
पोखरा- भारतीय पर्यटकलाई निम्तो बाँड्न पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली बुधबार भारत प्रस्थान गरेको छ ।
पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवर्धनमा भारतीय पर्यटकलाई निम्तो बाँड्न टोली भारत गएको हो ।
यस समयमा भारतका पटना, बनारस, लखनउलगायतका क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले भारतीय पर्यटकलाई अहिले पोखरा घुम्न उपयुक्त समय छ भन्ने सन्देश दिने मुख्य उद्देश्य रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकाल तुलाचनले जानकारी दिए ।
“पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ, गर्मीको समयमा शीतल, स्वच्छ वातावरणसहित हिमाली एवं पहाडी दृष्यावलोकनका लागि आउनैपर्ने ठाउँ भएको कुरालाई प्रचारप्रसार गरिनेछ”, उनले भने, “विगत ६ वर्षयता सञ्चालन गरिएको कार्यक्रमले भारतीय पर्यटक आउनेक्रममा वृद्धि भएको छ ।”
पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनका लागि लोभिने गरेको बताउँदै नेपाल पर्यटक बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको मुक्तिनाथ दर्शन भ्रमणसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायी बताउँछन् ।
‘चलीए पोखरा’ कार्यक्रमले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको बताउने पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुली गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिएको बताउछन् ।
हालै पोखराको पर्यटकको अवस्थालाई दृष्टिगत गर्दा कूल विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय रहेको उनले जानकारी दिए ।