
काठमाडौँ– जापानले नेपालमा अर्गानीक खेतीमा सहयोग गर्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेवसँग बिहिबार भएको भेटमा नेपालका लागि जापानी राजदुत मासामिचि साइगोले अर्गानीक खेती, प्रविधिको ज्ञान र शिप आदान प्रदान गर्न जापान सरकार तयार रहेको बताएका छन् ।
मन्त्रीको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा दुई पक्षीय हित र आपसी समझदारीका विषयमा छलफल भएको छ ।
जापानी राजदुतसँगको छलफलमा मन्त्री खनालले नेपाललाई आर्थिक रुपान्तरणमा लैजाने महान अभियाना रहेको भन्दै त्यसका लागि कृषि एवं आर्थिक विकासको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । कृषि अनुसन्धान एवं प्रविधिको विस्तार, कृषिको समग्र मूल्य श्रृङ्खलामा जापानको सहकार्य, कृषि करिडोर लगायत विषयमा जापान सरकारको सहयोगको अपेक्षा गरिएको मन्त्री खनालले बताए ।
यस्तै जर्मन राजदुत रोलान्ड शेफरसँगको भेटमा कृषि प्रशोधन र भण्डारण तथा कृषि सडक सञ्चालनमा जर्मन सरकारसँग थप सहकार्यको अपेक्षा राखिएको मन्त्री खनालले बताए ।
राजदुत रोलान्डले जर्मनीको बर्लिनमा आगामी सेप्टेम्बरमा हुने सम्मेलनमा सहभागिताका लागि मन्त्रीलाई निमन्त्रणा दिएका छन् ।