ब्लग

एसएलसी अनुभूति

एसएलसी अनुभूति
+
-

माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशित भएको तीन हप्ता नाघ्यो । प्रवेशिका परीक्षा, एसएलसीको नाम फेरिएर एसइइ भएको धेरै भएको छैन । एसइइ होइन एसएलसी नै भनिरहेका छौँ हामी अझै ।

फेसबुकभरि शुभकामना र बधाईको आइरो छ । जिपिएसहितका ग्रेडहरु भित्ताभरि मुस्कुराउँछन् । समयले खुशी मनाउने तरिकामा छलाङ मारेको छ । खुशी लाग्छ ।

यो नतिजाले फर्काउँछ त्यही दिनतिर; असारको दोस्रो साता असार पन्ध्र मनाउन दिदीसँगै दिदीको घर गएकी मलाई त्यहाँ पुगेलगत्तैको नतिजा प्रकाशनले कति धेरै अधैर्य बनाएको थियो ।

सविता विमली

सम्झन्छु, २५ नम्बर छोडेर आएको अनिवार्य गणित । योगफल निकाल्ने प्रश्नको समाधान गर्न अभ्यस्त मलाई कसरी परीक्षा हलभित्र योगफल भर्खरै मात्र सुनेको नयाँ विषय लागेको थियो ? अंग्रेजी र नेपाली दुई माध्यममा सोधिएका प्रश्नहरूमा नेपाली माध्यमको प्रश्न मात्रै हेरेर बुवा र छोराको उमेर निकाल्न थाल्दा र त्यसलाई पुनः परीक्षण गर्दा नमिलेर मेरो तीन घन्टाको समय कसरी वायुवेगमा दौडिएको थियो ? अन्त्यमा हार खाएर आत्तिदै म अन्य प्रश्नतिर लागेकी थिएँ र २५ नम्बर चुपचाप बसेको थियो निरुत्तर उत्तरपुस्तिकामा ।

परीक्षा सकिएको केही समयपछि पुनः प्रश्नपत्र पल्टाउँदा पो थाहा पाएँ कि बाउछोराको प्रश्नको एक अंकमा म कसरी झुक्किएछु ? नेपाली माध्यमका मात्र प्रश्न हेरेकी मलाई ८ जस्तो लागेको अंक ९ कसरी अंग्रेजी माध्यमको प्रश्नमा हाँसिरहेको थियो ? बुवा–छोराको उमेरको समस्या समाधान गरेर त्यसलाई परीक्षण गरेपछि उक्त प्रश्न कसरी मुस्कुराएको थियो मिलेको जवाफ पाएर ? तर म बाँकी अवधिभर हाँस्न बिर्सिएजस्ती भएकी थिएँ । एउटा गहिरो बेचैनीले मलाई एकनाश लखेटिरह्यो ।

भोलिपल्ट तोपगाछीबाट बिर्तामोड पुगेपछि मात्रै कुनै एउटा भिडलाई रु. दश तिरेर मैले मेरो नतिजा हेरेकी थिएँ । दोस्रो श्रेणी । लब्धाङ्क पत्र आइपुग्यो । गणितमा ४२ । मलाई पहिलो श्रेणी बन्न नदिने आठ नम्बर योगफल र बाउछोराकै उमेरसम्बन्धी प्रश्नसँग थियो । तर मेरो भागमा चाहिँ रहेनछ ।

यो असार, यो समय दश वर्षको लगानीको प्रतिफल हात लाग्ने समय हो अभिभावक र विद्यार्थीका लागि । हरेक वर्ष हरेकका एक दशकको खेतीको बाली उठाउने बेला । असारे झरीमा कति रमाएर हिडिरहेछन् केटाकेटी अर्को सपनाको उडान भर्न । हेरेर मख्ख हुन्छु । कक्षाकोठामा आउने केटाकेटीका अनुहारका चमक कम्ती मोहक हुँदैनन् ।

पढिरहँदा विद्यालयमा मात्रै होइन क्याम्पस पुगेको पनि थुप्रै समयसम्म मलाई शिक्षण पेसाले आकर्षित गरेन । म पढाएर त खाँदिनँ नै भनिरहन्थेँ । जब स्नातकोत्तर तहमा नियमित विद्यार्थीका रूपमा पढ्न जान थालें अनि मात्र मलाई पढाउने रहर जागेको हो । कहिलेकाहीं कक्षाकोठामा सबैका अघिल्तिर उभिने दुस्साहस पनि गरियो । जाने पनि नजाने पनि बोल्न/भन्न खोजियो । दोस्रो वर्षको परीक्षा सकेपछि चारवटा कक्षा पढाउने गरी एक निजी विद्यालयमा पुगें म ।

उक्त विद्यालयको दश कक्षामा १७ जना विद्यार्थी थिए । मलाई पहिलो कक्षामा लिएर जाने किशोरी कक्षाकी प्रथम छात्रा थिई । विद्यालयले दशका कमजोर विद्यार्थीलाई सुरुदेखि नै होस्टेल राख्थ्यो । दसैँपछि सबैलाई अनिवार्य थियो हास्टेल । बिस्तारै म विद्यार्थीको क्षमतासँग परिचित हुँदै थिएँ । मेरो विषयमा उनीहरूको प्रस्तुति हेरेर मूल्याङ्कन गर्ने हो भने राम्रा विद्यार्थीको संख्या दोहोरो अंकमा उक्लन सक्दैनथ्यो ।

सेन्ड अप सकियो । एसएलसीको तयारीमा विद्यालय—विद्यार्थी दुवै थिए । अन्य कक्षाको वार्षिक शैक्षिक तालिका सकिएकै थिएन । एसएलसी परीक्षा प्रारम्भ भयो । परीक्षाकै बीचमा त्यही प्रथम छात्रा छेउमा आई र भनी —‘म्याम ! म राती १२ बजेसम्म पढ्छु । बिहान चार बजे नै उठ्छु । अरू आठै बजे सुत्छन् र छ बजे उठ्छन् । तर परीक्षामा मेरो कपी सबैका सिटमा डुल्छ । मैले लेखेर मेरो मात्रै नम्बर कहिले आउँछ ?’ म स्तब्ध बनें ।

मसँग यही नै हो अथवा हुनुपर्छ भन्ने गरी कुनै जवाफ थिएन । तर ऊ तनावमा थिई । केही त भन्नै पथ्र्यो —‘यतिले साथीहरूको भविष्य बन्छ भने हुन देऊ, आफूले लेखेर आफ्नो मात्रै नम्बर आउने र तिम्रो योग्यताको सही मूल्याङ्कन हुने दिन पनि आउँछ । अहिले चिन्ता नगर । राम्रो पढ…।’
एसएलसीको नतिजा आयो । ऊ नै प्रथम भई । १७ जनामा अधिकांशले विशिष्ट श्रेणी ल्याए । केहीले उत्कृष्ट प्रथम श्रेणीमा उत्तीर्ण गरे ।

शिक्षकका रूपमा ती केटाकेटीको सफलताले असाध्यै खुसी बनायो । आजसम्म राजधानीले भित्र्याउने एसएलसीको परिणामप्रति भने मन सदैव शंका गरिरहन्छ । जब विशिष्ट श्रेणी अथवा ब्ं ल्याउने विद्यार्थी कक्षामा औसत पनि देखिदैन अनि मेरो शंकाले मलाई भित्रैदेखि गलाउँछ । यसपालिको एसइइको नतिजापछि औसत नम्बरका केटाकेटीका अभिभावकलाई पत्रकार लेनिन बञ्जाडेले लेखेको स्टाटसको मर्मसँग सहमत छु ‘धेरै नम्बर ल्याउने अरूका छोराछोरीको एसइइ नतिजा देखेर आफ्ना सन्तानलाई ख्यापख्याप नपारौँ ।

धेरै नम्बर ल्याउँदैमा उपरखुट्टी लगाएर खान पाइँदैन । थोरै ल्याउँदैमा भोकै भइन्न । जिल्ला, क्षेत्र या बोर्ड टपेर कालान्तरमा त्यही नम्बरको बोझले थिचिइ डल्लो परेका मान्छे हाम्रै वरिपरि छन् । त्यसैले सन्तानले धेरै नम्बर ल्याइदिएको भए हुन्थ्यो भनेर कहिल्यै नसुनाउँ । सकेसम्म सामाजिक सञ्जालमा पनि ग्रेड नलेखी बधाई दिऊँ । नम्बरभन्दा महत्वपूर्ण कुरा हो—उनीहरू जीवनको यो लामोदौडमा आफनै खुट्टाले दौडिन सक्षम भए कि भएनन् । सन्तानलाई नम्बर ल्याउने यन्त्र होइन, असल मान्छे बन्न सिकाउँ, भोकको अर्थ र श्रमको महत्व सिकाउँ । यति सिके भने बुढेसकालमा तपाइंहरू जति सन्तोषी कोही हुन्न ।’

अनि सम्झन्छु, एसएलसी पास गर्ने उत्कट अभिलाषा बोकेका अनगिन्ति अनुहारहरू !! एउटा अनुहार चाहिँ बिर्सिनै नसक्ने गरी बसेको छ मनमा । दश कक्षा पढ्दै गर्दा उहाँको विवाह भयो । हात्तिमा चढाएर बेहुली लगेको अन्तिम बिहे हो उहाँको मैले देखेको । दिदी खुब रोइरहनुभएको थियो । त्यो रुवाइमा हात्तीबाट लडिने डर थियो कि जीवनबाट ! म यसै भन्नै सक्दिनँ ।

विवाहपछि दिदी पढ्न आउनुभयो । घर माइती गर्दै दश कक्षा पढ्दै गरेकी किशोरीलाई पढ्न कति सहज भयो होला र ? नन्द क्याम्पस पढिरहेकी, श्रीमान मास्टर्स पढ्दै गरेको । दिदीलाई एसएलसी जसरी पनि पास गर्नैपर्ने बाध्यता थियो सायद । त्यसैले दिदी दश कक्षामै दोहोरिरहनुभयो । केही विषयमा ३२ नम्बर नि उहाँको भागमा परेन । अन्ततः बढ्दै गरेको शरीरले उहाँलाई रोकिदियो । उहाँ विद्यार्थी भइरहन सक्नुभएन । मन्दिरा दिदीको एसएलसी सपना मात्र सपना भयो । यसरी एसएलसी सपना मात्रै हुनेहरू कति होलान् ??

मैले पढाएका ती १७ जना विद्यार्थीमध्ये फलामे ढोका मानिएको प्रवेशिका सातजनाले मात्रै पार गर्थे होलान् । बाँकी दशभित्रका केहीको त म यसै भन्नै सक्दिनँ कि के हुन्थ्यो ! तर जब नतिजा आयो नि मैले मन्दिरा दिदीलाई सम्झिएँ । जबजब एसएलसी÷एसइइको नतिजा आउँछ दिदी उसैगरी मेरो सम्झनामा आउनुहुन्छ । अब त दिदीका छोराछोरीले पनि एसएलसी/एसइइ दिएको हुनुपर्छ । दिदी मलाई तपाईंको एसएलसी पास गर्ने रहर पूरा नभएको सम्झिंदा औधी छटपटी हुन्छ । तपाईंले कति मेहेनत गर्नुभयो ! अनि पनि एसएलसी पास गरेकी छोरी, दिदी, बहिनी, श्रीमती, बुहारी, भाउजु र आमा बन्ने तपाईंको अभिलाषा पूरा भएन ।

मेरो अनुभवले भन्छ कि आजको समय हुन्थ्यो भने तपाईंले एसएलसी दिएको विद्यालय राजधानीमा हुन्थ्यो भने दिदी तपाईं यकिनन् उत्कृष्ट अंकका साथ उत्तीर्ण हुनुहुन्थ्यो । तर यो सौभाग्य धेरैलाई मिलेन । मिलेको छैन । र तपाईंलाई पनि मिलेन मन्दिरा दिदी ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?