
काठमाडौँ– नेपाललाई धानमा आत्मानिर्भर बनाउन अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरि) ले सहयोग गर्ने भएको छ । सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रतिष्ठानबीच पाँच वर्षे संयुक्त कार्ययोजनामा कृषि सचिव डा. युवकध्वज जिसी र इरिका महानिर्देशक म्याथ्यु मोलले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार पाँच वर्षे कार्ययोजनामा ७ वटा क्षेत्रमा १६ वटा सम्भावित मुख्य परियोजना छन् । जसले पाँच वर्ष भित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने विस्वास छ ।
इरिले नेपाललाई धानका नयाँ जातहरु, माटोको उर्वराशक्ति कायम गर्न, रोग तथा किराको रोकथाम र धानको उत्पादन बढाउने जस्ता विषयमा सहयोग गर्नेछ । यस्तै सुख्खा र डुवान सहन सक्ने धानका जातहरु विकास गरी नेपाल ल्याई नार्कसँग सहकार्य गरेर नेपाल सरकारको सहयोगमा धानका जातहरु सिफारिस गरी कृषकलाई उपलब्ध गराउने छ । अहिलेसम्म नेपालमा सिफारिस गरेका ८२ धानका जातमध्ये ५० भन्दा बढी जात इरिबाट उपलब्ध भएका हुन् ।
नेपाल सरकार र इरिबीच सन् १९६६ देखि सहकार्य सुरु भएको हो । सन् २००५ मा इरिले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको थियो ।
मन्त्रालय र इरिको अगुवाईमा ‘नेपाल धान कार्यदल’ गठन गरेको छ । जसमा धान अनुसन्धान र विकासमा संलग्न भएका संस्थाहरु नार्क, कृषि विभाग, कृषि र वन विश्वविद्याालय, निजी क्षेत्र लगायतको सहभागिता छ । नेपाल र इरिबीच पहिलो पाँच वर्षे सम्झौता १३ डिसेम्बर २०१० मा र दोस्रो सम्झौता ९ जुन २०१७ मा भएको थियो ।
कार्ययोजनाले नेपालमा धान अनुसन्धान र विकासमा उच्च स्तरको प्रविधि विकसित गरी धानको उत्पादन बढाई खाद्य र पोषण सुरक्षाको उदेश्यलाई पुरा गर्ने कृषि मन्त्री चक्रपाणी खनालले विश्वास व्यक्त गरे । यसले नेपालीको जीवनमा सुधार ल्याई गरिबी निवारणमा सहयोग पु¥याउने भन्दै नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकता दिइएकाले त्यसका लागि कृषि प्रणालीमा सुधार र यान्त्रीकीकरणमा सहयोग पुग्ने मन्त्री खनालले बताए ।