सक्दैन।’ त्यसो भए, १३/१४ अर्ब वर्षमा ९३ अर्ब प्रकाश वर्षको विस्तार कसरी भयो?
आइन्स्टाइनको थ्योरी भन्छ, ‘ब्रहमाण्डमा प्रकाशको गतिभन्दा तीव्र केही हुन सक्दैन, यो थ्योरी आजको मितिसम्म ‘करेक्ट’छ, तर यो नियम आकाशमाथि लागू हुन्न। ‘बिग बैंग’ हुँदा आकाशको कति विस्तार भयो थाहा नभए पनि अहिले आकाश कुन गतिले विस्तार भइरहेको छ? ज्ञात भइसकेको छ र यसको गति निरन्तर बढ्दै छ।
आकाशको विस्तारका कारण आकाशगंगा बीचको दूरी पनि बढ्दै गइरहेको छ। भविष्यमा यो दूरी यत्ति बढ्ने छ कि खगोलशास्त्रीले ‘मिल्की वे’ बाहेकका आकाशगंगा हेर्न पनि सक्दैनन्। त्यो बेलामा वैज्ञानिकलाई ‘बिग बैंग’ भएको प्रमाण पनि उपलब्ध हुने छैन।

ज्ञान मित्र।
अन्ततः आकाशगंगाहरुमा भएका आदि यावत् पिण्डहरु ‘ब्लेक होल’ मा परी आकाशलाई वास्तबिक अर्थमा आकाशको सार्थक उपमा प्रदान गर्नेछन्। कल्पना गर्नुस्, केही नभएको आकाश…. तर त्यो केही नदेखिएको आकाशमा ‘ब्लैक होल’ हुने छन्। महान वैज्ञानिक स्टिफन हकिन्सका अनुसार प्रकाशसम्म ठोक्किएर बाहिर नआए पनि एक किसिमको वाष्फीकरणले अन्ततः एक दिन (खरबौं वर्षमा) ‘ब्लैक होल’ पनि ‘डार्क इनर्जी’ मा भस्मीभूत हुने छन् र ‘डार्क इनर्जी’ मा फेरि कुनै अर्को ‘बिग बैंग’ को पखाइमा हिन्दू धर्मग्रन्थको अवधारणा अनुसारको ब्रहमको रात्रिकालीन विश्राममा रहने छ। यो नै ‘वन हु हैज अ बिगनिग मस्ट ह्याभ एन इन्ड’ वाक्यको सार्थकता हुने छ।
म विज्ञानको सामान्य विद्यार्थी विज्ञानलाई के कति नै बुझ्न सक्छु। मलाई थाहा छ मेरा पाठकगण अधिकांश प्रबुद्ध छन्। तिनै पाठकलाई एउटा प्रश्न गरी समापन गर्छु। मानौं, मैले तपाईँहरुलाई अनन्त विस्तारसम्म हेर्ने क्षमताको एउटा ‘टेलिस्कोप’ दिएँ भने यो ९३ अर्ब प्रकाश वर्षको विस्तारमा तपाईँ कति टाढासम्म हेर्न सक्नुहुन्छ? र समयको पछाडि फर्की हेर्दा कहाँसम्म कति पछाडिसम्म हेर्न सक्नुहुन्छ? यस प्रश्नको कुनै पाठकले लेख लेखेर नै यस पत्रिकामा पठाए राम्रो नै हुन्थ्यो।