
पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, लुटपिट, चेक अनादर, चोरी, लागुऔषध, लिखित गाली बेइज्जती, सरकारी छाप किर्ते, जालसाजी, केही सार्वजानिक अपराध लगायतका मुद्दाका अपराधी छन्।
१२ वुँदै कार्ययोजना अन्तर्गत विभिन्न अपराधमा संलग्न फरार ब्यक्तिको खोजतलास कार्यलाई तिव्रता दिदै आएकोमा हाल सम्म ४३ जना आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ परेका ब्यक्तिहरु अदालतबाट न्यूनतम २ दिन देखी अधिकतम २० वर्ष सम्म कैद सजाय र रु. ५ सय देखी ५ लाख बढि रुपैया जरिवाना तोकिएकाहरु छन् । पक्राउ परेकाहरुलाई अदालत समक्ष पेश गरिएको छ । अदालतको आदेशले तीन जना रिहा भएका छन् भने ३७ जना कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए ।