धादिङ – लगातारको वर्षासँगै पहिरो जाँदा धादिङमा तीनजनाको मृत्यु भएको छ भने दुई जना पुरिएका छन् । खनियाबास गाउँपालिका–५ सईसरामा मध्य रातमा पहिरो जाँदा स्थानीय राजबहादुर गुरुङ्गको घर पुरिएको छ ।
पहिरोमा परि आफ्नी श्रीमती र दुई छोरीको मृत्यु भएको राजबहादुरले बताएको धादिङ प्रहरीले जानकारी दिएको छ । राजबहादुर भने बाँच्न सफल भएका छन् ।
यस्तै मध्य रातमै खनियाबास–४ चिउरीबोटमा पहिरो जाँदा दुईवटा घर पुरिएका छन् । पहिरोमा पुरिएर दुईजना बेपत्ता भएका छन् । पुरिएका ६५ वर्षका शमशेर घले र उनकी श्रीमती ६२ वर्षकी कोप्ची घलेको खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
बाटोमा ठाउँठाउँमा पहिरो गएकाले आफूहरु पुग्न समय लागेको प्रहरीले बताएको छ । अहिले उद्धार तथा खोजीको काम भइरहेको छ ।