सुनसरी – सुनसरीको कोशी गाउँपालिकास्थित कोशी कटान क्षेत्रमा भारतीय गाडी दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार राति करिब साढे नौ बजे भारतीय नम्बर प्लेटको बी आर ०६ सी.पी.बी ६४१८ नम्बर गाडी सडकबाट कोशीको कटानमा खसेको थियो ।
गाडीमा सवार १० जना मध्ये भारत बिहारको मधुवनीका सञ्जीवकुमार पौदार, सुपौलका ५ वर्षे बालक गोनकुमार राय, कञ्चनकुमारी राय, सुरेन्द्रकुमार सुमन, धिरेन्द्रकुमार राय र ललियादेवी राय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नारायण चिमरियाका अनुसार, बलेरो गाडीमा सवार १० वर्षका आदिमकुमार रायसहित निलुदेवी पौदार र ललनकुमार राय घाइते भएका छन् । उनले भने, ‘गाडी धनकुटा जिल्लाको नमस्ते झर्नाबाट सुपौल घर फर्कने क्रममा कटानमा डुबेको हो ।’
प्रहरीका अनुसार उनीहरुलाई विराटनगरस्थित सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ । त्यसैगरी गाडी चालकलाई प्रहरीले पक्राउ गरेको डीएसपी चिमरियाले जानकारी दिए ।