
पोखरा– ‘आर्थिक सम्वृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने नाराका साथ बुधबारदेखि पोखरामा महिला उद्यमी मेला–२०७५ सुरु भएको छ । पोखरा उद्योग बाणिज्य संघ महिला उद्यम विकास समितिद्धारा आयोजित मेलाको प्रदेश नम्बर ४ की कार्यबाहक सभामुख सृजना शर्माले उद्घाटन गरिन् ।
कार्यबाहक सभामुख शर्माले आर्थिक अधिकार नभएसम्म महिला सशक्त रुपमा अघि बढ्न नसक्ने भन्दै हरेक महिला आत्मनिर्भर बन्नु पर्ने धारणा राखिन् । उनले पछिल्लो राजनीतिक अवस्थाले महिलालाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरित गरीरहेको भन्दै महिलाको सामाजिक, आर्थिक, राजनैतिक, साँस्कृतिक अधिकार प्राप्तिले सशक्तिकरणमा जोड दिने बताइन् ।
शर्माले राष्ट्रिय महिला उद्यमीको मेलाले उद्यमशिलतामा लाग्न महिलालाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । महिलाहरुद्धारा उत्पादित बस्तुहरुको बजारीकरण, सहुलियत दरमा ऋण प्रदान तथा साना उद्योग प्रवद्र्धनको लागि तीनै तहका सरकारले विशेष व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देश विकास र आर्थिक समृद्धि हासिल गर्नकालागि निजी क्षेत्रलाई सँगसँगै लैजानु पर्ने बताए ।
प्रदेश नम्बर ४ का सभासद प्रभा कोइरालाले महिलालाई आर्थिक रुपमा सबल र सक्षम बनाउन परम्परात नभई प्रविधि मैत्री सिप मुलक तालिम र व्यवसायमा जोड दिनु पर्ने बताइन् । अर्का सभासद मीना गुरुङले पछिल्लो समय महिला आर्थिक रुपमा सबल र सक्षम हुँदै गएको भन्दै मेला महोत्सवले महिलालाई उद्यमशीलताको लागि थप प्रेरीत गर्ने बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले प्रदेशलाई सक्षम बनाउन तथा देशको अर्थतन्त्र माथि उकास्नको लागि महिला उद्यमशीलताको आवश्यकता रहेको औंल्याए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले ब्यवसायमा पुरुषहरु स्थापित हुनुमा महिलाहरुको साथ र सहयोग महत्वपूर्ण रहेको भन्दै अब महिलालाई पनि ब्यवसायिक पहिचानका साथ अघि ल्याउन पुरुषले साथ दिनु पर्ने बताए ।संघले महिलालाई उद्यमशीलताको लागि सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य कमला श्रेष्ठले महिला उद्यमशीलताको विकासको वातावरण बनाउन राज्यले प्रोत्साहनको नीति ल्याउनुपर्नेमा जोड दिईन् ।
पोखराको प्रदर्शनी केन्द्रमा ४ दिन सम्म चल्ने मेलामा उद्यमशीलता सम्बन्धमा सेमिनार, निःशुल्क आँखा परीक्षण, पाठेघर र स्तन क्यान्सको परीक्षणलगायतका कार्यक्रमहरु राखिएको पोखरा उद्योग बाणिज्य संघ महिला उद्यमविकास समितिकी अध्यक्ष एवं कार्यक्रम संयोजक सिता बरालले जानकारी दिइन् ।
मेलामा महिलालाई बैकिङ्ग साक्षारता र पहुँचको सम्बन्धमा बैंकर्स रविना देशराज श्रेष्ठले बैंकिङ पहुँच र बैंकिङ साक्षरताबारे अभिमुखिकरण र विभिन्न ब्यवसायमा स्थापित ब्यक्तिहरुले उत्पादित सामानको बजारीकरण र व्यवस्थापनको विषयमा समेत प्रशिक्षण दिनेछन् ।
देशैभरका महिला उद्यमीहरुद्धारा उत्पादित सामानको बिक्री तथा प्रदर्शनीमा करिब ७० वटा स्टलहरु रहेका छन् । स्टलमा महिलाहरुद्धारा संचालित लघु उद्योग, हस्तकला, ढाका कपडा उद्योगबाट उत्पादित खाद्य, घरायसी एवं लत्ताकपडाहरु मेलाको आकर्षण बनेको समिति सदस्य सांग्रिला मरासीनीले जानकारी दिइन् ।