
काठमाडौँ- वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटालाई अन्तिम श्रद्धाञ्जली दिन बाँसबारीस्थित न्यूरो अस्पतालमा देशका प्रतिष्ठित नेताहरुदेखि सर्वसाधारणसम्म पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि डा. देवकोटाको निधनमा समवेदना प्रकट गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा. देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल गई उनकी धर्मपत्नी डा मधु देवकोटा दीक्षित एवं छोरीहरुलाई समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीका तर्फबाट शोक सन्देश दिए।
सन्देशमा राष्ट्रपति भण्डारीले डा.देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै गहिरो दुःख प्रकट गरेकी छिन्।
यस्तै डा. देवकोटाप्रति पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, सभामुख कृष्णबहादुर महरा, नेकपाका प्रवक्ता विष्णु पौडेल, योगेश भट्टराई, बामदेव गौतम लगायत श्रद्धाञ्जलि दिन न्यूरो अस्पताल पुगेका थिए।
यस्तै नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई, माओवादीका मोहन वैद्य किरण, प्रधान सेनापति राजेन्द्र क्षेत्री, प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइराला लगायत उपस्थित थिए।
डा देवकोटाको सोमबार साँझ निधन भएको थियो। उनको शवलाई श्रद्धाञ्जलि प्रकट गर्न अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको थियो।
मंगलबार दिउँसो १ बजेपछि शवयात्रा गरी पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा डा देवकोटाको अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ।
तस्बिरहरु- झरना राई/देश सञ्चार