पोखरा- विगत लामो समयदेखि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापले)ले अन्नपूर्ण पदमार्ग क्षेत्रका होटेलबाट लिँदै आएको राजश्व यस आर्थिक वर्षदेखि अन्नपूर्ण गाउँपालिकाले लिन शुरु गरेको छ ।
संविधानले प्रदान गरेको अधिकारलाई उपयोग गर्दै सो गाउँपालिकाले होटलबाट राजश्व लिन शुरु गरेको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार यसै आर्थिक वर्षबाट गाउँपालिकाले यहाँको राजश्व संकलन शुरु गरेको हो ।
अन्नपूर्ण पदमार्ग क्षेत्र अन्तर्गत भनुवा भन्दामाथि रहेका २६ वटा होटेल प्रति, सार्वजनिक र ऐलानी जग्गामा छन् । ती जग्गामा रहेका होटलसँग वार्षिक रु ३० हजार राजश्व लिने गरिएको उनले जानकारी दिए ।
विश्वकै उत्कृष्ट पदमार्ग मध्येमापर्ने यस पदमार्गमा अघिल्लो वर्ष २८ हजार विदेशी पर्यटकले पदयात्रा गरेकोमा यसवर्ष उक्त संख्या वृद्धि भई ३२ हजार पुगेको समाजसेवी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव,२०७४ का संयोजक ललित गुरुङले जानकारी दिए ।