
काठमाडौँ- सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याएका अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्न यस वर्षको ‘आइसिटी अवार्ड–२०१८’ आगामी भदौ १ गते हुने भएको छ।
लिभिङ विथ आइसिटी मिडियाले विभिन्न सात विधामा योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्दै आएको आयोजित पत्रकार सम्मेलनमा मिडियाका निर्देशक राजन लम्सालले जानकारी दिए।
उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकास र प्रवद्र्धनका लागि गरिएको प्रयाससँगै अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड प्रदान गर्न थालिएको बताए।
निर्देशक लम्सालका अनुसार आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्टरप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड विवरण गरिनेछ।
अवार्डका लागि असार १ देखि १६ गतेसम्म अनलाइन आवदेन खुल्ला गरिएको छ। उक्त मिडियाले सन २०१६ देखि प्रत्येक वर्ष अवार्ड वितरण गर्दै आएको हो।