
काठमाडौँ – देशभरको मौसम मंगलबार पनि सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी गतिविधि पूर्व र मध्यको तुलनामा पश्चिममा बढी सक्रिय रहेकाले त्यस क्षेत्रको मौसम बढी बदली भएको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् ।
पश्चिमका धेरै ठाउँ तथा पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मंगलबार हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना रहेको छ । विशेषगरी पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद पोख्रेलले जानकारी दिइन् ।
यस्तै मध्य तथा पश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । पूर्वी क्षेत्रमा भने मनसुनी गतिविधि केही कमजोर भएको छ ।
काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रका पहाडी तथा पूर्वका पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने देखिएको छ । मौसम भने दिनभरि नै बदलीको अवस्थामा रहने छ र बेलुका देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।