
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा फसकेका सबै १२ योङ्ग फुटबलर र उनीहरुका प्रशिक्षकलाई उद्धारकर्मीले निकै जोखिम युक्त उद्धार अभियानबाट सकुशल बाहिर ल्याएका छन् ।
तेस्रो दिन मंगलबार चार बालक र प्रशिक्षक बाहिर आएपछि उद्धार अभियानले पूर्णता पाएको हो । त्यसअघि आइतबार चार तथा सोमबार चार बालकलाई बाहिर निकालिएको थियो । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले १२ बालकलाई रुसमा जारी विश्वकप फुटबलको फाइनल हेर्नका लागि निम्ता गरेको थियो ।
तर उनीहरु लामो यात्रा गर्नका लागि स्वस्थ्यका हिसाबले तयार नभएकाले फाइनलमा उपस्थित नहुने फिफाले प्रष्ट पारेको छ । वाइल्ड बोएर्स फुटबल टिमका १२ खेलाडी तथा प्रशिक्षकलाई १७ दिनपछि मंगबार गुफाबाट बाहिर निकालिएको हो । उद्धार गरिएका बालकहरुलाई विश्वका विभिन्न फुटबल क्लब र खेलाडीले विभिन्न प्रस्ताव गरेका छन् ।
प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले उनीहरुलाई एक खेलमा सहभागी हुनका लागि प्रस्ताव गरेको छ । यस्तै इंग्ल्याण्डका केली वाल्कर र ज्याक बटल्याण्डले किट पठाउने बताएका छन् । उद्धार गरिएका मध्ये एक बालकले इंग्ल्याण्डको जर्सी लगाएका थिए ।
यस्तै स्पेनिस च्याम्पियन बार्सिलोनाले उनीहरुलाई आउँदो वर्ष हुने उनीहरुको अन्तर्राष्ट्रिय एकेडेमी प्रतिस्पर्धामा खेल्न निम्तो गरेको छ । यस्तै नाउ क्याम्पमा हुने क्लबको पहिलो खेल हेर्न आउनका लागि पनि प्रस्ताव गरेको छ ।
फिफाले आइतबार मस्कोमा हुने विश्वकप फाइनल हेर्नका लागि बालकहरुलाई बोलाएको थियो । तर स्वास्थ्य अवस्थाका कारण त्यो सम्भव देखिएको छैन ।
पहिलो प्राथमिकता बालक र उनीहरुको उद्धारमा खटिएकाहरुको स्वास्थ्यमा रहेको फिफाले जनाएको छ । फिफाका अरु कुनै इभेन्टमा उनीहरुलाई बोलाउने जनाइएको छ ।