
विश्वकप फुटबल २०१८ को सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ। विश्वकपको ट्रफि जित्नको लागि अन्तिम दुईमा आफ्नो स्थान बनाउन मंगलबार फ्रान्स र बेल्जियम अनि बुधबार इंगल्याण्ड र क्रोएसियासँग खेल्दैछ।
जेठ ३१ मा सुरु विश्वकप फुटबलमा ३२ देशले खेल खेलेका थिए। ती मध्येका २८ देश घर फर्किसकेका छन् भने बाँकि ४ देश मंगलबारदेखि सेमिफाइनलको खेल खेल्दैछन्।
विश्वकपमा आफ्नो देश सहभागी नभए पनि सहभागी अरु देशलाई समर्थन गर्ने जमात विश्वभरी नै छ। ४ वर्षमा एकपल्ट आउने विश्वकपलाई साथीभाइ जमघट भएर हेर्ने पर्व पनि मानिन्छ।
विश्वकप हेर्ने सबैको आफ्नै आफ्नै तरिका छ। कोही रेष्टुरेन्टमा जान्छन्, कोही परिवारमा बसेर हेर्छन्। कोही चोक चोकमा राखिएका प्रोजेक्टरमा हेर्न जान्छन् भने कोही चाँहि साथीभाइ जम्मा भएर हेर्छन्। यसरी जम्मा हुँदा आफ्नो क्षेत्रका मानिसहरु जमघट हुँने चलन छ।
मंगलबारदेखि सुरु हुने सेमिफाइनलको खेल कलाकारले कसरी खेल्ने योजना बनाएका छन् त ?
दिपाश्री निरौला
दिपाश्री निरौला विश्वकपको सेमिफाइनलको म्याच साथीभाइसँग जमघट भएर हेर्ने बिचारमा छिन्। उनी आफ्नो घरमा नै बन्दोबस्त मिलाउने तरखरमा छिन्। सेमिफाइनलमा खेल्ने टिममा उनी बेल्जियमलाई सपोर्ट गर्दैछिन्।
यो भन्दा अगाडि निरौलाले ब्राजिललाई समर्थन गर्दै आएकि थिइन्। ब्राजिलले क्वाटरफाइनलमा बेल्जियमसँग २–० ले हारेको थियो।
‘सपोर्ट गर्ने टिमले हार्यो भनेर खेल नै नहेर्ने भन्ने त हुन्न। ब्राजिल र बेल्जियमको मिल्ने शब्द बेल्जियम भएकोले म बेल्जियमलाई सपोर्ट गर्दैछु।’
दिपाश्री तितो सत्यमा अभिनय गर्दै गर्दा ब्राजिलको समर्थक भएर अभिनय गरेकी थिइन्। उनले त्यहि बेलादेखि नै ब्राजिललाई नै समर्थन गरेकी हुन्।
दीपकराज गिरी
दिपक राज गिरी अहिले ‘छक्का पञ्जा – ३’ को सुटिङमा व्यस्त छन्। भोलि बिहान पनि सुटिङ भएकोले आजको खेल निन्द्रा नबिग्रने गरी हेर्ने योजनामा छन्।
देश सञ्चारसँगको कुराकानीमा उनले भने, ‘सुटिङ बिहान छ, हाफ टाइमसम्म हेर्छु होला।’ उनी अर्जेन्टिनाको समर्थक हुन्। पहिला देखि नै उनलाई मन पर्ने टिम अर्जेन्टिनाभने सन् २०१८ को विश्वकपमा क्वाटरफाइनलमा पुग्न सकेन।
अब बाँकि रहेका टिममध्ये गिरीलाई फ्रान्सले जितोस् भन्ने चाहन्छन्। ‘म अलि उल्टो छुँ, मेरो टिमले जसलाई हरायो, त्यो टिमले नै जितोस् जस्तो लाग्छ। अर्जेन्टिनाले हार्यो भनेर निराश छैन, टिम बलियो थिएन हार्यो।’
जितु नेपाल
हास्यकलाकार जितु नेपाल आधा खेल हेर्ने योजनामा छन्। उनले काम गरिरहेको चलचित्र छक्का पञ्जा ३ को सुटिङ भइरहेकोले खेल हेर्न थाले काममा प्रभाव पर्ने डरले पनि उनी कार्यक्रम आधा मात्र हेर्ने निर्णय गर्दैछन्।
‘हेर्दै जाँदा निन्द्राले जे भन्छ, त्यहि गर्छु।’ उनलाई बलियो टिपमो सपोर्ट गर्न मन लाग्छ। यो भन्दा अगाडि एक एकपल्ट जितेको फ्रान्स र इंगल्याण्डल फाइलनमा पुगोस् भन्ने उनको इच्छा छ। उनी खेलको मज्जा लिन्छन्, कुनै पनि टिमको ‘क्रेजी’ सपोर्टर होइनन्।
प्रियंका कार्की
नेपाली चलचित्र क्षेत्रकी व्यक्त नायिका प्रियंका कार्कीको सेमिफाइनल खेल हेर्ने त्यस्तो योजना नै छैन। उनी सुटिङमा व्यस्त छिन्। उनलाई मन पर्ने देश स्पेन थियो। स्पेन नकआउट चरणबाट बाहिरिइसकेको छ।
प्रदिप भट्टराई
निर्देशक प्रदिप भट्टराई जर्मनका समर्थक हुन्। तर यो विश्वकपमा जर्मन नकआउट चरणमा नै पुग्न सकेन। आफूले समर्थन गरेको टिम अगाडि नगएपनि उनी साथीभाईसँग भेटेर सेमिफाइनल म्याच हेदैछन्।
गैरीधाराको ‘स्टेशन फाइभ’ मा उनीहरु जमघट हुने योजनामा छन्। अब बाँकि रहेका ४ देशहरुमध्ये उनलाई विश्वकप फ्रान्सले नलगोस् जस्तो लाग्छ। ‘मैले सपोर्ट गरेको टिमले हारीराखेको छ तर मलाई अब भएका मध्ये इंगल्याण्डले जितोस् जस्तो लाग्छ।’
निर शाह
निर शाहले यो वर्षको विश्वकप परिवारसँग बसेर हेरिरहेका छन्।
शाह ब्राजिलको फ्यान हुन्। तर ब्राजिल सेमिफाइनलमा पुग्न सकेन। ब्राजिलले हारेपछि शाह बेल्जियमलाई समर्थन गर्दैछन्।
‘धेरै वर्ष अगाडि ब्राजिलले राम्रो खेलेर जसरी पाँचौ पटक विश्वकपको उपाधि जित्यो, अहिले बेल्जियम पनि उदयमान भइरहेको छ। अब बाँकि भएका मध्ये म उनलाई नै समर्थन गर्छु।’
केदार घिमिरे
केदार घिमिरे उर्फ माग्ने बुढा फुटबल भन्दा कामलाई धेरै ख्याल राख्ने विचारमा छन्। उनी फुटबल काममा बाधा नपर्ने हिसाबले मात्र हेर्छन्। अहिले उनी पनि छक्का पञ्जा–३ को सुटिङमा छन्। ‘खेल हेर्छु तर काम चौपट नहुँने गरी मात्र।’
किशोर भण्डारी
किशोर भण्डारी अर्थात् डिठ्ठासाबले यो वर्ष भएका सबै खेल नछुटाई हेरेका छन्। उनी सेकिफाइनलमा साथीभाइसँग मिलेर हेर्ने तरखरमा छन्। ‘मण्डला थिएटरमा साथीहरु भेटेर हेर्ने प्ला छ।’
उनी अर्जेन्टिनाका समर्थक हुन्। तर अर्जेन्टिना प्रि क्वाटरफाइनलमा फ्रान्ससँग ४ – ३ ले पराजित भयो। अब भने उनी बेल्जियमलाई समर्थन गर्दैछन्।
‘बेल्जियम राम्रो खेल खेल्ने टोलि हो, राम्रो खेलिराँखेको छ। अहिले विश्वकपमा अप्रत्यासित नतिजाहरु आइरहेका छन्। मिस पास भईरहेको बेलामा बेल्जियमले राम्रो प्रदर्शन गरिहेको छ।’
कोमल वली
कलाकार तथा राष्ट्रिय सभा सदस्य कोमल वलीलाई फाइनलमा बेल्जियम र इंगल्याण्ड पुग्छ जस्तो लाग्छ। उनले यो वर्षको धेरैजसो खेल हेरेकीछिन्। ‘फ्रान्स अलि आक्रमक छ, बेल्जियमले संयमित भएर खेलिरहेको छ।’
यो विश्वकपमा नसोचेको देशहरु अगाडि आइरहेको छन्। ओलि जापान र कोरियाको समर्थक थिइन् तर यी दुवै टोलि यो भन्दा अगाडि जान सकेनन्। त्यसैले अब बाँकि खेलमा उनी बेल्जियमलाई शुभकामना दिँदै छिन्।
भुवन केसी
नायक भुवन केसी हिजोआज सुटिङमा व्यस्त छन्। तर व्यस्तताको बाबजुद पनि उनी खेल भने हेर्ने समय मिलाइरहेका छन्।
‘म अर्जेन्टिनाको फ्यान हो, उसले हार्यो।’ त्यसपछि उनले सपोर्ट गरेको टिम ब्राजिल हो, दुवै बाहिरीसकेका छन्। अब भने उनी कसैलाई समर्थन गर्दैनन्, मात्र खेल हेर्छन्। ‘खेल हो, एकले जित्ने, अर्कोले हार्ने हो, समर्थन गरेको टिमले हारेपनि म निराश भएको छैन।’