काठमाडौँ – भित्रिएदेखि निष्क्रिय अवस्थामा रहेको मनसुन अब केही सक्रिय हुने संकेत देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय बनाउन महत्वपूर्ण मानिएको पूर्वी वायु केही सक्रिय देखिन थालेकाले अब मनसुन पूर्वबाट मध्य हुँदै पश्चिमतिर पुग्ने संकेत देखिएको तर अहिले नै देशभर मनसुन सक्रिय भने नरहेको मौसमविद सुवास रिमालले बताए ।
उनले भने, ‘सतही रुपमा रहेको पूर्वी वायु अहिले वायुमण्डलको माथिल्लो तहमा पनि देखिन थालेको छ । यसको अर्थ अब मनसुन सक्रिय हुन सक्छ भन्ने हो । अहिले नै देशभर मनसुन सक्रिय भएको छैन । तर वर्षाका गतिविधि भने देशभर देखिन सक्छ ।’
मौसमविद रिमालका अनुसार अबको केही दिनमा मनसुन देशभर सक्रिय हुने सम्भावना देखिएको छ । मंगलबार देशका अधिकांश ठाउँमा सामान्यतया मौसम बदली हुनेछ छ ।
पूर्वदेखि पश्चिमसम्म विभिन्न ठाउँमा छिटफुट तथा मध्यम स्तरको वर्षा हुने सम्भावना पनि रहेको मौसमविद रिमालले जानकारी दिएका छन् ।
मनसुन अहिले नै सक्रिय नभए पनि अब केही दिनमा हुने संकेत मिलेकाले आकाशे पानीको भरमा रोपाइँ गर्ने किसानका लागि खुशीको कुरा रहेको उनको भनाई छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































