
काठमाडौँ – सिँचाईको सुविधा भएका र बीउ तयार भएका क्षेत्रमा यो वर्षको बर्से धानको रोपाइँ सुरु भएको नेपाल कृषि अनुसन्धान परिषद्, नार्कका धानबाली विशेषज्ञले बताएका छन् ।
विशेषगरी पूर्वका क्षेत्रमा रोपाइँ सुरु भएको धानबाली विशेषज्ञ हरिकृष्ण उप्रेतीले जानकारी दिएका छन् । यस्तै कुलो, निजी सिँचाईको व्यवस्था तथा नहर भएका क्षेत्रमा पनि रोपाइँ भइरहेको छ । तर आकाशे पानीको भरपर्नु पर्ने क्षेत्रमा भने अझै रोपाइँ सुरु भएको छैन ।
मौसमविदसँग आफूहरु निरन्तर परामर्शमा रहेको र यो वर्ष पानी राम्रै पर्ने आँकलन गरिएकाले रोपाइँ सबै क्षेत्रमा ढिलो चाँडो हुने देखिएको धानबाली विशेषज्ञ उप्रेतीले बताए ।
जुम्लाको धानमा पहिलो गोडाइ हुने बेला
देशका अधिकांश क्षेत्रमा अहिले रोपाइँ सुरु हुन थालेको छ । कतै ब्याडमा बीउ तयार हुँदैछन् भने कतै तयार भएको बीउ रोप्ने तरखरमा किसान रहेका छन् ।
तर विश्वकै अग्लो ठाउँमा धानबाली हुने जुम्लामा भने झण्डै एक महिना अघि नै रोपाइँ भएको हो । जुम्लाको छुमचौर क्षेत्रमा जेठको मध्य तिर नै रोपाइँ भएको र अबको केही दिनमा पहिलो गोडाइको काम हुने धानबाली विशेषज्ञ उप्रेतीले बताए ।
छुमचौरमा यो वर्ष राम्रोसँग रोपाइँ भएको र अहिले धानबाली राम्रोसँग सरेको खबर आएको उनले बताए । त्यहाँ चन्दननाथ तथा लेकाली जातका धानको रोपाइँ भएको छ ।
बीउमा समस्या कम
यो वर्ष अघिल्ला वर्षको तुलनामा धानको बीउमा डढुवासहितका रोग लाग्ने समस्या कम देखिएको छ ।
धानबाली विशेषज्ञ उप्रेतीका अनुसार यो वर्ष किसानले बीउ बिग्रिएको वा बीउमा रोग लागेको भनेर गुनासो कम गरेका छन् । देशका अधिकांश क्षेत्रमा धानको बीउ राम्रोसँग आएको छ । बेला बेलामा पानी परेकाले बीउमा समस्या कम देखिएको उनले बताए ।
तर बढी गर्मी तथा पानी कम परेको नेपालगञ्जसहितका क्षेत्रमा भने बीउमा केही समस्या देखिएको छ । ती क्षेत्रमा बीउमा झारको आक्रमण बढी देखिएको छ ।
खडेरी सहन सक्ने धान
पछिल्ला केही वर्षदेखि धानबालीमा खडेरीका कारण समस्या देखिन थालेकाले नार्कले खडेरी सहन सक्ने धानका बीउ सिफारिस गरेको छ ।
अहिले किसानसम्म खडेरी सहन सक्ने सुक्खा १ देखि ६ सम्म, हर्दिनाथ २ र ३, राधा चार तथा बहुगुनी धान १ र २ सिफारिस गरिएको छ । यी धानले खडेरी सहने र उत्पादन पनि बढी हुने देखिएको छ ।
यस मध्ये बहुगुनी धानमा धेरै गुण रहेको उप्रेतीले बताए । नेपालको मौनसुनी प्रणाली अनुसार रोपाइँ हुने बेला धेरै पानी पर्ने र धानको बाला लाग्ने बेला पानी नपर्ने भएकाले त्यस अनुसारको धानको बीउ बहुगुनी रहेको उनले बताए ।
यो धानको बीउ रोपे लगतै १०–१५ दिन पानीले डुबाउँदा पनि नबिग्रने र पसाउने बेलामा पानी नपरे पनि बाला लाग्ने धानबाली विशेषज्ञ उप्रेतीले जानकारी दिए ।
यस्तै बहुगुनी मसिनो धान रहेको र चाँडो पाक्ने भएकाले पनि किसानको रोजाइमा पर्दै गएको छ । यो धान तराई तथा मध्य पहाडी क्षेत्रका तल्लो भागमा पन िउपयुक्त रहेको छ ।
अझै पनि ३० वर्ष पुरानो सावित्री किसानको रोजाइमा
नेपालको धानबाली हुने तराई क्षेत्रका किसानमा अझै पनि बढी जसो सावित्री धान रोजाइमा पर्ने गरेको छ ।
झण्डै ३० वर्षअघि सिफारिस भएको सावित्री धान अहिले पनि तराईका किसानले बढी लगाउने गरेका छन् । यस्तै राधा चार पनि किसानको रोजाइमा परेको छ । पूर्वी क्षेत्रमा भने राधा ११, राधा १२ सहितका धानको खेती बढी हुने गरेको छ ।
यस्तै नार्कले भारतबाट आएको सोना मनसुलीमा रोगको समस्या देखिएकाले त्यसको विकल्पमा स्वर्णा सब वान, भारतबाटै आएको सावाँ धानको विकल्प्मा सावा महसुरी सब वान सिफारिस गरिएको उप्रेतीले बताए ।
यसैगरी राधा १३ तथा राधा १४ पनि उपयुक्त रहेको उनले जानकारी दिए । पहाडी क्षेत्रको बेसीमा मकवानपुर १ सहितका धानका जात बढी लगाउने गरिएको छ भने मध्यमहाडी क्षेत्रमा खुमल १ देखि ४ रोजाइमा पर्ने गरेको छ ।
यो वर्ष पानी पर्ने देखिएकाले धानसहितका बर्खे बालीको उत्पादन सामान्य भन्दा बढी हुने देखिएको धानबाली विशेषज्ञ उप्रेतीले बताए । नार्क पनि किसानका सबै समस्या सुन्न र त्यसलाई समाधान गर्नका लागि तयारी अवस्थामा रहेको उनले बताएका छन् ।