
मेरो यात्राकथाको यो अर्को भागको अधिकांश हिस्सा निराशाले भरिएको छ। मैले पाठकको संवेदना बटुल्न मेरो व्यथा सार्वजनिक गरेकी वा लेखेकी होइन। यसको उद्देश्य हाम्रो बाटोमा आउन सक्ने नसोचिएका अवरोधहरु जो कानुन वा नियमसँग जोडिएका हुन्छन्, त्यसबारे सजग गराउनु हो। मेरो यो अनुभवले यस्तै समस्या भोग्न सक्ने व्यक्तिहरुको अप्ठ्यारो केही कम हुन्छ कि भन्ने आश छ।
तीन महिनाअघि मैले चीनका लागि प्लेन टिकट बुक गरेकी थिएँ, चोङगक्ङ्गीमा हुने मेरी बहिनी सोनाको दीक्षान्त समारोहमा सहभागी हुन म आतुर थिएँ र उत्साहित पनि। मैले भिसाका लागि निवेदन दिएँ र दिल्लीमा रहेको केन्द्रबाट पाएँ।
२९ जुन (असार १५) म चीन जाने दिन थियो। म चीनका लागि म जाने भनेको विमान उड्ने समय तालिकाभन्दा १ घण्टा पहिले नै दिल्ली विमानस्थल पुगेँ किनकि मैले पैसा साट्नु पर्ने थियो र मलाई थाहा थियो कि यो रुचिकर काम हुने छैन। मैले जे सोचेकी थिएँ र आश गरेकी थिइनँ, त्यही भयो। मैले झण्डै सय डलरमात्रै साट्न पाएँ, विदेशको पासपोर्ट भएकाहरुलाई उनीहरुले त्यो भन्दा बढी सटही दिने चलन नरहेको बताए। मैले मन बुझाएँ किनकि अरु विकल्प थिएन।
झण्डै बेलुकाको ६ बजेतिर सिंगापुर एयरलाइन्सको काउन्टर खुल्यो र मैले जे गर्नु पर्ने थियो, ती कामहरु गरेँ। अध्यागमन विभागका कर्मचारीको व्यवहार कठोर देखियो जब उनले मेरो नेपाली पासपोर्ट देखे। उनले मेरो भ्रमणको विस्तृत विवरण सोधे, मैले बताउँदै गएँ।
ती अधिकारीले मलाई अरु अधिकारीसँग कुरा गर्न भन्दै अध्यागमन कार्यालयमा जान अह्राए। म गएँ- त्यहाँ गएपछि मलाई नेपाल सरकारले जारी गरेको एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) ल्याउन भनियो। मलाई यो असामान्य लाग्यो, नराम्रो लाग्यो। मैले उनीहरुसँग यदि त्यसो हो भने किन भिसा दिने बेलामा नै भनिएन, त्यो नभए बोर्डिङ पास दिने बेला वा औपचारिक अरु प्रक्रिया पूरा गर्न चेक भइरहेका बेला किन नभनिएको भनेर सोधेँ। ती मुटु नै नभएका जस्ता अधिकारीले ‘यो सरकारको कुरा हो र एयरलाइन्सलाई यसको कुनै चासो छैन’ भने।
मैले अनुरोध गरेँ, तर्क दिएँ र .. के के मात्र गरिन। मैले केही नराम्रा शब्दहरु पनि बोलेँ चर्को स्वरमा। उनीहरुले मेरो व्यवहारलाई इंगित गर्दै मलाई विमानस्थल बाहिर पठाउने र फेरि आउन नदिने चेतावनी दिए।
मेरो दिमागले लगभग काम गर्न छोडेको थियो । मैले सोनालाई भनेँ, उसले जे भयो त्यो सहन सकिन। झण्डै १५/२० मिनेटको मौनतापछि मैले एक अधिकारीसँग विकल्प के हुन सक्छ भनेर सोधेँ। दुई विकल्प दिए उनले-
१) भोलिका लागि यात्रा सार्ने। दिल्लीमा रहेको नेपाली दूतावासबाट एनओसी लिने र प्रक्रिया अघि बढाउने।
२) टिकट क्यान्सिल गर्ने र नेपाल गएर त्यहाँबाट चीन जाने।
झण्डै एक घण्टा लामो दुविधा र कुराकानीपछि मैले दोस्रो विकल्प रोजेँ। मलाई मात्रै निराश बनाउने कुराका लागि हजारौँ रकम र समय खर्चेछु भनेर मलाई रुन मन लाग्यो।
मेरा लागि थप पीडाको कुरा, जसले मलाई झन समस्यामा पार्यो। मैले लगेज फिर्ता लिन दुई घण्टा पर्खिनु पर्यो किनकि अध्यागमन अधिकारीसँग वादविवाद हुँदासम्ममा मेरो लगेज कस्टमका लागि पठाइसकिएको थियो।
मलाई शान्त बनाउनका लागि धेरै तिरबाट आएका फोन र म्यासेज, दिमागमा खेलेका हजारौँ भावनाहरु…यो चारघण्टामा जे भयो, अरु कसैलाई यस्तो भोग्नु परोस् भन्ने म चाहन्नँ।
लगेज पाएपछि मलाई भित्र बस्न नपाउने भन्दै विमानस्थलको प्रवेशद्वारभन्दा बाहिर जान भनियो। मैले सुरक्षा अधिकारीलाई टिकट देखाएँ अनि मात्रै बिदाइ गर्न वा आफ्नाहरुलाई लिन आएका मानिस बस्ने ठाउँमा एक कुर्चीमा बस्न पाएँ मैले। मलाई यहीँ बस्नु थियो किनकि मैले काठमाडौँ जान बिहानैको विमान समात्नु थियो।
मैले एनओसीका बारेमा गुगल गरेँ, वास्तवमा मलाई यसबारे पहिले थाहा थिएन। त्यसपछि थाहा लाग्यो कि त्यो चिठ्ठी त विद्यार्थीका लागि जारी गरिने रहेछ, जो विदेशमा पढ्न चाहन्छन्। भगवान जानून्, किन ती अध्यागमन अधिकारीले मसँग त्यस्तो व्यवहार गरे? म विद्यार्थी होइन र म यहाँ भारतमा काम गरिरहेकी छु गत पाँच वर्षदेखि। (लीना इन्दौरमा मुख्यालय रहेको विटिफिड डट कममा प्रधानसम्पादक छिन्।)
किन सर्वसाधारण मानिसले अनावश्यक सजाय भोग्नु पर्छ? यदी कुनै नियम सुरक्षाका लागि लागु हुन्छ भने किन त्यो राम्रोसँग चाहिने ठाउँमा लागू गरिँदैन ? दुई देशका सरकारबीच केही समस्या भएकै आधारमा किन सर्वसाधारणले समस्या झेल्नुपर्छ ? किन यस्ता नमिठा सीमाहरु ? यो थकाइ मारिरहेको ठाउँमा बस्दा यस्ता धेरै प्रश्नहरुले मलाई…. ।
(भारतमा साढे पाँच वर्षदेखि पत्रकारिता गरिरहेकी नेपाली नागरिक लीना दुवाडीले फेसबुकमा दिएको विवरण र उनीसँग गरिएको कुराकानीमा आधारित)