
मिरिक, दार्जिलिङ – पूर्वी नेपाल र उत्तर पूर्वी भारतविच पर्यटन क्षेत्रको विकासका लागि भारत कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले गम्भीर चासो दिएको छ। दूतावासले हिजो दार्जि्लिङको मिरिकमा नेपाल र भारतका अधिकारीहरु सम्मिलित एउटा बैठक डाकेर पर्यटन क्षेत्रमा अब दुई देशविच मिलेर काम गर्न आह्वान गरेको छ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत एकनारायण अर्यालले नेपाल अब संघीय प्रणाली गइसकेकाले प्रदेश स्तरीय सरकारहरुले पर्यटन क्षेत्रको विकासका लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ’नेपालको आयका लागि पर्यटन क्षेत्र एउटा दह्रो खम्बा हो। त्यस्का लागि उत्तर पूर्वी भारत र पूर्वी नेपालविच पर्यटन क्षेत्रमा काम गर्नका लागि एक नम्बर प्रदेश सरकारले काम गर्नुपर्छ।’
विशेषगरि ग्रामिण पर्यटनमा सरकारको आँखा नपुगेका कारण अहिलेसम्म पर्यटकहरु गाउँ गाउँसम्म पुग्न नसकेको बैठकका सहभागीहरुको तर्क थियो। ग्रीन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले गाउँका मौलिक संस्कृति पर्यटकहरुका लागि आकर्षण बन्ने बताए। उनले भने, ’हामीकहाँ कहीँ कतै नपाउने संस्कृति छ। त्यसको संरक्षणका लागि सरकारले अलिकति भए पनि सहयोग गरिदिए ग्रामिण पर्यटनमा ठूलो टेवा पुग्छ।’
भारतमा सरकारले पर्यटन क्षेत्रमा पर्याप्त लगानी गर्ने गरेको तर नेपालमा चाहीँ सरकारको लगानी न्यून रहेको पर्यटन व्यवसायीहरुले बताएका छन्। मिरिक नगरपालिकाका उपाध्यक्ष एमके जिम्बाले अहिले मिरिकको विकासका लागि पश्चिम बंगाल सरकारले एकसय करोड लगानी गरिरहेको जानकारी दिए।
एसोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमका अध्यक्ष राज बासुले ग्रामीण पर्यटनका लागि दुवै देश मिलेर काम गर्नको विकल्प नभएको बताए। उनले नेपाल भारतविचको खुल्ला सीमानाका कारण ग्रामीण पर्यटन प्रवर्द्धन सहज हुने बताए।
बैठकमा नेपालबाट इलाम तथा झापाका प्रमुख जिल्ला अधिकारीहरु, बन कार्यालयका प्रमुखहरु तथा पर्यटन व्यवसायीहरु उपस्थित थिए भने भारतबाट मिरिक महकुमाका अधिकारीहरु, सशस्त्र सीमा सुरक्षा बलका अधिकारीहरु तथा भारतका पर्यटन व्यवसायीहरु उपस्थित थिए।
दुवै देशको पर्यटन क्षेत्रको विकासका लागि मिलेर काम गर्न भन्दै हिजै मिरिक घोषणापत्रसमेत जारी गरिएको छ।