
थाइल्याण्डको एक गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धार अभियान राम्रोसँग अघि बढीरहेको उद्धार अभियानका प्रमुखले बताएका छन् ।
अहिलेसम्म फसेका मध्ये चार बालकलाई गुफाबाट बाहिर जमिनमा निकालिएको छ । उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको उद्धारकर्मीले बताएका छन् ।
अझै ८ बालक र उनीहरुका फुटबल प्रशिक्षक गुफामै छन् । चार बालकलाई बाहिर निकालिएपछि आइतबार अबेर राति उद्धार अभियान कम्तिमा १० घण्टाका लागि रोकिएको छ ।
उद्धारकर्मीलाई आराम चाहिएको तथा उद्धारको थप रणनीति बनाउनका लागि रातिको समयमा रोकिएको हो । सोमबार फेरि उद्धार अभियानले निरन्तरता पाउँदैछ ।
नयाँ एयर ट्यांकसहित उद्धारकर्मी गुफामा पस्ने छन् र फसेका बालकलाई लिएर पानीमा पौडिँदै बाहिर निस्कने छन् । लगातार पानी परिरहेको र गुफामा पानीको सतह बढ्दै गएकाले जोखिम लिएरै भए पनि उद्धार अभियान आइतबारदेखि सुरु भएको हो ।
चिएङ्ग राईमन गभर्नर नारोङ्गसाक ओसोटानाकोर्नका अनुसार सोमबार बिहानदेखि फेरि अर्को चरणको उद्धार अभियान सुरु हुनेछ ।
गुफामा फसेकाहरुको उद्धारका लागि ९० जना खटिएका छन् । त्यसमा ५० जना विदेशी छन् भने ४० जना थाइल्याण्डका रहेका छन् । उद्धार गरिएका चार बालकलाई स्थानीय अस्पतालमा राखिएको छ ।
गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए । १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक प्रशिक्षण सकेर गुफा हेर्न गएका थिए ।

तस्बिर : इपिए
चिएङ्ग राईमा रहेको थाम लुङ्ग गुफा गएका उनीहरु गुफामा बाढीको पानी पसेका कारण बाटो निकस्ने बाटो बन्द हुँदा फसेका थिए ।
उद्धारकर्मीमा विश्वका उत्कृष्ट ‘केभ डाइभर्स’ छन् । उनीहरुले गुफाको अँध्यारो तथा साँघुरो प्वालबाट फसेकाहरुलाई गुफाको मुख तिर ल्याएका छन् ।
उद्धारको पहिलो चरण आँकलन गरिएभन्दा चाँडो भएकाले आउँदा चरण पनि त्यस्तै हुने अपेक्षा गरिएको छ । तर परिरहेको पानी र गुफामा बढ्दै गएको पानीको सतहले खतरा बढेको छ ।