
काठमाडौँ – राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले २८० सिट क्षमताको वाइडबडी जहाज ल्याएको छ । निगमले ल्याएको अहिलेसम्मकै ठूलो विमान हो ।
फ्रान्सको एयरबसले निर्माण गरेको ए ३३० जहाज बिहीबार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । यो जहाजको नाम अन्नपूर्ण हो ।
निगमले दुईवटा वाइडबडी जहाज किन्नका लागि एयरबससँग सम्झौता गरेकोमा पहिलो जहाज नेपाल आएको हो । नयाँ विमानमा ८ वटा बिजनेस क्लास र २७२ इकोनोमी क्लास सिट छन् । अर्को जहाज पनि चाँडै नै आउने निगमले जनाएको छ ।